कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

दिल्लीसहित ५८ लोकसभा क्षेत्रमा आज मतदान 

राजेश मिश्र

नयाँ दिल्ली — भारतको राजधानी दिल्लीको ७ वटै निर्वाचन क्षेत्रसहित विभिन्न प्रदेशका सहित कुल ५८ लोकसभा निर्वाचन क्षेत्रमा शनिबार मतदान हुँदैछ । छैठौं चरणको निर्वाचन अन्तर्गत दिल्लीको चुनावी प्रतिस्पर्धा रोचक मानिएको छ । 

दिल्लीसहित ५८ लोकसभा क्षेत्रमा आज मतदान 

२०१९ को चुनावमा भारतीय जनता पार्टीले दिल्लीको सबै सीट जितेको थियो । यसपटक आपसी राजनीतिक प्रतिस्पर्धालाई बिर्सेर आम आदमी पार्टी र कांग्रेसले भाजपाविरुद्ध गठबन्धन गरेको छ । दुवै दल एक भएर उत्रिएकाले भाजपालाई ‘इन्डिया’ गठबन्धनले राम्रो टक्कर दिएको मानिएको छ ।

दिल्लीको चाँदनी चौक क्षेत्रबाट भाजपाका प्रवीण खंडवाललाई कांग्रेसका उम्मेदवार जेपी अग्रवालले चुनौती दिइरहेका छन् । दक्षिणी दिल्ली क्षेत्रमा भाजपाका रामवीर सिंह बधुडीका अगाडि आपबाट सही राम प्रत्याशी छन् । कनाँट प्लेस, जनपथ जस्ता दिल्लीको ठाउँहरू समेटिएको नयाँ दिल्ली निर्वाचन क्षेत्रमा भाजपाले बाँसुरी स्वराजलाई चुनावी मैदानमा उतारेको छ । उनी भाजपाका पूर्व नेतृ तथा विदेशमन्त्री स्व.सुष्मा स्वाराजकी छोरी हुन् । यसअघि यस क्षेत्रमा विदेश राज्यमन्त्री रहेकी मिनाक्षी लेखीले जितेकी थिइन् । स्वराजलाई आपका सोमनाथ भारतीले चुनौती दिइरहेका छन् ।

उत्तर पश्चिमी दिल्लीमा भाजपाबाट योगेन्द्र चंदोलिया र कांग्रेसका उदित राज चुनावी मैदानमा छन् । पूर्वी दिल्लीमा भाजपका हर्षदीप मल्होत्रा र आपका कुलदीप कुमार आमने समामने छन् । त्यस्तै, पश्चिमी दिल्लीमा भाजपाका कमलजीत सहरावतलाई आपबाट महाबल मिश्राले टक्कर दिएका छन् ।

सबैभन्दा चर्चित क्षेत्र बनेको छ– उत्तर पूर्वी दिल्ली । यहाँबाट भोजपुरी फिल्मका अभिनेता तथा गायक मनोज तिवारी आफ्नो साख बचाइराख्न पुरा शक्ति लगाइरहेका छन् । उनका अगाडि कांग्रेसले युवा नेता कन्हैया कुमारलाई उतारेको छ । जवाहरलाल विश्वविद्यालयमा विद्यार्थी राजनीति हुँदै कम्युनिष्ट पार्टीबाट अघिल्लो चुनावमा बिहारको बेगुसरायबाट चुनाव लडेका कन्हैया केही वर्ष अगाडि कांग्रेसमा प्रवेश गरेका थिए । पार्टीले उनलाई तिवारीको अगाडि उतारेको छ । कन्हैयालाई उम्मेदवार बनाएपछि कांग्रेस दिल्ली कार्यालयमा असन्तुष्टि देखिएर दिल्ली प्रदेश अध्यक्षसहित कयौं नेताले पार्टी समेत छोडेको स्थिति छ । तर कन्हैयाले तिवारीलाई राम्रै टक्कर दिइरहेको मानिएको छ ।

भाजपाले अघिल्लो पटक ७ वटै सिट जितेकाले त्यो नतिजालाई प्रभावित हुन नदिन आफ्ना सबै प्रमुख नेताहरूलाई दिल्लीको चुनावी प्रचारमा खटाएको छ । कयौं मुख्यमन्त्री, केन्द्रीय मन्त्रीहरू दिनरात दिल्लीमा खटिएका छन् । त्यस बाहेक प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, पार्टी अध्यक्ष जेपी नड्डाले कयौं सभाहरू गरेका छन् ।

दिल्लीका मुख्यमन्त्री तथा आपका संयोजक अरविन्द केजरिवाल चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न कुनै मौका गुमाएका छैनन् । अन्तरिम जमानतमा जेलबाट छुटेका उनले पनि दिन रात मतदाता समक्ष पुग्ने प्रयास जारी राखेका छन् । कांग्रेस नेता राहुल गान्धीले कन्हैयाको चुनावी प्रचारमा सामेल भएका छन् । आपले ४ र कांग्रेसले ३ सिट बाँडेको छ । दुवै पार्टी मिलेकाले दिल्लीमा विपक्षी गठबन्धनले भाजपाबाट केही सिट खोस्न सक्ने विश्लेषण गरिदैंछ । राजधानी दिल्लीमा १ करोड ५२ लाख मतदाता छन् । ७ सीटका लागि १ सय ६२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

छैठौं चरणमा दिल्ली बाहेक बिहारको ८, हरियाणको १०, जम्मु कश्मिर–१, झारखण्डको ४ सीटमा मतदान हुँदैछ । त्यस्तै, ओडिशा–६, पश्चिम बंगाल–८ र उत्तरप्रदेशको १४ सीटमा चुनाव हुँदैछ । दिल्ली राजधानीमै रहेको हरियाणाको गुडगाँव र फरिदवादमा पनि मतदान यही चरणमा छ ।

नेपालसँग सीमा जोडिएको बिहारको वाल्मिकीनगर, पश्चिमी चम्पारण, शिवहरमा पनि शनिबार नै मतदान हुन लागेको छ । त्यस्तै, उत्तरप्रदेशको नेपालसँगको सीमावर्ती क्षेत्र श्रीवस्ती र डुमरियागन्जमा मतदान हुँदैछ । यस चरणमा भाजपाका नेताहरू धर्मेन्द्र प्रधान, मेनका गान्धी, मनोज तिवारी चर्चित उम्मेदवारको आगामी राजनीतिक लोकसभा यात्राको निर्णय लिनेछन् । बाँकी रहेको ५७ लोकसभा सीटमा एक सातापछि जुन १ मा सातौं चरणको मतदान भएपछि लोकसभा निर्वाचन पुरा हुनेछ । जुन–४ मा मतगणना हुनेछ ।

प्रकाशित : जेष्ठ १२, २०८१ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?