कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

साढे १० प्रतिशतले बढ्यो सेयर कर्जा, पुससम्म सवा ८४ अर्ब

गत वर्षको पुससम्म ७ प्रतिशतले घटेको सेयर कर्जा वृद्धितिर, पर्याप्त तरलता, घट्दो ब्याजदर र नीतिगत सहजता मुख्य कारण

काठमाडौँ — चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर कर्जा करिब साढे १० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष प्रायः सबै महिना उच्च दरले घटेको सेयर कर्जा चालु आर्थिक वर्षको सुरुवातसँगै बढ्न थालेको नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले देखाएको छ । 

साढे १० प्रतिशतले बढ्यो सेयर कर्जा, पुससम्म सवा ८४ अर्ब

बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त रहेको, ब्याजदर घट्दो क्रममा रहेको, लगानीका अन्य क्षेत्र (उद्योग व्यापार घरजग्गा आदि) अपेक्षित रूपमा सुधार हुन नसकेको, हालसम्मको उच्च विन्दुको तुलनामा सेयर बजार धेरै तल झरेकोलगायत कारण केही महिनायता सेयर कर्जा बढ्न थालेको जानकार बताउँछन् ।

गत साउनदेखि पुससम्म कुल सेयर कर्जा ७ अर्ब ९८ करोड रुपैयाँले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत वर्षको पुससम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १०.५ प्रतिशतले बढेको हो । ०७९ पुससम्म यस्तो कर्जा ७ प्रतिशत अर्थात् ५ अर्ब ६३ करोड रुपैयाँले घटेको थियो । गत असारमा यस्तो कर्जा ७६ अर्ब ३० करोड रुपैयाँ र ०७९ असारमा ८० अर्ब ५० करोड रुपैयाँ सेयर कर्जा लगानीमा थियो ।

विगतमा राष्ट्र बैंकले ४ करोड र १२ करोडको सीमा लगाएपछि घट्न थालेको सेयर कर्जा त्यसपछिका प्रायः सबै महिनामा घटिरहेको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ४ करोडको सीमा हटाएर १२ करोड मात्र कायम गरेको थियो । त्यति बेला राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर कर्जामा जोखिम भार घटाएर एक सय प्रतिशत बनाएको थियो । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर कर्जाको जोखिमभार मात्र एक सय प्रतिशत र त्योभन्दा बढी सबै कर्जाको एक सय ५० प्रतिशत थियो । उक्त नीतिगत परिवर्तनले पनि सेयर लगानीकर्तालाई उत्साहित गर्न सकेको थिएन । त्यसपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले (गत असोजमा) सेयर कर्जाको सीमा बढाएर व्यक्तिगत लगानीकर्ताले बढीमा १५ करोड रुपैयाँसम्म र संस्थागत लगानीकर्ताले २० करोड रुपैयाँसम्म सेयर कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

‘कुनै एक वा सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापित संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरिएको छ,’ परिपत्रमा भनिएको छ, ‘यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्नेछ ।’ तर तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरे बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने निर्देशन छ । यस्तो व्यवस्थापछि सेयर बजारमा सकारात्मक प्रभाव पर्ने नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले दाबी गरेका थिए ।

राज्यको नीतिगत व्यवस्थाले सेयर बजार प्रभावित हुने र पछिल्ला वर्षमा कसिला नीति आएकाले सेयर कारोबार मापक नेप्से परिसूचक बढ्न नसकेको जानकार बताउँछन् । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले केही सेयर कर्जामा खुकुलो बनाउन खोजे पनि अर्थतन्त्रमा आएको शिथिलताका कारण लगानीकर्ताले कर्जा लिने आँट गर्न नसकेको उनीहरूको भनाइ छ । यद्यपि, चालु आर्थिक वर्ष सुरु भएपछि तरलता अवस्था सहज भएकाले बैंक तथा वित्तीय संस्थाले साना ठूला सेयर कर्जामा विभिन्न अफर ल्याइरहेका छन् । तर शिथिल अर्थतन्त्र, अपेक्षाअनुरूप बढ्न नसकेको सेयर बजारलगायत कारण लगानीकर्ता कर्जा लिएर सेयरमा लगानी गर्ने अवस्थामा नरहेको जानकारहरूको भनाइ छ ।

पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थाबाट कर्जा ल्याएर सेयर बजारमा लगानी गर्ने क्रम बढेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले बताए । ‘राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएको, पर्याप्त तरलता र ब्याजदर घट्दो क्रममा रहेकाले लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन थालेका छन्,’ उनले भने, ‘नीतिगत सहजतासँगै बैंकहरूले मार्जिन कलको सीमा बढाएका छन् भने लगानीकर्तालाई डाकेरै कर्जा लिन अनुरोध गर्दै आएका छन् ।’

राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुससम्म २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर कर्जा २ र २५ लाख रुपैयाँभन्दा कमको कर्जा १.९ प्रतिशतले बढे । सोही अवधिमा एक करोड रुपैयाँभन्दा बढीको कर्जा १४.७ र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा भने ८.६ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । ०७९ असोजसम्म २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर कर्जा ११ र एक करोडभन्दा माथिको कर्जा ७.९, २५ लाख रुपैयाँभन्दा कमको कर्जा २.९ र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा ०.७ प्रतिशतले घटेका थिए ।

प्रकाशित : माघ २९, २०८० ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×