कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

पक्की पुल नबन्दा बेलिब्रिजले थप्यो भार

भाद्र २२, २०८१
पक्की पुल नबन्दा बेलिब्रिजले थप्यो भार

Highlights

  • ०७१ असारमा ठेक्का लागेको पक्की पुल निर्माण अलपत्र बनेपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्दा बढ्यो लागत, बेलिब्रिज निर्माणमा अतिरिक्त १६ करोड खर्च 

गोरखा — दस वर्षसम्म पक्की पुल निर्माण अलपत्र बनेको गोरखाको गण्डकी गाउँपालिका–१ मकैसिङस्थित बुटार र पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुमखोला जोड्न बेलिब्रिज निर्माण गरिएको छ ।

पप्पु कन्स्ट्रक्सनले पक्की पुल निर्माणको जिम्मा लिएर अलपत्र पारेको संरचनानजिकै बेलिब्रिज निर्माण भएको हो । गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना र चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले नवनिर्मित बेलिब्रिजको उद्घाटन गरे ।

आठ वर्षमा १० प्रतिशत मात्र काम गरेको पप्पु कन्स्ट्रक्सनको ठेक्का सम्झौता भने अघिल्लो पुसमा सकिइसकेको छ । पप्पुसँग ठेक्का सम्झौता अन्त्य गरी सडक योजना कार्यालय गोरखाले नयाँ ठेक्का पनि लगाइसकेको छ । तर काम सुरु भइसकेको छैन । समयमै पक्की पुल नबन्दा बेलिब्रिज निर्माणका लागि १६ करोड १४ लाख खर्च भएको छ । नयाँ पक्की पुल निर्माणको लागत पनि बढेको छ ।

अलपत्र अवस्थामा रहेका पक्की पुलका संरचनाभन्दा करिब ७० मिटरमाथि सुपर त्रिशूली जलविद्युत् आयोजनाको प्रवर्द्धक ब्लु इनर्जी कम्पनीले सडक विभागसँग समन्वय गरी बेलिब्रिज निर्माण गरेको हो । ब्लु इनर्जीले ‘रन अफ रिभर’ मा आधारित एक सय मेगावाटको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गर्दै छ । आयोजनाका लागि आवश्यक संरचना पृथ्वी राजमार्गवारि बुट्टारसम्म पुर्‍याउने उद्देश्यले पनि पुल निर्माण गरिएको आयोजनाका निर्देशक नीरञ्जन रेग्मीले बताए ।

‘पहिलो त सामाजिक उत्तरदायित्वअन्तर्गत पनि यो पुल निर्माण गरेका हौं, पुल यहाँको जनताको आवश्यकता पनि हो,’ उनले भने ।

बेलिब्रिज निर्माणका लागि ४८/४८ मिटरका दुईवटा स्पान सडक विभागले उपलब्ध गराएको छ । त्रिशूली नदीको दायाँतर्फ चितवनको इच्छाकामना–३ चुमखोला तथा दायाँतर्फ गोरखाको गण्डकी–१ बुटारमा निर्मित बेलिब्रिजको लम्बाइ १ सय १६ मिटर छ ।

पुलको चौडाइ ४.२ मिटर रहेको कम्पनीका वातावरण परामर्शदाता सलिल देवकोटाले बताए । एक पटकमा २० टन भारवहन क्षमताको पुल निर्माण भएको कम्पनीले जनाएको छ । उक्त बेलिब्रिज कम्पनीले चार महिनामा निर्माण गरेको हो । ‘फाउन्डेसनको अध्ययन तथा निर्माण कार्यमा केही समय लागे पनि जडान कार्य ९ दिनमा सकिएको हो,’ उनले भने, ‘भारवहन क्षमताको परीक्षण सम्पन्न गरी आवतजावत पनि खुला गरेका छौं ।’

बेलिब्रिजले गोरखातर्फ मकैसिङ, पातीस्वाँरा, नाम्जुङ, आहाले हुँदै गोरखा बजारसम्म पुग्न सहज भएको छ । समयमै पुल नबन्दा गण्डकी गाउँपालिकाको ताङलीचोक, मकैसिङ, भुम्लीचोकका बासिन्दालाई कृषि उपज डोकोमा बोकेर झोलुङे पुलमार्फत पृथ्वी राजमार्गसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो ।

पप्पु कन्स्ट्रक्सनले ०७१ असार २९ मा ठेक्का सम्झौता गरी त्रिशूली नदीमाथि पक्की पुल निर्माणको जिम्मा लिएको थियो । ४२ महिना अर्थात् ०७४ पुस २८ भित्र पुल निर्माण सक्नुपर्ने सम्झौता अवधि गुजारेको कन्स्ट्रक्सनको अन्तिम म्याद ०८० असार २२ सम्म थप भएको थियो । आठ वर्षमा दुवैतर्फ पिलर उठाउनेबाहेक अन्य संरचना निर्माण गरिएको थिएन । पप्पुले पुल निर्माणका लागि आवश्यक उपकरण त्रिशूलीपारि बुटारतर्फ लैजान नसकेको र आवश्यक उपकरण लैजान बेलिब्रिज निर्माण हुनुपर्ने माग पनि राख्दै आएको थियो ।

१० प्रतिशत मात्र काम गरेर पुल अलपत्र पारेपछि पप्पु कन्स्ट्रक्सनको ठेक्का तोडेर सडक विभागले पुनः नयाँ ठेक्का लगाइएको छ । नयाँ ठेक्का लगाउँदा पुलको लागत पनि बढेको छ । तत्कालीन समयमा पप्पुले १७ करोड ४६ लाखको लागतमा पुल निर्माणको जिम्मा लिएको थियो । पुरानो ठेक्का अन्त्य गरी नयाँ ठेक्का लगाउँदा सोही पुल निर्माण गर्न २२ करोड ५० लाखमा सम्झौता भएको छ । ०८१ पुस २ मा जलप सेवालुङ जेभीसँग पुल निर्माणका लागि सम्झौता भएको सडक योजना कार्यालय गोरखाका प्रमुख अमिन्द्र खड्काले बताए । अहिले ४२ महिनाभित्र पुल निर्माण सक्ने लक्ष्य राखिएको छ ।

‘नयाँ पुल निर्माण भएपछि बेलिब्रिजका लागि उपलब्ध गराएका संरचना सडक विभागमै फिर्ता हुन्छन्,’ खड्काले भने, ‘४८/४८ मिटरको दुईवटा स्पान सडक विभागले उपलब्ध गराएको हो ।’

प्रकाशित : भाद्र २२, २०८१ ०६:१७
x
×