कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बर्लिनको मुख्य विधामा 'शाम्बाला' छनौट, मीनले रचे इतिहास

रीना मोक्तान

काठमाडौँ — मीन बहादुर भाम निर्देशित 'शाम्बाला'ले विश्व प्रतिष्ठित फिल्म फेस्टिभल बर्लिनको प्रमुख प्रतिस्पर्धातर्फ छनोट हुने पहिलो नेपाली फिल्मको इतिहास रचेको छ । बर्लिनको ७४ औँ संस्करणतर्फ अन्तर्राष्ट्रिय फिल्मको विधामा भामको यो फिल्म छानिएको हो ।

बर्लिनको मुख्य विधामा 'शाम्बाला' छनौट, मीनले रचे इतिहास

फिल्ममा हिमाली भेगकी गर्भवती पेमाले व्यापारका लागि ल्हास्सातिर हराएका पति खोज्दाको यात्रा समेटिएको छ । अर्का पति कर्मा(देवर)सँग पतिको खोजीमा हिडेकी पेमाले त्यही यात्रामा अनुभव गर्दै जाने कथा नै 'शाम्बाला'मा प्रस्तुत छ ।

मीन र निर्देशक अविनाश विक्रम शाह लिखित फिल्म शाम्बाला डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको हो । फिल्म टिबेटियन र नेपाली भाषामा बनेको छ ।

नेपालसँगै फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान, अमेरिका र कतारसँगको सहकार्यमा बनेको फिल्मको बजेट ९ लाख ८० हजार युरो हो । भाम यो फिल्ममा विश्वका विभिन्न चर्चित ल्याबबाट करोडौंको अनुदान(फन्ड) ल्याउन सफल भएका छन् ।

भाम निर्देशित लघु फिल्म 'बाँसुल्ली'ले पहिलोपटक नेपालबाट भेनिस प्रवेश पाएको थियो । फिचर फिल्म 'कालोपोथी'ले त भेनिस क्रिटिक्स वीकतर्फ 'फेडेरा उत्कृष्ट फिल्म अवार्ड' जितेको थियो ।

'शाम्बाला'मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको अभिनय छ । फिल्ममा बहुपति प्रथासँग जोडिएकी महिलाको जीवनको गहिराईमा छिर्ने प्रयास भएको छ ।

यो फिल्म बन्न ८ वर्ष लागेको निर्माण टिम सुनाउँछन् । '८ वर्षदेखि मेरा निर्माताले यो फिल्ममा लगानी गरेर पर्खिदिनुभयो सबैलाई धन्यवाद,'भामले निर्मातालाई धन्यवाद दिँदै भने,'यो फिल्ममा टिबेटियन भाषाको प्रयोग छ । मौलिकपना नहराओस् भनेर हामीले त्यो भाषा प्रयोग गरेका हौं ।'

४४ ड्राफ्ट लेखिसकेपछि 'चिसो वर्ष'बाट फिल्मको नाम 'शाम्बाला' राख्ने तय भएको भामले सुनाए । फिल्म लेख्न लामो समय लागे पनि छायांकन भने छोटो समयमै सम्पन्न भएको भामले जनाए ।

'खासमा फिल्म लेख्न नसकेरै लामो समय लाग्यो । ६ वर्षमा ४४ ड्राफ्ट लेख्यौं । कहाँ -कहाँ भौतारिँदा पनि फिल्म लेख्नै सकिरहेको थिएन । मैले पढाउने कामै छोडेर लेख्न बसें लामो समय,'भामले भने ।

प्रकाशित : माघ ८, २०८० १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×