बिजुली अभावले चिस्यान केन्द्र प्रयोगविहीन
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
बागलुङ — ढोरपाटन नगरपालिका–९ पाटनमा परम्परागत घरमा आलु भण्डारण गरिन्छ । त्यहाँभन्दा व्यवस्थित तरिकाले भण्डारण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रुद्रताल कृषि समूहले प्रयोग गर्ने गरी नयाँ भण्डारण बनाउँदै छ । चालु वर्षभित्र निर्माण सकेर आगामी असार साउनमा बीउ आलु भण्डार गर्ने लक्ष्य छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![बिजुली अभावले चिस्यान केन्द्र प्रयोगविहीन](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/tarakhola-aalu-store-photo4-2142024035922-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
परियोजनाले १० लाख र ५ लाख रुपैयाँ बराबर स्थानीयको श्रमदान गरेर १५ लाख लागतमा भवन बन्न लागेको उक्त भवनमा स्थानीयले बीउका लागि १५ टन आलु भण्डारण गर्ने योजना बनाएको स्थानीय भद्रमणि विकले बताए ।
यो भण्डारणपछि ढोरपाटन क्षेत्रमा चाहिने बीउ सुरक्षित बनाउन सकिन्छ । खाने आलुका लागि भने यति सानो स्टोरले नपुग्ने भएकाले किसानले घरैमा राखेर मौका पर्दा बजार पठाउने गरेका छन् ।
ढोरपाटनको ३ हजार ५० हेक्टरमा गत वर्ष ५४ हजार ८ सय १० टन आलु उत्पादन भएको थियो । यस क्षेत्रमा आलु उत्पादन बढाएर किसानलाई व्यावसायिक बनाउने लक्ष्य राखिए पनि भण्डारण गृह छैनन् । चिसो मौसम भएकाले घरघरमा राखेर किसानले बजार पठाउने गर्छन् । ढोरपाटन क्षेत्रमा व्यवस्थित भण्डारणको सुविधा आवश्यक भए पनि बनाउन नसकिएको कावा नगरप्रमुख धनबहादुर कायतले जनाए ।
‘सानो लगानीले हुँदैन, ठूलो खोजी भइरहेको छ,’ उनले भने, ‘सहजै बजारीकरणका लागि पनि सडक स्तरीय बनाउनुपर्नेछ ।’ ढोरपाटन सालझण्डी सडक स्तरीय भएमा किसानले सजिलै बजारमा उत्पादन पठाउन सक्नेछन् । ठूलो स्टोरका लािग विद्युतीकरण चाहिन्छ । ढोरपाटनको बुर्तिवाङ बजारमा मात्रै विद्युत् सेवा छ । ढोरपाटन पुग्न थप ३० किमिभन्दा बढी लामो विद्युत् लाइन बनेपछि मात्रै ठूला स्टोरको सम्भावना देखिएको वडा नम्बर ९ का अध्यक्ष खिमबहादुर घर्तीको भनाइ छ ।
ताराखोला गाउँपालिका–४ करिमेलामा पनि परियोजनाले १० टन क्षमताको बीउ भण्डारण गृह बनाएको छ । परियोजनाको २१ लाख र स्थानीयको ४ लाख गरी २५ लाख खर्चमा भवन सञ्चालनमा आएको हो । सुरक्षा र विद्युत् खर्च किसानहरूले दामासाहीमा तिरेर भण्डारण गृह पूरै बीउ राखेर प्रयोगमा ल्याएको स्थानीय किसान ओमप्रसाद कँडेलले बताए ।
साझेदारी र सरकारी लगानीमा बनेका कतिपय भवन तथा स्टोर सञ्चालनमा आएका छैनन् । धेरैजसोले विद्युत् अभाव खेपेका छन् । तमानखोलामा निर्माण भएको १ सय ३० टन क्षमताको कोल्डस्टोर भने विद्युत् अभावले सञ्चालनमा आउन सकेको छैन । गत आर्थिक वर्ष प्रदेश सरकारको ५० लाख, संघीय सरकारको सम्पूरक बजेटमा ४५ लाख र गाउँपालिकाको १५ लाखसमेत गरी १ करोड ५ लाख खर्च भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘बिजुली नपुग्दा प्रयोगमा ल्याउन सकिएको छैन,’ बुढाले भने, ‘एकवर्ष अघि बनेको घर त्यसै छ, अहिले पालिकाले विद्युतीकरणको तयारी गर्दै छौं ।’
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले उक्त स्थानमा बिजुली लैजाने तयारी गरिरहेको छ । आलु प्रशस्त उत्पादन हुने भएकाले उक्त ठाउँ रोजेका किसान विद्युत् नपुग्दा प्रयोग गर्न नपाउने चिन्तामा छन् । राष्ट्रिय प्रसारण लाइन नपुगेको तमानखोला गाउँपालिकामा भर्खर विद्युतीकरण गर्ने योजना भइरहेको छ । तर यो स्टोर बनेको स्थान पालिका केन्द्रदेखि पनि २० किमि उत्तरपूर्वमा पर्छ । गत वर्ष प्रदेश सरकारको ११ लाख ७८ हजार लगानीमा निसीखोला गाउँपालिका–२ देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थामा १० टन क्षमताको २ वटा च्याम्बर रहेको कोल्डस्टोर पनि विद्युत् अभावले यो सञ्चालनमा आएको छैन । हाल बुर्तिवाङ बजारमा पुगेको विद्युत् विस्तार हुने आशमा किसान कुरेर बसेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले जनाए ।
तत्कालीन कृषि विकास कार्यालयमार्फत बनेको जैमिनी नगरपालिका–४ सर्कुवामा रहेको ५० टन क्षमताको सोलार भण्डार केन्द्र प्रयोगमा नआउँदै जीर्ण बनेको छ । मर्मतका लागि खर्च गर्नुभन्दा पायक पर्ने स्थानमा नयाँ बनाउन उचित हुने अवस्था रहेको जैमनी नगर कृषि शाखाका प्राविधिक सहायक मनोज रानाले बताए । जैमिनी–३ मा आलु उत्पादन राम्रो हुने भएकाले आगामी वर्ष नगरपालिकाले खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत भण्डारका लागि योजना बनाउन लागिएको उनको भनाइ छ ।
बागलुङ नगरपालिका–८ को गणेश व्यावसायिक कृषि सहकारी संस्थामा २० टन क्षमताको कोल्ट रुम बनाइएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन वर्षअघि २१ लाख लगानी गरेपछि स्थानीयले थप ४ लाखको श्रमदानमा कोल्ड स्टोर बनेको हो । यो स्टोरको पूर्ण क्षमतामा सुन्तला भण्डारण गरिन्छ । सहकारीले विद्युत् महसुल पनि नियमित तिरेको छ । सोही सहकारीका सदस्य टोपबहादुर खड्का र अनन्त खड्काले व्यक्तिगत लगानीमा घरघरमै दुइटा कोल्ड रुम बनाएका छन् । त्यहाँ २ सय क्विन्टल सुन्तला भण्डारण गर्न सकिन्छ ।
गलकोट नगरपालिका–३ मा सिद्धभैरव २ करोड निजी लगानीमा तीन वर्षदेखि १ सय मेट्रिकटन क्षमताको स्टोर बनाएर सञ्चालनमा ल्याएको छ । यहाँ आलुसहित फलफूल पनि स्टोर हुने गरेको छ । सुक्खा मौसमका लागि फलफूल र वर्षात्मा आलु भण्डारण गरेर बजार पठाएको समूहका सदस्य महेन्द्र खत्रीले जनाए । यो भण्डारण केन्द्र पूर्ण क्षमतामा सञ्चालित छ । क्षमता कम हुँदा बजार पठाउने सामान बाहिरै राख्ने गरेको उनले सुनाए ।
त्यसबाहेक प्रदेश सरकारको साझेदारीमा काठेखोला गाउँपालिका–३ को धम्जामा ०७५ सालमा ५० टन क्षमताको भण्डारण केन्द्रमा आलु पनि राख्ने गरिएको छ । यो सामुदायिक भवनजस्तै गरी सामूहिक उपयोग गरिएको छ । काठेखोला–६ बिहुँमा प्रदेश सरकारको ५० लाख सहयोग पाएपछि श्रमदान जुटाएर झन्डै ६० लाखमा बनाएको १ सय १० टन क्षमताको कोल्डस्टोरमा राखेका सुन्तला स्थानीयले फागुन र चैतसम्म किसानले बजार पठाउने गरेका छन् । ‘यो पर्याप्त छैन, अत्याधुनिक पनि होइन, केही महिना राख्न मात्रै हो,’ स्थानीय युक्तप्रसाद कँडेलले भने, ‘कम्तीमा ५ सय टन भण्डारण गर्ने आधुनिक स्टोर भए किसानले उचित मूल्य पाएर बेच्न सक्छन् ।’
काठेखोला–५ र ६ मा वर्षमा ३ करोडसम्मको सुन्तला किसानले बेच्ने गरेका छन् । मंसिरमै बेचेर सक्दा पाएको मूल्यभन्दा भण्डार गरेर गर्मी मौसममा बेच्न सके दोब्बर फाइदा हुने कँडेलको भनाइ छ । कोल्डस्टोरमा लाग्दा प्रयोग भएको विद्युत्को खर्च किसानले दामासाहीमा तिर्ने गरेका छन् । उल्लिखित स्टोर सञ्चालन गर्न कुनै पनि कर्मचारी छैनन् । किसानका समूहले उपयोग गर्दै आएका हुन् ।
बागलुङ बजारमा भने तरकारी र फलफूलका लागि कोल्डस्टोर छैन । वडा ३ स्थित गुठीमा फलफूल पसल सञ्चालन गरेको मिसन कृषि सहकारी संस्थाले प्रदेशको सहकारी मन्त्रालयबाट १० लाख अनुदान लिएर १० टनको कोल्ड रुम बनाएको छ । सहकारीको नाममा भए पनि एकल रूपमा तरकारी र फलफूल भण्डारण गर्न प्रयोग भएको छ । स्थानीय उत्पादन बढाएर कृषि फसल र फलफूलमा आत्मनिर्भर बनाउन तरकारी तथा फलफूलका पकेट, ब्लक र जोन क्षेत्रमा स्टोर बनाउनुपर्ने अगुवा किसान गंगाबहादुर थापाले बताए ।
‘स्टोर नभएर धेरै तरकारी र फलफूल कुहिएर जान्छ, चाहिएको बेला पाइँदैन,’ थापाले भने, ‘साना अनुदानका कार्यक्रमभन्दा ठूला पूर्वाधार र उद्योगका लागि लगानी चाहिएको छ ।’ दूध उत्पादन र भण्डारणका लागि पनि लगानी नभएको उनले जनाए । दूधमा आत्मनिर्भरजस्तै भएको बागलुङमा सुक्खा मौसममा आयात गरिन्छ । ‘उचित स्टोर र उद्योगका लागि लगानी बढाउने हो भने दूध कहिले पनि अभाव हुँदैन,’ बागलुङ दुध सहकारी संस्थाका सदस्य युक्तप्रसाद कँडेलले भने, ‘पशु खरिद र घाँस उत्पादनमा पनि अनुदान चाहिएको छ ।’ उत्पादन गर्न खोज्ने किसानलाई प्रोत्साहन कम भएको उनको भनाइ छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)