कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बचतकर्ताको रकम फिर्ता नगरी घर लिलाम नगर : सहकारी पीडित

प्रकाश बराल

बागलुङ — इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको स्वामित्वमा रहेको सदरमुकाम बागलुङ बजारको घर राष्ट्रिय सहकारी बैंकले लिलामी प्रक्रिया थालेपछि बचतकर्ता आन्दोलनमा उत्रिएका छन् ।

बचतकर्ताको रकम फिर्ता नगरी घर लिलाम नगर : सहकारी पीडित

शनिवार उनीहरुले बैंकको प्रक्रिया रोकेर पीडितले लिने बाताबरण बनाउन पहल गर्ने बताएका छन् । उनीहरुले मालपोत, प्रशासन र सरोकारवाला निकायमा लिलामी प्रक्रिया रोक्न दबाव समेत दिन थालेका छन् ।

बैंकले असार मसान्तमा सदरमुकामको घर १३ करोड २५ लाखमा लिलामी गर्न लागेपछि इमेज पीडित सरोकार समितिले सर्वत्र दबाव दिएक हुन् । घर किन्नकालागि आएका ग्राहकलाईपनि उनीहरुले फर्काउने प्रयास गरेको समितिका संयोजक डिलबहादुर कार्कीले बताए ।

गत कात्तिक ३ गते र मंसिर ८ गते दुइपटक सार्वजनिक सूचना प्रकाशित गरेर राष्ट्रिय सहकारी बैंकले सदरमुकामको हल्लनचोकमा रहेको घर लिलामीको प्रक्रिया थालेको थियो । पीडितले आँफै घर किनेर बचतकर्ताको रकम दामासाही गर्ने भनेपछि बैंकले केही ढिला गर्दापनि प्रक्रियामा नआएपछि मात्रै असार मसानतमा घर लिलामी सुरु भएको हो ।

‘पीडितले दवाव दिनुभएको थियो, तर प्रक्रियामा आउनु भएन,’ बैंकका संचालक रामबहादुर जिसीले भने, ‘असार मसान्तमा त अन्तिम प्रक्रियामा जानै पर्थ्यो, त्यसैले लिलामीमा गयौं ।’ बैंकको ८ करोड रुपैयाँ मात्र ऋण असुली गर्ने लक्ष्य भएपनि घरको प्रचलित सरकारी मूल्यमा लिलामी गरिएको उनले जानकारी दिए ।

बचतकर्ताले भने प्रमुख जिल्ला अधिकारी मार्फत बैंकलाई काम रोक्न दवाव दिएका हुन् । कानूनी प्रक्रियामा गएकोले बचतकर्ताले रोक्न नमिल्ने सरकारी अधिकारीहरुको भनाइ छ । बचतकर्ताले पनि अदालतको आदेश आएपनि आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । ‘आन्दोलन मार्फत भएपनि बचतकर्ताको रकम फिर्ता गराउनैपर्छ,’ कार्कीले भने, ‘हामी जुनसुकै आन्दोलन गर्न तयार छौं ।’ घर किन्नेले रकम पीडितको खातामा पठाइदिनुपर्ने शर्त उनीहरुले राखेका छन् । एक वर्षदेखि पीडितले विभिन्न चरणका आन्दोलन गरिरहेका छन् ।

सम्पत्ति शुद्धीकरणको तयारी

सम्पत्ति शुद्धीकरण बिभागले सरकारी वकिल कार्यालय मार्फत देबकुमार नेपालीलाई ‘सम्पत्ति शुद्धीकरण’को मुद्दा लगाउन ताकेता गरेको छ । सरकारी वकिल स्वतन्त्र न्यौपानेले भने फाइल अध्ययन गरिरहेको बताए । ‘मैले अध्ययन गरिरहेको छु, एक हजार पृष्ठको मिसिल छ, समय लाग्छ’ न्यौपानेले भने, ‘बिभागले राय मागेको हो, मैले राय पनि लेख्दैछु ।’

दैनिक काम पनि भएकोले ढीला भएको उनले बताए । यो बिषयमा हदम्याद हुँदैन, हदम्याद भएका मुद्दा पनि हेर्नुपर्दा ढीला भएको उनले बताए । न्यौपानेले बिभागलाई लेख्ने राय महान्यायाधिवक्ताको कार्यालयमा पनि पठाउने जानकारी दिए ।

बिभागले नेपाली विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन राय मागेको थियो । तत्कालै मुद्दा नचलाएको भनदै दवाब स्वरुप न्यौपानेलाई सरुवा गरिएको छ । ‘ठूलो फाइल छ, अध्ययन गर्दैछु, अध्ययन सकेपछि मुद्दा लाग्ने नलाग्ने ठहर हुन्छ भन्दाभन्दै सरुवा आयो’ न्यौपानेले भने, ‘नेपालीलाई शुद्धीकरण मुद्दा लगाएर १ हजार ५ सय ४३ जना बचतकर्ताको रकम हिनामिना पार्न मिल्दैन ।’

एक बर्ष अघि इमेजका बचतकर्ताले नेपाली विरुद्ध सहकारी ठगी मुद्दा दायर गरेका छन् । जिल्ला अदालतले ठगीकै मुद्दामा नेपाली विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इन्टरपोलले गत माघमा नेपालीलाइ रेडकर्नर नोटिस जारी गरिसकेको छ ।

शुद्धीकरणमा मुद्दा चल्दा नेपालीले आर्जन गरेको सबै रकम राज्यकोषमा पुग्ने कानूनी व्यवस्था छ । पीडितले पनि बचतकर्ताको रकम फिर्ता गरेपछि मात्र शुद्धिकरण मुद्दा लगाउनुपर्ने माग गरेका छन् । ‘पीडित मरेर बचतकर्ताको रकम राज्यकोषमा पठाउन मिल्दैन’ पीडित तुलसी गौतमले भने, ‘पीडितको पक्षमा राज्य गम्भिर बनेको छैन ।’

सम्पत्ति शुद्धीकरण तथा मनिलाउण्डरिङ ऐन २०६४ अनुसार अपराधिक क्रियाकलाप वा आतंकारी कामबाट कमाएको पैसा विरुद्ध मात्रै शुद्धीकरण मुद्दा लाग्ने कानूनी प्रावधान छ । नेपालीले भने सहकारी ठगी गरेको देखिएको उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष रमेशबहादुर खड्काले बताए । ‘सहकारी ठगी मुद्दा लागिरहेको व्यक्ति विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा लगाउन मिल्दैन’ खड्काले भने, ‘पहिला पीडितको रकम पाउने वातावरण बनाउनु पर्छ ।’

चिया पसल, पान पसल र ज्यालामजदुरी गरेर कमाएकाहरुले सहकारीमा रकम जम्मा गरेकोले उक्त रकम फिर्ता नगरी शुद्धीकरणमा जाँदा पीडितको रकम समेत सरकारीकरण हुने खतरा उनले औल्याए ।

नेपालीले बचतकर्ताको १ अर्ब ६५ करोड सहित बैंकको ऋण लिएर २ अर्ब रुपैयाँ हिनामिना गरेको देखिएको हो । नेपालीको नाउँमा १८ वटा घर सहित ४५ कित्ता जमिन भएको पीडितले संकलन गरेको तथ्यांकमा उल्लेख छ । पीडितको रकम हिनामिना गरी अघिल्लोबर्ष जेठ ४ गतेदेखि नेपाली बेपत्ता भएका थिए ।

नेपाली सहित उनकी पत्नी र सहकारीका संचालक विरुद्ध १ हजार ५ सय ४३ जना सर्वसाधारणले गतबर्षको असारमा प्रहरीमा जाहेरी दिएका थिए । गत बर्षको बैसाख ६ गते सूचना टाँसेर तरलता अभाव भन्दै सहकारी बन्द गरिएको थियो ।

पीडितको जाहेरीको आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्तिकिसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परेका हुन् । उनीहरुलाई जिल्लाअदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षकालागि थुनामा पठाएको हो ।

भण्डारी, बुढा र किसान साउन ५ गतेनै थुनामा गएका थिए भने सोहीआदेशकै आधारमा परियार र बुढामगर पुस पहिलो सातापक्राउ परेका हुन् । पक्राउ परेका ५ जनाले सहकारीमा आँफ्नो कुनै हात नभएको बताएको जिल्ला अदालतका स्रेस्तेदार शिवहरी सुवेदीले बताए ।

प्रकाशित : श्रावण ५, २०८१ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×