कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

स्रोत सुनिश्चित नहुँदा सातदोबाटो र एकान्तकुनामा अन्डरपास निर्माणको ठेक्का हुन सकेन 

विमल खतिवडा

काठमाडौँ — सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमा उपत्यकाको ग्वार्को,सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने र कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास निर्माण थाल्ने उल्लेख गरेको थियो । तर अहिलेसम्म ग्वार्कोबाहेक अन्यत्र काम सुरु हुन सकेको छैन । ग्वार्कोमा फ्लाइओभर निर्माणको काम जारी छ ।

स्रोत सुनिश्चित नहुँदा सातदोबाटो र एकान्तकुनामा अन्डरपास निर्माणको ठेक्का हुन सकेन 

सातदोबाटो र एकान्तकुनामा कलंकीको जस्तै अन्डरपास निर्माण गर्ने भन्दै अध्ययनको काम सकिसकेको छ । अध्ययनअनुसार सातदोबाटोमा बन्ने अन्डरपासको दूरी ५४०.७८ मिटर हुने छ । अहिले अध्ययनमा कलंकीको जस्तै अन्डरपास निर्माण गर्ने उल्लेख भएको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए ।

अध्ययनअनुसार यसको निर्माण लागत ७२ करोड रुपैंया लाग्ने छ । जुन अन्डरपास चार लेनको हुने छ । त्यस्तै एकान्तकुनामा पनि अन्डरपास नै निर्माण गर्नेगरी अध्ययन गरिएको छ । जसको दूरी ३ सय मिटर हुने छ । निर्माणमा ५० करोड लागत लाग्ने अध्ययनमा उल्लेख छ । यी दुवै अन्डरपासको ठेक्का इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत गरिने निर्देशक शाक्यले बताए ।

‘यसलाई पनि ईपीसी मोडलमै ठेक्का गर्ने हो,अहिले अध्ययनमा अन्डरपास निर्माण गर्ने उल्लेख छ, यसको विकल्पमा आवश्यक परे ओभरपास पनि बनाउन सकिने छ,’ उनले भने, ‘अध्ययनअनुसार यही आर्थिक वर्षमा ठेक्कामा जान समस्या छैन ।’ निर्माणमा जान सकिने गरी दुवै खण्डको अध्ययन पूरा गरिएको हो । यो खण्डमा सवारी चाप धेरै हुने भएकाले ट्राफिक जाम कम गराउन भन्दै विकल्पका रुपमा अन्डरपास निर्माण गर्न लागिएको हो ।

नेपाल सरकारले बनाउने भएकाले स्रोत सुनिश्चितताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् अर्थ मन्त्रालय पठाइसकिएको उनको भनाइ छ । ‘स्रोत सुनिश्चितताका लागि पठाएको ६ महिना भइसकेको छ,’ उनले भने, ‘अहिलेसम्म यसबारे कुनै जानकारी आएको छैन, चालु आर्थिक वर्षमा स्रोत सुनिश्चिता भएको भए ठेक्कामा जान समस्या थिएन, सम्भावना अझै छ ।’ तर यस आर्थिक वर्षमा स्रोत सुनिश्चितता हुन नसके अर्को आर्थिक वर्षमा निर्माणमै जाने गरी ठेक्का गर्न सकिने दाबी उनको छ ।

कोटेश्वरमा अन्डरपास निर्माणमा जापान सहयोग नियोग (जाइका) ले अध्ययन सकेको छ । तर कसरी निर्माणमा जाने भन्नेबारे निर्णय भइनसकेको विभागले जनाएको छ । जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको केही भाग च्यापेर सुरुङ बनाइने र जडीबुटीमा सानो फ्लाइओभर राख्ने गरी अध्ययन भएको हो । नयाँबानेश्वरको अन्डरपासको पूर्वसम्भाव्यता अध्ययनको काम सकिए पनि फाइनल रिपोर्ट भने तयार भइसकेको छैन । कलंकीको जस्तै बिजुलीबजारबाट संसद् भवनअगाडिसम्म अन्डरपास बनाउने गरी अध्ययन भए पनि यसमा थप काम अघि बढ्न सकेको छैन ।

प्रकाशित : चैत्र २६, २०८० १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×