कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

महिनावारीमा झन् गह्रौं भारी 

लुम्बिनी प्रदेश सरकारले निजामती ऐनमा महिनावारी हुने महिलालाई बिदाको व्यवस्था गरेपछि सामाजिक सञ्जाल र भेटघाटमा बहस भइरहेको छ । धेरैले यस्तो सरकारी व्यवस्थालाई महिलाको हितमा बताएका छन् । केहीले बिदा व्यवस्थाले महिलाबीच विभेद सिर्जना गर्ने तर्क पनि गरिरहेका छन् ।

सुर्खेत, अछाम — बर्दियाको उत्तरी सिमाना सुर्खेतको वराहताल–१ तेलपानीकी ४१ वर्षीया कृष्णा थापालाई यस्ता बिदा र बहसले छुँदैन । गत मंसिर २१ गते उनी महिनावारी (छाउ) भएको दुई दिन पुगेको थियो । छाउ भएका बेला पकाएको परिवारका सदस्यले नखाने भएकाले उनले भान्सामा पस्नु नपरे पनि उनले आराम भने पाइनन् ।

महिनावारीमा झन् गह्रौं भारी 

दैनिक काम नगरे छाक नटर्ने समस्या छ । त्यसैले झिसमिसेमै भारी बोक्न गाउँले दौतरीको खोजीमा निस्किइन् । सबेरै उनीजस्ता धेरै देउरालीमा जम्मा हुन्छन् । बर्दिया निकुञ्ज हुँदै दुइ घण्टा ओरालो झरेपछि गाडीले सामान ओसार्ने स्थान बडपानी (ढाडबास) पुगिन्छ । एक्लै/दुक्लै यात्रा सम्भव हुँदैन । लक्ष्मीका अनुसार बाघ, भालुको डर भएकाले ६/७ जनाको समूह बनाएर भोरी बोक्न जाने गरेका छन् । ‘बोकेर नल्याऊँ भने रासन हुन्न,’ उनले भनिन्, ‘भारी बोक्न बगालै जान्छौं ।

भारी बोक्न हिँडेपछि घरमा भैंसी, बाख्रा र गोरु भोकै पर्ने चिन्तामा उनी थिइन् । त्यस दिन पतिले भान्सा सम्हालेको उनले बताइन् । बिहान ६ बजे डाँडाबाट ओर्लिएपछि भारी बोकेर मध्याह्नसम्म घर आइपुग्ने उनले बताइन् । ढिला गरे साथीभाइ छुट्ने भएकाले डाँडामा घर भएकी बहिनीलाई खाजा तयार गरिदिन भनेर उक्लिरहेकी थिइन् । उनको घर तेलपानीको गहिरोमा छ । ‘तालुको रौं र ढाडको छाला नरहने भयो,’ उभिएरै कुराकानी गरेकी उनले भनिन्, ‘५० किलोको चामलको बोरा बोकेर घर फर्किनुपर्छ ।’

लक्ष्मीले कहिलेकाहीं मात्र भारी बोक्नु परेको होइन । प्रायः दिनहुँ यसरी भारी बोक्नु पर्ने उनले बताइन् । भरिया लाउन समस्या छ । बडपानीबाट तेलपानीसम्म भारी बोकेको भरियाले प्रतिकिलो २०/२५ रुपैयाँ ज्याला लिन्छन् । लक्ष्मीका एक छोरा र दुई छोरी हुर्किरहेका छन् । छोरा सदरमुकाम वीरेन्द्रनगरमा बसेर पढिरहेका छन् । सिजन अनुसार तरकारी र आलु फलाउँछिन् । तर, बिक्री गर्न नजिक बजार छैन । ‘तरकारी र आलु खानेजति खायो, बाँकी बारीमा फाल्ने हो,’ उनले भनिन्, ‘अन्नबाली त जंगली जनावरले भित्र्याउन दिंदैनन् ।’

वराहाताल–३ लेकगाउँकी ३९ वर्षीया रामकुमारी नेपालीको जीवनमा आराम छैन । छ त काम नै काम । पति गणेश र जेठा छोरा भारतमा मजदुरी गर्न आउजाउ गरिरहन्छन् । कान्छा छोरा र छोरी क्रमशः १० र ८ कक्षामा अध्ययनरत छन् । पाखोबारीको उत्पादनले खान पुग्दैन । ‘खेतीपाती जनावरले खान्छ,’ उनले भनिन्, ‘मेला, मजदुरी नगरे भोकै बस्नुपर्छ ।’ नजिक मजदुरी पाइँदैन । काम खोज्दै बर्दियाको भुरीगाउँ र सुर्खेतको तरङ्गा पुग्नुपर्छ । ‘दिनभरि भारी बोकेर आउजाउ गर्नुपर्छ,’ उनले भनिन्, ‘महिनावारीको पीडा कसलाई सुनाउने ?’ गाउँमा सेनेटरी प्याड उपलब्ध हुँदैन । भए पनि किनेर प्रयोग गर्न नसक्ने उनले बताइन् । ‘भारी बोक्ने बेला रगत चुहिन्छ,’ उनले भनिन्, ‘पुछ्दै हिँड्नुपर्छ, दुःख सुन्ने/देख्ने कोही छैन ।’

महिनावारी भएका बेला पानी बोकेर घर फर्किंदै गरेकी तेलपानीकी एक महिला । तस्बिर : मनोज पौडेल/कान्तिपुर

एकपटकमा ५० देखि ६० किलोको भारी बोकेर उकाली–ओराली गर्नु परिरहेको उनले बताइन् । गाउँका अधिकांश पुरुष भारत जाने गरेकाले बिरामीलाई समेत महिलाले बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउनु परिरहेको उनले सुनाइन् । ‘गाउँमा पुरुष भेट्टाउन मुस्किल छ,’ उनले भनिन्, ‘कोही बिरामी परे ४/५ जना महिला भएर बोकेर अस्पताल पुर्‍याउँछौं ।’ त्यसबाहेक हरेक दिन ३/४ गाग्री पानी ओसार्नु पर्छ । डोकोमा ग्राग्री हालेर पिठयूँमा बोक्नु पर्छ । उनको घरबाट पानीको मूलमा पुग्न एक घण्टा लाग्छ । पानी बोकेर उकालो पार गरेर घरसम्म आउँदा डेढ घण्टा लाग्छ । ‘हामी दुःखको भूमरीमा छौं,’ उनले भनिन्, ‘छुई भएका बेला त जताततै कष्ट मात्रै छ ।’ आफूहरूले छोएको पानी नखाए पनि बस्तुभाउलाई ख्वाउनु हुन्छ भने पानी बोक्न लगाइने उनले सुनाइन् ।

बराहताल–३ राजकाँडाकी धनसरा बुढाले गह्रौं भारीले महिनावारी नदेख्ने बताइन् । भारी बोक्नु आफ्नो नियति भएको उनले सुनाइन् । घरायसी आवश्यकताका सामानदेखि कुटानी पिसानीका लागि भारी बोकेर उकालो–ओरालो गर्नु परिरहेको उनले बताइन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चिसापानी बजारबाट ४ घण्टा उक्लिएपछि उनको घर पुगिन्छ । घरमा आवश्यक नुनतेलदेखि चामलसम्म चिसापानी र लम्की बजारबाट ओसार्नु पर्छ । गहुँ पिसाउनु पर्‍यो भने बोकेर कैलालीको लम्की बजार पुग्नुपर्छ । ‘एक दिनमा लम्की पुगेर कुटानी पिसानी सकेर फर्किन भ्याइन्न,’ उनले भनिन्, ‘दुई दिन लाग्छ ।’ उनका अनुसार गाउँमा महिलाले पानी पँधेरोदेखि खाद्यान्न ओसार्ने काम गर्नुपर्छ । पति घरमा भए पनि भारी बोक्न महिला जाने गर्छन् । यहाँका महिला भारी मात्र बोक्दैनन्, भान्छाको कामदेखि बस्तुभाउको स्याहार र घाँसपात पनि उनीहरू नै ल्याउँछन् । महिला पँधेरामा नपुगे पिउने पानी हुँदैन । खेतपाती रेखदेख र गोडमेल छुटाउन मिल्दैन । ‘महिनावारी भए भनेर बस्न मिल्दैन,’ धनसराले भनिन्, ‘जतिखेरै काम गर्नुपर्छ ।’ उनका अनुसार गाउँमा छाउ प्रथा कायमै छ । केही परिवारले घरभित्र पस्न दिए पनि महिनावारीका बेला महिलाले पकाएको खाँदैनन् । ‘छाउपडीले छोएको त खाँदैनन्,’ उनले भनिन्, ‘झन् आराम र स्याहार त सपना मात्र हो ।’ गाउँमा पानी अभाव भएकाले महिलाले महिनावारीका बेला पर्याप्त सरसफाइ गर्न पाउँदैनन् । ‘कतिले सेनेटरी प्याड त देखेकै छैनन्,’ उनले भनिन्, ‘पुराना टालाले रगत थाम्ने हो ।’

चिकित्सक भन्छन्, ‘महिनावारी भएका बेला शारीरिक बल पर्ने खालका काम नगर्ने, भारी सामान उठाउने, दौडिने, योग पनि गर्नु हुँदैन ।’ यसो गर्दा शरीरमा रक्तचाप बढेर रक्तस्राव (ब्लिडिङ) बढ्न जान्छ । यस्तो बेला शरीर कमजोर बन्ने हुँदा लामो समय र कठिन काम गर्दा पेट बढी दुख्ने र कम्मर दुख्ने समस्या देखापर्न सक्छ । तर, अछामको ग्रामीण भेगका महिलाले भने महिनावारीकै बेला झन् कठिन काम र गह्रुंगो भारी बोक्नु पर्ने बाध्यता रहेको सुनाउँछन् ।

अछाम तुर्माखाँद गाउँपालिका–४ की धना बुढा ४२ वर्षकी भइन् । १५ वर्षको उमेरमा बिहे हुँदा उनी महिनावारी हुन थालेको दुई वर्ष पुगेको थियो । महिनावारीका बेला छाउगोठमा बसेकी उनी अचेल घरसँगैको बेग्लै कोठामा बस्ने गरे पनि अन्य दैनिकी भने नफेरिएको बताउँछिन् । यो अवधिमा उनलाई घरभित्र जान नपाइने भएकाले बाहिरको कामको भार पर्ने गर्छ । अरु बेलाभन्दा भारी बढी बोक्नु पर्ने, काम बढी गर्नु पर्ने उनले बताइन् । ‘अरुबेला घरभित्रको काम खाना पकाउने, लुगा धुने, छोराछोरीको हेरचाह गर्नेजस्ता काम धेरै हुन्छ,’ उनले भनिन्, ‘महिनावारीका बेला घरमा कम, जंगलमा बढी भइन्छ । बिहानैबाट घाँस–दाउराको भारी बोक्ने काम सुरु हुन्छ ।’ गाउँका सबै महिलाको यस्तै दैनिकी रहेको उनले सुनाइन् । महिनावारीको समयमा कमजोर हुने, रगत धेरै बग्ने समस्या भए पनि घरमा सुनाउन नसकिएको उनी बताउँछिन् । ‘महिनावारी भएका बेला एकछिन पनि बस्न पाइँदैन । मेलापातमै बढी व्यस्त हुनुपर्छ । आराम भन्ने त हाम्रा लागि के हो, के हो ?’

मंगलसेन नगरपालिका–५ की ३५ वर्षीया चन्द्रा भाटको दैनिकी पनि उस्तै छ । अरु बेलाभन्दा महिनावारीको समयमा गह्रौं भारी बोक्नेदेखि कठिन काम पनि गर्नुपर्ने उनले सुनाएन् । ‘वर्षामा गोडमेल, रोपाईं गर्नेदेखि हिउँदमा जंगलबाट दाउरा ल्याएर वर्षाका लागि थुपार्ने काम पर सरेको बेला गर्नुपर्छ,’ उनले भनिन्, ‘अरु केही काम भएन भने पनि बाँझो जग्गा खन्ने काम पनि यसै बेला गर्नुपर्छ ।’ महिनावारीको समयमा पेट दुख्ने, रगत धेरै बग्ने र रिंगटा लाग्ने समस्या व्यहोरिरहने उनी शरीरले आराम खोजे पनि बाध्यतावश काममै जोतिनुपर्ने बताउँछिन् ।

प्रकाशित : पुस १७, २०८० १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×