कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सत्ता फेरबदलसँगै 'मिम' र हाँसीमजाकले भरियो सामाजिक सञ्जाल

काठमाडौँ — सोमबार एकाबिहानै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतको गठबन्धन एक्कासी भत्किएर नयाँ समीकरण बनेपछि दिनभर राजनीतिक परिदृष्यका अनेक मिम, ठट्यौली, व्यंग्य र घोचपेचका कन्टेन्टले समाजिक सञ्जाल भरिए ।  

सत्ता फेरबदलसँगै 'मिम' र हाँसीमजाकले भरियो सामाजिक सञ्जाल

‘श्राद्ध खान गएको पुरी सकिएछ, फर्कँदा चप्पल गायब’

आइतबारसम्म सत्ता गठबन्धनको एउटा प्रमुख हस्ती रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई नयाँ सरकार गठनमा सामेल नदेखिएको अवस्थालाई व्यंग्य गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्तो लेखेका थिए । धेरैजसो प्रयोगकर्ताले शीर्ष नेतृत्व र राजनीतिक प‌ंक्तिले गरेका पुराना भाषण, अभिव्यक्ति र नृत्य लगायतलाई वर्तमान सन्दर्भमा ढालेर कटाक्ष र हाँसीमजाक गरेका थिए ।

रक्स पोखरेल नामक एक्स प्रयोगकर्ताले भारतीय टेलिश्रृंखला ‘महाभारत’मा कृष्णले अर्जुनलाई ‘मैले पहिले नै भनेको थिएँ नि, यहाँ कुनै पनि वस्तु स्थायी हुँदैन’ भन्दै गरेको भिडियो पोस्ट गरेर प्रचण्डले नेपाली कांग्रेसका मन्त्रीलाई निकालेको अवस्थालाई व्यंग्य गरेको देखियो ।

त्यस्तै, केपी शर्मा कोली नामक प्यारोडी एकाउन्टले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहाल साउती मार्दै गरेको तस्बिर राखेर, गायक उदित नारायण झाको ‘कहिले तिम्रो पछ्यौरीमा अल्झेँ’ बोलको गीतका पंक्त्तिहरू उल्लेख गरेका छन् । प्रयोगकर्ताहरूले कांग्रेस सभापति शेरबहादुर देउवाको ‘धोकेबाज रहेछ’ भन्ने अभिव्यक्तिलाई पनि गायिका एलिना चौहानको गीत ‘धोकेबाज हौ तिमी’ सँग जोडेर ठट्यौली गरेका छन् ।

देउवाकै अवस्थालाई शर्मिला गुरुङको लोक दोहोरी गीत ‘अन्तै माया लाइछौ रे मायालु…’ सँग दाँजेर देउवा दु:खी भएको र प्रचण्ड नाचेको प्यारोडी भिडियो पोस्ट गरेका छन् ।

साथै, प्रयोगकर्ताहरूले रास्वपा सभापति रवि लामिछानेले असोज २७ मा फेसबुक पोस्टमार्फत पुराना दलहरूलाई ‘मिलेर सरकार बनाउन र आफूहरूले प्रतिपक्ष सम्हाल्ने’ भनी गरेको अभिव्यक्तिलाई पनि मजाकको विषय बनाएका छन् । सरकारमा जाने तयारी गरेको हल्ला चलाइएका लामिछाने र उनको सहकारी समस्यालाई जोडेर पनि केहीले प्रश्न गरेका छन् । सँगसँगै निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारी मन्त्रीको हैसियतमा रोजगार मेलामा भाग लिन दुबइ गएको र फर्किदा आफैं बेरोजगार भएको विषयमाथि पनि व्यंग्य गरिएको छ ।

नयाँ समीकरण घोषणासँगै आ-आफ्ना निर्धारित कार्यक्रममा भाग लिन पुगेका दाहाल र ओलीका यसअघि र सोमबारका भनाइहरूलाई जोडजाड पारेर जुहारी शैलीमा केही प्रयोगकर्ताले प्रस्तुत गरेका थिए । राजनीतिक परिदृष्य फेरिने बित्तिकै सर्किट लागेको शेयर बजार पनि कतिपयका लागि रमाइलोको माध्यम बन्यो ।

गंगालाल अस्पतालका वरिष्ठ शल्यचिकित्सक रामेश कोइरालाले मन्त्रिपरिषद् फेरिएपछि ‘अस्पतालको एउटा वार्षिकोत्सवमा भाग लिने कुनै पनि स्वास्थ्यमन्त्रीले अर्को पटक भाग नलिने परम्परा कायम रहेको’ भन्दै ट्वीट गरेका थिए ।

त्यस्तै, बालकुमारी घटनामा दुई युवाको मृत्यु भएपछि ‘सत्र हजार प्लस दुई’ लेखिएको प्लाकार्ड लिएर विरोधमा उत्रिएकी सांसद डा. तोसिमा कार्कीलाई पनि दाहालकै नेतृत्वमा सरकारमा जाने नजाने भन्दै व्यंग्यात्मक प्रश्न गरिएका छन् । एक्समा इस नामक प्रयोगकर्ताले जसपा नेता उपेन्द्र यादव उपप्रधानसँगै परराष्ट्र वा स्वास्थमन्त्रीबीच कुन लिने भनेर छान्दै गरेको मिम पोस्ट गरेका छन् ।

प्रकाशित : फाल्गुन २१, २०८० २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×