पक्की पुल नबन्दा बेलिब्रिजले थप्यो भार

०७१ असारमा ठेक्का लागेको पक्की पुल निर्माण अलपत्र बनेपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्दा बढ्यो लागत, बेलिब्रिज निर्माणमा अतिरिक्त १६ करोड खर्च 

भाद्र २२, २०८१

हरिराम उप्रेती

Beileybridge added to the load as the concrete bridge was not built

गोरखा — दस वर्षसम्म पक्की पुल निर्माण अलपत्र बनेको गोरखाको गण्डकी गाउँपालिका–१ मकैसिङस्थित बुटार र पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुमखोला जोड्न बेलिब्रिज निर्माण गरिएको छ ।

पप्पु कन्स्ट्रक्सनले पक्की पुल निर्माणको जिम्मा लिएर अलपत्र पारेको संरचनानजिकै बेलिब्रिज निर्माण भएको हो । गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना र चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले नवनिर्मित बेलिब्रिजको उद्घाटन गरे । 

आठ वर्षमा १० प्रतिशत मात्र काम गरेको पप्पु कन्स्ट्रक्सनको ठेक्का सम्झौता भने अघिल्लो पुसमा सकिइसकेको छ । पप्पुसँग ठेक्का सम्झौता अन्त्य गरी सडक योजना कार्यालय गोरखाले नयाँ ठेक्का पनि लगाइसकेको छ । तर काम सुरु भइसकेको छैन । समयमै पक्की पुल नबन्दा बेलिब्रिज निर्माणका लागि १६ करोड १४ लाख खर्च भएको छ । नयाँ पक्की पुल निर्माणको लागत पनि बढेको छ ।

अलपत्र अवस्थामा रहेका पक्की पुलका संरचनाभन्दा करिब ७० मिटरमाथि सुपर त्रिशूली जलविद्युत् आयोजनाको प्रवर्द्धक ब्लु इनर्जी कम्पनीले सडक विभागसँग समन्वय गरी बेलिब्रिज निर्माण गरेको हो । ब्लु इनर्जीले ‘रन अफ रिभर’ मा आधारित एक सय मेगावाटको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गर्दै छ । आयोजनाका लागि आवश्यक संरचना पृथ्वी राजमार्गवारि बुट्टारसम्म पुर्‍याउने उद्देश्यले पनि पुल निर्माण गरिएको आयोजनाका निर्देशक नीरञ्जन रेग्मीले बताए । 

‘पहिलो त सामाजिक उत्तरदायित्वअन्तर्गत पनि यो पुल निर्माण गरेका हौं, पुल यहाँको जनताको आवश्यकता पनि हो,’ उनले भने । 

बेलिब्रिज निर्माणका लागि ४८/४८ मिटरका दुईवटा स्पान सडक विभागले उपलब्ध गराएको छ । त्रिशूली नदीको दायाँतर्फ चितवनको इच्छाकामना–३ चुमखोला तथा दायाँतर्फ गोरखाको गण्डकी–१ बुटारमा निर्मित बेलिब्रिजको लम्बाइ १ सय १६ मिटर छ ।

पुलको चौडाइ ४.२ मिटर रहेको कम्पनीका वातावरण परामर्शदाता सलिल देवकोटाले बताए । एक पटकमा २० टन भारवहन क्षमताको पुल निर्माण भएको कम्पनीले जनाएको छ । उक्त बेलिब्रिज कम्पनीले चार महिनामा निर्माण गरेको हो । ‘फाउन्डेसनको अध्ययन तथा निर्माण कार्यमा केही समय लागे पनि जडान कार्य ९ दिनमा सकिएको हो,’ उनले भने, ‘भारवहन क्षमताको परीक्षण सम्पन्न गरी आवतजावत पनि खुला गरेका छौं ।’ 

बेलिब्रिजले गोरखातर्फ मकैसिङ, पातीस्वाँरा, नाम्जुङ, आहाले हुँदै गोरखा बजारसम्म पुग्न सहज भएको छ । समयमै पुल नबन्दा गण्डकी गाउँपालिकाको ताङलीचोक, मकैसिङ, भुम्लीचोकका बासिन्दालाई कृषि उपज डोकोमा बोकेर झोलुङे पुलमार्फत पृथ्वी राजमार्गसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो । 

पप्पु कन्स्ट्रक्सनले ०७१ असार २९ मा ठेक्का सम्झौता गरी त्रिशूली नदीमाथि पक्की पुल निर्माणको जिम्मा लिएको थियो । ४२ महिना अर्थात् ०७४ पुस २८ भित्र पुल निर्माण सक्नुपर्ने सम्झौता अवधि गुजारेको कन्स्ट्रक्सनको अन्तिम म्याद ०८० असार २२ सम्म थप भएको थियो । आठ वर्षमा दुवैतर्फ पिलर उठाउनेबाहेक अन्य संरचना निर्माण गरिएको थिएन । पप्पुले पुल निर्माणका लागि आवश्यक उपकरण त्रिशूलीपारि बुटारतर्फ लैजान नसकेको र आवश्यक उपकरण लैजान बेलिब्रिज निर्माण हुनुपर्ने माग पनि राख्दै आएको थियो ।

१० प्रतिशत मात्र काम गरेर पुल अलपत्र पारेपछि पप्पु कन्स्ट्रक्सनको ठेक्का तोडेर सडक विभागले पुनः नयाँ ठेक्का लगाइएको छ । नयाँ ठेक्का लगाउँदा पुलको लागत पनि बढेको छ । तत्कालीन समयमा पप्पुले १७ करोड ४६ लाखको लागतमा पुल निर्माणको जिम्मा लिएको थियो । पुरानो ठेक्का अन्त्य गरी नयाँ ठेक्का लगाउँदा सोही पुल निर्माण गर्न २२ करोड ५० लाखमा सम्झौता भएको छ । ०८१ पुस २ मा जलप सेवालुङ जेभीसँग पुल निर्माणका लागि सम्झौता भएको सडक योजना कार्यालय गोरखाका प्रमुख अमिन्द्र खड्काले बताए । अहिले ४२ महिनाभित्र पुल निर्माण सक्ने लक्ष्य राखिएको छ । 

‘नयाँ पुल निर्माण भएपछि बेलिब्रिजका लागि उपलब्ध गराएका संरचना सडक विभागमै फिर्ता हुन्छन्,’ खड्काले भने, ‘४८/४८ मिटरको दुईवटा स्पान सडक विभागले उपलब्ध गराएको हो ।’ 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully