कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बजेटबारे के भन्छन् उद्योगी–व्यवसायी ?

‘कार्यान्वयन भए आर्थिक वृद्धिको लक्ष्य सम्भव छ’ - चन्द्र ढकाल, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
‘बजेट यथार्थपरक छ’ -कमलेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
‘समस्या कार्यान्वयनमा हो ’- कल्पना खनाल, अर्थशास्त्री

काठमाडौँ — आम्दानी र खर्चको क्षमता सुधार्ने योजनाबिना सरकारले परम्परागत शैलीकै बजेट ल्याएको छ । ठूलो परिमाणमा उत्पादन वृद्धि, लाखौं रोजगारी सिर्जना र पूर्वाधार विकासमा फड्को मार्ने महत्त्वाकांक्षी लक्ष्य लिए पनि अर्थमन्त्री वर्षमान पुनले प्रभावकारी योजना भने ल्याएका छैनन् ।

बजेटबारे के भन्छन् उद्योगी–व्यवसायी ?

कार्यान्वयन भए आर्थिक वृद्धिको लक्ष्य सम्भव छ

चन्द्र ढकाल, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

महासंघले विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोग माग गरेको थियो । सोहीअनुरूप बजेटमा नयाँ चरणको सुधार र आयोग बन्ने कुरासँगै सुधार वर्ष घोषणा भएको छ । सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ । कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको छ ।

वैवाहिक पर्यटन, सभासम्मेलनसम्बन्धीको माइस पर्यटन, हिल स्टेसन विकास गर्ने विषय आएका छन् । सूचना प्रविधि र स्टार्टअपमा केही सहुलियत र विस्तारका योजना बजेटमा समेटिएको छ । निजी क्षेत्रको प्रवर्द्धनको कुरा जुन महासंघको सधैंको माग थियो, त्यसलाई प्राथमिकता दिएर समेटिएको छ । यसको कार्यान्वयन राम्रोसँग हुन सके ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ ।

बजेट यथार्थपरक छ

कमलेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

सरकारको स्रोतको कमी छ । त्यसलाई पूर्ति गर्न आन्तरिक ऋण लिने प्रयास गरिएको छ । ऋण लिएर स्रोत पूरा गर्ने कुराले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दैन । निजी क्षेत्रका लागि राजस्वको लक्ष्यले ठूलो सरोकार राख्छ, जुन यथार्थपरकै राखिएको छ । हाम्रा धेरै सुझाव बजेटमा समेटिएको छ । जसले गर्दा बजेट यथार्थपरक छ ।

अटो क्षेत्रले सोचेजस्तो बजेट आएन

करण चौधरी, अध्यक्ष, नाडा

विद्युतीय सवारीको आयातमा कर बढाइएको छ । स्पेयर पार्ट्सहरूको कर परिवर्तन गरिएको छ/छैन भनेर पूरा हेरिसकिएको छैन । लुब्रिकेन्ट्सको आयातमा पनि कर बढाइएको छ । समग्रमा हामीले बजेट बनाउनुपूर्व अर्थमन्त्रीलाई दिएको सुझावअनुसार बजेटमा आएन । बजेटमा धेरै कम सुझाव समेटिएको छ । अटो क्षेत्रलाई चलायमान गर्ने हो कि होइन ? अब अन्तिम अवसर नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति हो ।

बजेट सन्तुलित छ

राजेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल उद्योग परिसंघ

बजारमा सुनिएजस्तो धेरै ठूलो आकारको र वितरणमुखी बजेट आएन । सन्तुलित बजेट छ । राजस्व लक्ष्य पनि सन्तुलित हुँदा निजी क्षेत्रमाथि दबाब पर्दैन जस्तो लागेको छ । आर्थिक सुधार वर्ष घोषणा गरिनु सकारात्मक छ । दोस्रो चरणको आर्थिक सुधारका लागि आयोग बनाउने कुरा आवश्यक भइसकेको थियो । हामीले औंल्याउँदै आएका विषय बजेटले सम्बोधन गरेको छ ।

समस्या कार्यान्वयनमा हो

कल्पना खनाल, अर्थशास्त्री

सरकारले प्राप्त सिलिङभन्दा माथिको बजेट ल्याएको छ । राजस्वबाट स्रोत सुनिश्चित हुने अवस्था छैन । केही राम्रा कार्यक्रम पनि आएका छन् । कृषि, सूचना–प्रविधि तथा पर्यटनलाई प्रवर्द्धन गर्ने क्षेत्रमा बजेट आएको छ । पहिलेदेखि नै बजेटमा समस्या होइन, कार्यान्वयनमा हो । बजेट कार्यान्वयनमा ध्यान केन्द्रित हुन आवश्यक छ ।

कार्यान्वयनमा शंका

अनुपम राठी, अध्यक्ष, मोरङ उद्योग व्यापार संघ

समग्रमा बजेट राम्रो भए पनि कार्यान्वयन पक्षमा शंका छ । कृषि, पर्यटन, उत्पादनमूलक क्षेत्र, सेवा प्रविधि र विद्युत् उत्पादनमा बजेट केन्द्रित हुनु राम्रो पक्ष हो । कृषि दशक घोषणा गर्नु, लगानी बढाउने लक्ष्य बजेटको राम्रो भए पनि कार्यान्वयनमा बजेटको मर्म निर्भर रहन्छ । कोशी प्रदेशभरि एउटा पनि प्रदर्शनी स्थल र औद्योगिक ग्राम छैन, तर बजेटले प्रदेशलाई औद्योगिक सहर बनाउने घोषणा गर्नु आफैंमा हास्यास्पद छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×