कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बिरामी हुने छुट छैन परशुरामलाई

प्रकाश बराल

बागलुङ — बिहान साढे तीन बजे उठेर गाईभैंसी स्याहार्ने । झण्डै १ सय प्लाष्टिकमा दूध पोका पारेर घरघर पुर्‍याउने । यत्ति काम सकेर फर्केपछि घाँस काट्नुपर्ने । दिउँसो ३ बजेपछि फेरि गाईभैंसी दुहुने काम सुरु हुन्छ । बेलुकी ७ देखि ८ बजेभित्र दम्पती मिलेर फेरि घरघरमा दूध पुर्‍याउँछन् । यसरी दैनिक १ सय २० लिटरसम्म दूध बजार पठाउने उनको दैनिकी बनेको १७ वर्ष भयो ।

बिरामी हुने छुट छैन परशुरामलाई

डेढसय घरका मानिसलाई नामै बोलाएर ‘लौ दूध आयो’ भन्दै ढोका बाहिर पोका राखिदिन्छन् ।उनी किसान मात्र हैनन्, सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । राजनीतिक र आर्थिक क्षेत्र पनि उनले उत्तिकै बुझेका छन् । सार्वजनिक कार्यक्रममा उनले देशको राजनीतिबारे सटिक टिप्पणी पनि गर्छन् । यत्ति काम गर्दा झरी, बादल, गर्मी–जाडो त भन्नै पाइँदैन । पकाउने खाने काम पनि गर्नै पर्छ ।

कुश्मा नगरपालिका–५ का ५० वर्षीय परशुराम भण्डारी १७ वर्षदेखि ‘भण्डारी कृषि तथा पशुपंक्षी फर्म’मा निरन्तर सक्रिय छन् । भन्छन्, ‘मलाई बिरामी हुने छुट पनि छैन ।’ बरु कोही बिरामी भयो भने काम भ्याएर साथ दिन पुग्छन् । मलामी र जन्ती जान पनि भ्याउँछन् । ‘म बिरामी परें भने ग्राहकले दूध पाउँदैनन्, उनीहरुले बजारको किनेर खालान्, तर भैंसी र गाई त दुहुनै पर्छ,’ भण्डारीले भने, ‘तर रात बस्ने गरेर १७ वर्षदेखि कतै गइएको छैन ।’ पत्नी कमलासहित उनीहरु रातदिन नभनी फर्ममा खटिन्छन् । उनको फर्ममा १५ भैंसी र १५ दुहुना गाई छन् ।

पछिल्लो २५ वर्षदेखि उनी व्यवसायिक कृषि पेसामा सक्रिय छन् । झन्डै ९ वर्षसम्म उनले तरकारी खेती गरेर बिताएका थिए । उनलाई यसरी खटिने जाँगर जर्मन बस्दाको अनुभवले दिएको हो । त्यहाँ उनले कोही पनि बसेको देखेनन् । २०४८ मा एसएलसी गरेपछि २०४९ मा व्यवस्थापन संकायमा प्रमाणपत्र तह पढ्दापढ्दै रोजगारीका लागि भण्डारी जर्मन पुगेका थिए । साढे तीन वर्षसम्म उनले जर्मनमा होटलको काम गर्दा समयको महत्व बुझेको बताए । २०५३ मा फर्केर काठमाडौंमा होटल संचलन गर्ने योजना बुने । तर गाउँघरका लागि बिरानो हुने डरले फेरि घर फर्केर कृषि पेशामा होमिएका हुन् । छोरा थोमस र छोरी मार्टिनाले पनि घरायसी काममा साथ दिन्थे । अहिले त थोमस अमेरिका पुगे । छोरी काठमाडौंमा पढ्दैछिन् ।

भण्डारीले सुरुमा तरकारी फलाउँदा फुर्सदै फुर्सद थियो । बिहान साँढे तीन बजे उठ्नु पर्थेन । न राति ८ बजेसम्म काम हुन्थ्यो । एक दिन राम्रो गोडमेल गरेको तरकारी दुई/चार दिन नहेरे पनि पुग्थ्यो । २०५३ देखि २०६४ सम्म उनले तरकारी खेती गरे । उनको बारीमा फलेका घिरौला, लौका र गोलभेडा हेर्न मानिसहरु लाइन लाग्थे । प्लाष्टिक टनेनभित्र मात्र तरकारी फलाउने गरेका किसानको अगाडि उनले बाँसका थाँक्रा गाडेर क्विन्टलका क्विन्टल तरकारी फलाएर बेचे । उनलाई बजार पुगेन । पोखरा पठाउने माध्यम थिएन, कुश्मा बजारमा तरकारी बिकाउन सकेनन् ।

तरकारीमा प्रयोग गर्नुपर्ने बिषादी बाट उनी तर्से । ‘तरकारीमा अनेक खालका बिषादी हाल्नुपर्ने रहेछ, त्यसैले मैले त्यो पेशा छाडेर पशुपालनमा लागें,’ भण्डारीले भने, ‘जैबिक मलबाट राम्रो तरकारी फल्थ्यो, तर बिषादी राखेका तरकारीको प्रतिस्पर्धामा जानुपर्ने बाध्यताले पेशा नै छाडें ।’ बरु दूधबाट राम्रो कमाइ र विश्वास पाएको उनले बताए । गाईभैंसी पाल्दा बिषादी छुन नपरेको भण्डारीको अनुभव छ ।

उनले केही दाना खुवाए पनि गाईभैंसीलाई धेरै घाँस खुवाउँछन् । झन्डै ५५ रोपनी बढी पाखो खरवारीमा उनले घाँस खेती गरेका छन् । आफ्नो र भाडामा लिएको जमिनमा नेपयएर, मोलातोलगायतका उन्नत जातको घाँस लगाएका छन् । दुई जना खेताला पनि राखेका छन् । उनीहरुले घाँस काटिदिन्छन् । दिउँसोको समयमा आँफै पनि खरबारी पुगेर घाँस काट्छन् । नाम्लोले बोकेरै ल्याउँछन् । मलातो, पासपलाम र सिग्नल जातको घाँसको विरुवा उनले तनहुँस्थित बामदेव गौतमको फर्मबाट खरिद गरेर ल्याए ।

घाँसका विरुवा ल्याउने बेलामा पशु विकास कार्यालयले गाडि पठाइदिएको थियो । त्यसबाहेक १६ वर्षमा उनले सरकारी सेवासुविधा लिएका छैनन् । बरु एकडेढ लाखको सहयोग आयो भने साना किसानलाई दिन सिफारिस गर्छन् । ‘दुई तीन लाख मलाई सहयोग चाहिएको छैन, साना किसानलाई दियो भने व्यवसायिक बन्न सक्छन्,’ भण्डारीले भने, ‘गुणस्तरीय ल्याब बनाउन सहयोग चाहिएको छ ।’ बजारमा पाइने दाना कतिको गुणस्तर छ, दूधको गुणस्तर र रोग लाग्दा उपचार अघि गरिने परीक्षणका लागि ल्याब स्थापना गर्न उनले सुझाए ।

बजारमा आएको दाना गुणस्तर नभएको, ढुंगामाटो समेत मिसिएको भेटाएका टिप्पणी गरे । कुश्मा नगरपालिका पशुविकास शाखाका पशु चिकित्सक डा. रुपक कंडेलले औषधिजन्य सेवा र प्राविधिक सहयोग मात्रै गरेको बताए । ‘सानो तिनो सहयोगहरु लिन खोज्नुहुन्न, हामीले प्राविधिक सहयोग मात्रै गरेका छौं,’ कँडेलले भने, ‘उहाँको गोठको छाना फेर्ने काममा सहयोग गर्नुपर्नेछ, कार्यक्रम नभएर दिन सकेका छैनौं ।’ भण्डारीको मेहेनत भने प्रशंसायोग्य भएको उनले बताए ।

गतवर्षको लम्पीस्कीन रोग किसानका लागि सबैभन्दा घातक भयो । भण्डारीको गोठमा पनि ३ वटा दुहुना गाई मरे । त्यसले उनलाई झन्डै ५ लाख नोक्सानी भयो । त्यसबाहेक हरेक गाईको दूध ५० प्रतिशत घट्यो । बजारमा मागअनुसार दूध पठाउन सकेनन् । दूधको आपूर्ति नहुनु किसानको मात्रै दोष हैन राज्यले चासो दिनुपर्छ भन्छन् भण्डारी । ‘हामीले राज्यलाई सहयोग गरेको हो, कर पनि लिनुपर्छ, तर नभएको बेला राज्यले उपभोक्तालाई कसरी दूध खुवाउने सोच्नुपर्छ,’ उनले भने, ‘लागत बढी हुँदा महँगो भएको दूध प्रविधियुक्त बनाउन सरकारी सहयोग चाहिन्छ ।’

खोप, उपचार तथा प्रविधिमा राज्यले सहयोग गर्नुपर्ने उनले बताए । उनको मिहनेतले कुश्मा बजारमा धेरैले ताजा दूध खान पाएको नगरप्रमुख रामचन्द्र जोशीले बताए । गाउँका किसानको घरमा पुग्दा भण्डारीको उदाहरण दिने गरेको जोशी बताउँछन् । वर्षमा ३६ लाखको दूध कारोबार गर्ने भण्डारीको खर्च पनि धेरै छ । घाँस, दाना, औषधिसहित सरसफाई र अन्य खर्च कटाएर नाफा भने वर्षमा १० देखि १२ लाख मात्रै हुने गरेको उनले बताए ।

प्रकाशित : श्रावण १०, २०८१ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×