कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बाग्चौरका दुई वडामा फल्यो १२ करोडको आलु

आलु खेतीले गाउँमै रोजगारी मिलेपछि रोकियो कालापहाड जान
विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका–१२ बाफुखोलाका ५० वर्षीय डिल्ली ओली घर खर्च चलाउन सधैं भारतको सिमला जाने गर्थे । त्यहाँको कमाइले वर्षभरि छाक टार्न धौधौ हुन थालेपछि उनले घरनजिकैको जग्गामा आलु खेती गरे । विस्तार गर्दै लगेर उनले अहिले खाद्यान्न बाली छाडेर पाँच रोपनीमा आलु लगाउँदै आएका छन् ।

बाग्चौरका दुई वडामा फल्यो १२ करोडको आलु

प्रत्येक वर्ष ७० देखि १०० क्विन्टल आलु बिक्री गर्दै आएका उनले वार्षिक ५ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । वार्षिक ४० क्विन्टलभन्दा बढी आलु उत्पादन गर्दै आएका बाफुखोलाकै ४६ वर्षीय वीरसिंह ओलीले अघिल्लो वर्ष ३ लाख कमाएका थिए । यो वर्ष ४ लाख बढी आम्दानी भएको उनले जनाए । आलु खेतीमा लागेपछि उनलाई एक दशकदेखि घरमै रोजगारी मिलेको छ ।

यी दुई मात्र नभई बाग्चौर–११ र १२ बाफुखोलाका ६ सय परिवार विगतदेखि परम्परागत रूपमा बर्से आलु उत्पादन गर्दै आएका छन् । उनीहरुले १ हजार हेक्टरभन्दा बढी जग्गामा आलु लगाउँदै आएका छन् । किसानले उत्पादन गरेको बर्से आलु काठमाडौं, पोखरा जान थालेपछि दुई वडाका किसानले वार्षिक १२ करोड रकमभन्दा भित्र्याउँदै आएका छन् । आलुबाट वार्षिक लाखौं रकम भित्रिन थालेपछि किसानको जीवनस्तरमा सुधार मात्र आएको छैन, रोजगारीका लागि परिवारसहित भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

कुनै बेला खेतीयोग्य जग्गामा मकै, गहुँ र जौ लगाएर अन्नको जोहो गर्दै भारतको मजदुरीले खर्च टार्ने बाफुखोलाका रतिराम ओलीले आलु खेतीमा लागेपछि घर चलाउन धेरै सहज भएको बताए । दुई दशकदेखि आलु खेतीमा लागेर उनले वार्षिक दुईदेखि अढाइ लाखसम्म कमाउँदै आएका छन् । आलु बिक्री गरेर कमाएको रकमबाट उनले जग्गासमेत जोडेका छन् ।


‘भारतका विभिन्न स्थानमा गएर वर्षभर काम गर्दा ६ महिना पाँच जनाको परिवारको खर्च टार्न धौधौ हुन्थ्यो । आलु उत्पादनमा लागेपछि अहिले सजिलै घर खर्च चलेको छ,’ उनले भने, ‘केही रकम बचत गर्ने अवसर मिलेको छ । चाडपर्व आएकी पहिला साहुसँग ऋण लिनुपर्ने अवस्था आउँथ्यो । अहिले त्यस्तो छैन ।’ खरिदकर्ता घरमै आउने भएकाले उत्पादित आलु बिक्री गर्न गाह्रो नभएको उनको भनाइ छ ।


परम्परागत रूपमा गहुँ, जौको खेती गर्दै आएका यहाँका किसानले अहिले खेती परिवर्तन गरेर तीन बाली उत्पादन गर्न थालेका छन् । फागुनमा आलु लगाउँछन् । त्यही आलुकै बीचमा मकै रोप्छन्, असारको अन्तिमसम्म मकैको बीचबाट आलु निकालिसक्छन् । असोजमा मकै निकालेर फेरि तोरी लगाउने गर्छन् । आलु खेतीसँगै यसरी तीन बाली उत्पादन गर्दा किसानलाई निर्वाहमुखीबाट माथि उठाउन सहयोग पुर्‍याएको कृषि विकास कार्यालयको भनाइ छ ।

गत वर्षसम्म ३० रुपैयाँ प्रतिकिलो आलु बिक्री गरेर वार्षिक सात लाख रुपैयाँ कमाउँदै आएका स्थानीय किसान कोमल ओलीले यो वर्ष बारीबाटै ४० रुपैयाँमा बिक्री भएको जनाए । गत वर्षभन्दा एक लाख बढी फाइदा भएको उनले जनाए । आलु उत्पादनमा लागेर आफ्नो मात्र नभई बाग्चौर–११ र १२ बाफुखोलाका सबै किसानको जीवनस्तर सुधारिएको छ । बाफुखोलामा उत्पादित आलु जिल्लाका विभिन्न ठाउँमा मात्र नभई पोखरा, विराटनगर, काठमाडौं, वीरगन्ज गइरहेको छ । आलु उत्पादन गरेर एक परिवारले दुईदेखि ८ लाखसम्म कमाइ गर्न थालेपछि अहिले बस्तीका सबै किसानले वर्षात्को समयमा खाद्यबाली लगाउन छाडी बर्से आलु लगाउँदै आएको उनको भनाइ छ ।


बर्से आलु खेतीमा लागेपछि बाफुखोलाका किसानको जीवनस्तरमा धेरै सुधार आएको बाग्चौर–१२ का वडाध्यक्ष टीकाराम ओलीले बताए । गाउँमा खर्च जुटाउन हम्मे हुँदा घरबार छाडी परिवारसहित भारतका विभिन्न स्थानमा रोजगारीका लागि जाने गरेका स्थानीयलाई अहिले कतै जान नपरेको र सबैले घरमै रोजगारी पाएका उनले जनाए । ‘बस्तीमा पहिले कसैको ढुंगे तथा टिनले छाएको घर थिएन । सबैका खरले छाएका मात्र थिए । अहिले सबैका टिनले छाएका चिटिक्क पारेका छन्,’ उनले भने, ‘धेरैले जिमिजग्गा जोडे, छोराछोरीलाई सहरतिर पढाउँछन् ।’

वार्षिक १२ करोडभन्दा बढीको आलु उत्पादन हुने बाफुखालोमा अहिलेसम्म एउटा चिस्यान केन्द्र नभएको स्थानीयको गुनासो छ । ०६८ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाफुखोलामा चिस्यान केन्द्र भवन बनाउन बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि भाषणमा मात्र सीमित भएकाले किसान आलु भण्डारणका लागि परम्परागत विधि नै अपनाउँदै आएको ओलीको भनाइ छ । बाफुखोलाका किसानलाई आलु भण्डारणका लागि चिस्यान केन्द्रको व्यवस्था गर्न नसके पनि प्राविधिकलगायत अन्य सहयोग गरिरहेको कृषि विकास कार्यालय सल्यानका प्रमुख रेशमबहादुर बस्नेतले जनाए ।

जिल्लाका बाफुखोलालगायत विभिन्न स्थानमा बर्से र हिउँदे आलु गरी वार्षिक झन्डै ४० करोडको आलु उत्पादन हुने गरेको बस्नेतको भनाइ छ । आलु उत्पादन हुने बागचौर–४, ११, १२, दार्मा ५, छत्रेश्वरी २,३, ५ वडालाई आलु पकेट क्षेत्र घोषणा गरिएको उनले बताए ।

प्रकाशित : श्रावण ३, २०८१ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×