कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्रै छ : गभर्नर अधिकारी

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार सरकारले ल्याएको बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र नै आएको प्रस्ट्याएका छन् ।

बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्रै छ : गभर्नर अधिकारी

बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रलायमा मंगलबार संघीय संसद्‌मा पेस गरेको बजेटका विषयमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले बजेट भाषणको अघिल्लो दिन स्रोत अनुमान समितिले बजेटको सिलिङ बढाएको बताए । गभर्नर अधिकारीले कानुनअनुसार नै माघमा गरिएको बजेट अनुमान पछिल्लो चार महिनामा भएका विकासक्रमका आधारमा पुनरावलोकन गरेको स्वीकार गरे ।

उनले भने, ‘बजेट बनाउने क्रममा स्रोत अनुमान समितिको सिफारिसलाई बेवास्ता पो गरियो कि भन्ने जस्ता प्रश्न उठ्यो । म स्रोत अनुमान समितिको सदस्य भएका नाताले नै यसको जवाफ दिनुपर्छ कि ? हामीले स्रोत अनुमान गरिराख्दा समितिले माघको १५ गते जुन सिफारिस गरेको थियो । त्यस अनुमानमा केही परिमार्जन भएका छन् । मंगलबार जुन बजेट आएको छ । त्यो बजेटको आकार पनि नयाा सिलिङभित्र नै छ । ’

उनले स्रोत समितिमा व्यापक छलफल गरेर जेठ १४ गते कानुनी व्यवस्थाअनुसार सिलिङ पुनरावलोकन गरिएको उल्लेख गरे ।

उनले विशेषगरी दातृ निकायको प्रतिबद्धताअनुसार वैदेशिक अनुदानमा बढोत्तरी हुने अर्थ मन्त्रालयको अनुमान र प्राकृतिक स्रोत तथा वित्त आयोगले यसअघि आँकलन गरेको भन्दा बढी आन्तरिक ऋण उठाउन सक्ने बाटो देखाएकाले स्रोत पुनरावलोकन गरिएको उल्लेख गरे । उनले प्राकृतिक स्रोत तथा वित्त आयोगले आँकलन गरेको ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको बताए ।

उनले डेब्ट टु जीडीपी अनुपातका आधारमा आगामी आवको बजेट भएकाले जीडीपीको अनुपातमा आन्तरिक ऋणको लक्ष्य राखिएको पनि बताए । गत वर्षको मध्यमकालीन खर्च संरचनाअनुसार यस वर्ष साढे १९ खर्बको बजेट आउनुपर्ने भए पनि बजेट सानो आकारमा आएको उनको भनाइ छ ।

अर्थसचिव मधुकुमार मरासिनीले स्रोत अनुमान समितिले माघमा दिएको बजेट सिलिङ जेठसम्म आउँदा स्वाभाविक रुपमा बढ्ने बताए । उनले बजेट सिलिङपछिका आवश्यकता र विकासक्रमका आधारमा बजेटको आकार वृद्धि हुने अवस्था रहेको बताए ।



प्रकाशित : जेष्ठ १६, २०८१ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×