कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रोकिएको महिना दिनमा सुरु भयो नागढुंगा सुरुङमार्गको काम

‘ब्रेक थ्रु’ को समय नजिकिएकै बेला स्थानीयले आयोजना सुरु हुँदै गर्दादेखिका माग निकालेर काम रोकेका थिए 

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा निर्माण ठप्प भएको एक महिनापछि मंगलबारबाट पुनः काम सुरु भएको छ । स्थानीयले आयोजना सुरु गर्दादेखिका खानेपानीलगायतका माग उठाएर काम ठप्प पारेका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा सोमबार मन्त्रालयमा भएको वार्तापछि सुरुङको काम पुनः सुरु गर्ने सहमति भएको हो ।

रोकिएको महिना दिनमा सुरु भयो नागढुंगा सुरुङमार्गको काम

सोही सहमतिअनुसार रोकिएको काम सुरु भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले बताए । ‘एक महिनासम्म काम रोकियो, यो बेलासम्म सुरुङको ‘ब्रेक थ्रु’ गरेर फिनिसिङको काम सुरु हुन्थ्यो,’ उनले भने, ‘अब काम नरोकिए बढीमा १० दिनभित्र ‘ब्रेक थ्रु’ गर्न समस्या हुन्न ।’

मन्त्रालय र काम रोक्ने स्थानीयसँग नौबुँदे सहमति भएपछि काम अघि बढेको हो । चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले उठाउँदै आएको मुख्य माग खानेपानी, सिँचाइको व्यवस्था गरिदिने, आयोजना निर्माणपछि सुरुङमार्ग सञ्चालनमा स्थानीय पीडितलाई योग्यता र क्षमताका आधारमा रोजगारमा प्राथमिकता दिनेलगायत छन् । तर सुरुङ खन्न भने धेरै छैन, १४ मिटर सुरुङ खन्न सके ‘ब्रेक थ्रु’ हुन्छ । गत फागुन २३ मा सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी भएसँगै स्थानीयले आयोजनाले विभिन्न नयाँ/पुराना माग अघि सारेर काम रोकेका थिए, जसले गर्दा फागुन ६ गतेदेखि धादिङ र काठमाडौं दुवैतिर काम ठप्प भएको थियो ।

सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । एक महिनासम्म काम ठप्प हुँदा जनशक्ति र मेसिन प्रयोग गर्न नपाएको भन्दै निर्माण कम्पनीले क्षतिपूर्ति दाबी गर्ने खतरा रहेको आयोजना प्रमुख श्रेष्ठले बताए ।

मुख्य सुरुङ २.६८८ किमिमध्ये २.६७४ किमि खन्ने काम सकिसकेको छ । ‘लामो समय काम रोकियो, जसले गर्दा सुरुङ सञ्चालनमा आउने समय पनि केही पर धकेलिएको छ,’ प्रमुख श्रेष्ठले भने, ‘०८१ माघमा भनिए पनि अहिलेको अवस्थाले गर्दा चैतसम्म पुग्ने देखिएको छ ।’ सुरुङ बनेपछि मुख्य सडक साढे ७ किमि छोटिनेछ । नागढुंगा उकालोमा हुने ट्राफिक जाम कम हुनेछ । यसको निर्माण सुरु भएको ५१ महिना बितिसकेको छ । स्थानीयको अवरोधले थानकोटमा निर्माणाधीन फ्लाइओभरको काम पनि ठप्प थियो । सहमतिपछि यसको काम पनि पुनः सुरु भएको आयोजना प्रमुख श्रेष्ठले जनाए ।

यो सुरुङबाट सवारी सञ्चालन गर्दा शुल्क लिने कि नलिने भन्नेबारे अहिलेसम्म निर्णय हुन सकेको छैन । ‘सुरुङमार्ग प्रयोग गरेबापत् शुल्क लिने/नलिने कुरा छलफलमै छ,’ प्रमुख श्रेष्ठले भने, ‘सुरुङ सञ्चालनमा आउनुअघि नै यसबारे के गर्ने भनेर निर्णय हुनेछ ।’ आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भने गत साउन २२ मा भएर अहिले फिनिसिङको काम भइरहेको छ । जसको दूरी २५५७ मिटर रहेको छ । ‘आपत्कालीन सुरुङ फिनिसिङको काम पनि रोकिँदा यसमा प्रगति हुन सकेन,’ उनले भने, ‘मुख्य सुरुङ खन्ने र आपत्कालीन सुरुङ फिनिसिङको काम अब सँगै हुन्छ ।’

लामो समय काम रोकिएकाले म्याद थप गर्नुपर्ने माग निर्माण व्यवसायीले अघि सारेका छन् । तर यसबारे अहिलेसम्म केही निर्णय भइनसकेको दाबी आयोजनाको छ । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्मलाई म्याद थपिएको छ । ०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो । तर तोकिएको समयमा कोभिड, बेलाबेला हुने अवरोधका कारण काम सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । समग्र आयोजनाको भौतिक प्रगति भने ६९.१५ प्रतिशत छ । आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएका छन् ।

प्रकाशित : चैत्र ७, २०८० ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×