कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

आफ्नै सर्च इन्जिन बनाउने च्याटजीपीटी निर्माता ओपेन एआईको घोषणा

सर्च इन्जिन व्यवसायमा एआईको प्रवेशले गुगलमाथि दबाब बढ्दै

काठमाडौँ — सन् २०२२ को अन्त्यमा च्याटजीपीटी नामक जेनेरेटिभ एआई प्लाटफर्म सार्वजनिक गरेपछि चर्चामा आएको ओपेनएआईले सर्च जीपीटी नामक आफ्नै सर्च इन्जिन बनाउने प्रक्रिया सुरु गरेको छ ।

आफ्नै सर्च इन्जिन बनाउने च्याटजीपीटी निर्माता ओपेन एआईको घोषणा

ओपेनएआईले शुक्रबार गरेको घोषणा अनुसार एआईमा आधारित रहने उक्त सर्च इन्जिनले सोधिएका प्रश्नमा वेबसाइटहरूको लिंक दिनुको साटो रियल-टाइम सूचनामा ग्राहकलाई पहुँच दिनेछ ।

पछिल्लो समय अल्फाबेट (गुगल) ले सर्च इन्जिन बजारमा आफ्नो प्रभुत्वसँगै जेमिनाइ, इमेज जेनेरेटर लगायत लार्ज ल्या‌ंग्वेज मोडलका विभिन्न एआई प्लाटफर्महरू आक्रामक रूपमा अघि सारिरहेका बेला ओपेन एआईले सर्च इन्जिन बजारमा चुनौती पेश गर्ने तयारी गरेको हो ।

गएको लगभग डेढ दशकयता सर्च इन्जिन बजारको ९० प्रतिशतभन्दा बढी हिस्सा गुगल सर्चले ओगट्दै आएकोमा जेनेरेटिभ एआईमा आएको हलचलले यसलाई केही मात्रामा धक्का पुगेको महसुस गरिएको थियो ।

गुगलले सर्च इन्जिनमार्फत मात्रै वार्षिक करिब ३ सय अर्ब अमेरिकी डलर आम्दानी गर्दै आएको र यो आय निरन्तर बढिरहेको आँकडाहरूले देखाएका छन् । च्याटजीपीटीकै साझेदार कम्पनी माइक्रोसफ्टले केही वर्षयता आक्रामक रूपमा गुगलको सर्च इन्जिन व्यवसायलाई चुनौती दिने प्रयास गरेको भए पनि गुगलको अधिपत्य कायम छ ।

गुगल सर्चजस्तै देखिने गरी निर्माण भइरहेको भनिएको सर्च जीपीटीले गुगलले जस्तो वेबसाइटका लिंक दिने नभइ सोधिएका प्रश्नको सिधा र विस्तृत जवाफसमेत उपलब्ध गराउने अपेक्षा गरिएको छ । यसमा ‘जेनेरेटिभ सर्च क्यापाबिलिटिज’ समावेश हुने भएकाले कविता, पटकथा, कोडिङ ल्यांग्वेजहरूमा पनि जवाफ उपलब्ध गराउन सक्ने अनुमान गरिएको छ ।

ओपेनएआईले नै उपलब्ध गराएको एउटा उदहारणमा सर्च जीपीटीले संगीत महोत्सवसम्बन्धी सम्पूर्ण जानकारीको सारांश उपलब्ध गराएर त्यसलाई थप स्पष्ट पार्न लिंकसमेत राखेर प्रयोगकर्तालाई सहज बनाउने दाबी गरिएको छ । द भर्ज न्युज पोर्टलका अनुसार सर्च जीपीटीले कुन प्रजातिको टमाटर कुन समयमा वा कहिले रोप्ने भन्नेबारे व्याख्या गरिदिन सक्छ । यसमा श्रव्य-दृश्यसहितको नतिजा देखाउने ‘भिजिअल आन्सर’ फिचर हुने ओपेनएआईको दाबी छ ।

कम्पनीकी प्रवक्ता केल वुडले द भर्जलाई बताएअुनसार हाल परीक्षणकै क्रममा रहेको सर्च जीपीटी पहिलो चरणमा १० हजार प्रयोगकर्ताले चलाएर हेर्न पाउनेछन् । सर्च जीपीटी गुगलका लागि मात्रै नभएर पर्पेक्सिटि नामक आफूलाई ‘एआई आन्सर इन्जिन’ का रूपमा चिनाइरहेको स्टार्टअप कम्पनीका लागि चुनौती हुने अड्कल गरिएको छ । बीबीसीका अनुसार अहिले चल्तीमा रहेको सूचना खोज्ने प्रयोगकर्तालाई विज्ञापन बेचेर आम्दानी गर्ने व्यावसायिक मोडललाई सर्च जीपीटीको प्रस्तावित सुविधाले राम्रै हलचल ल्याउनेछ ।

प्रकाशित : श्रावण १२, २०८१ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×