कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भरतपुर भ्रमण गर्न प्रमुख नेताहरुले गरे आह्वान

रमेशकुमार पौडेल

चितवन — भरतपुर भ्रमण वर्ष–२०२४ को शुक्रबार नारायणगढ नारायणी नदी किनारमा उद्घाटन भएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको भ्रमण वर्षको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे ।

भरतपुर भ्रमण गर्न प्रमुख नेताहरुले गरे आह्वान

कार्यक्रममा सत्तारुढ गठबन्धनका साथै प्रतिपक्ष दलका पनि प्रमुख नेताहरु नै सहभागी भए । मन्तव्यको क्रममा उनीहरुले भरतपुर र समग्र चितवन भ्रमण गर्न अपिल पनि गरेका छन् ।

प्रधानमन्त्री दाहालले कोरोनाका कारण शिथिल भएको पर्यटन चलमलाउन थालेको र भरतपुर भ्रमण वर्षले चितवनका साथै देशकै पर्यटकीय गतिविधि बढाउने छ भने । उनले पर्यटकको संख्याका साथै बसाइ अवधि बढाउने कार्यक्रमहरु तय गर्न पर्यटन व्यवसायीलाई आग्रह गरे ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व प्रसिद्ध निकुञ्ज आडैमा भएका कारण भरतपुर भ्रमण गर्नु फलदायी हुने बताए ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू परिवारसहित भरतपुर र चितवन भ्रमण गर्न आउने छु भन्दै देशवासीलाई पनि भरतपुर घुम्न निमन्त्रणा गरे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय निकायले जनमुखी काम गर्नुका साथै आर्थिक विकासका लागि पर्यटनलाई जोड् दिनु सकारात्मक भएको बताए । सो पार्टीका अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खानलले पर्यटनले देशको आर्थिक कायाकल्प हुने र कृषि र रेमिट्यान्सबाट भएको लाभभन्दा ठूलो योगदान दिने बताए । भ्रमण वर्षले यो उद्देश्यलाई पूरा गर्न भूमिका खेल्ने उनको भनाइ थियो ।

संविधानसभाको दोस्रो पटक निर्वाचन गराउन गठन भएको मन्त्रिपरिषद्‌का अध्यक्ष खिलाराज रेग्मीले चितवनले विदेशी पर्यटकको इतिहासदेखि नै मन जित्दै आएको बताए ।

चितवन–२ का सासंद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले भ्रमण वर्षमा भरतपुरमात्रै नभएर चितवनको सबै पर्यटकीय क्षेत्र घुम्ने डुल्ने अवसर रहेको बताए ।

उद्घाटन कार्यक्रमअघि भरतपुरका विभिन्न चोकबाट निस्कने र्‍याली र झाँकीहरुले बजार परिक्रमा गरेका थिए । उद्घाटन कार्यक्रममा ५० हजार जना सहभागी भएको मेयर रेनु दाहालले बताइन् । भ्रमण वर्षमा दुई लाख विदेशीसहित पाँच लाख पर्यटक भित्र्याउने उद्देश्य राखेको उनले बताइन् । भ्रमण वर्ष अवधिभर विभिन्न ५१ वटा कार्यक्रमहरु सञ्चालन हुने उनले जानकारी दिइन् ।

भरतपुरको आडमा दुर्लभ वन्यजन्तु अवलोकन र पर्यापर्यटनका लागि विश्वमै चिनिएको चितवन राष्ट्रिय निकुञ्ज र हिन्दुहरुको प्रख्यात धार्मिक स्थल देवघाटधाम छ । भ्रमण वर्षका लागि महानगरले प्राकृतिक, धार्मिक, ऐतिहासिक र मानव निर्मितसमेत गरेर भरतपुरभित्र २२ वटा पर्यटकीय गन्तव्य तय गरेको छ ।

प्रकाशित : फाल्गुन १८, २०८० २३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×