चारदिने भ्रमणमा शुक्रबार काठमाडौं आएका सीपीपीसीसीका उपाध्यक्ष बाटरले भेटे उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्री
काठमाडौँ — चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बाटरले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । चारदिने भ्रमणमा शुक्रबार नेपाल आएका बाटरले प्रधानमन्त्रीका साथै उपराष्ट्रपति रामसहायप्रसाद यादव र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटिसकेका छन् ।
सरकारी पक्षले ती भेटवार्ताहरूमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको उल्लेख गरेको छ । तर विज्ञहरू चिनियाँ पक्षबाट राजनीतिक तहमा भएको भ्रमणलाई सुरक्षा र राजनीतिक पक्षमा केन्द्रित भएको बताउँछन् । सीपीपीसीसी चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको उच्च राजनीतिक सल्लाहकार संयन्त्र हो ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुसार प्रधानमन्त्री दाहाल र उपाध्यक्ष बाटरबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोगबारे छलफल भएको थियो । दाहालले नेपाल–चीन सीमा क्षेत्रका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्त्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिए । उनले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गरे ।
चीन र नेपालबीचको संसदीय अभ्यासको आदानप्रदान आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिनेबारे पनि उनीहरूबीच छलफल भएको सापकोटाले बताए । उपाध्यक्ष बाटरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा थप अभिवृद्धि हुने उल्लेख गरे । ‘प्रधानमन्त्रीले अहिले चीन, भारतसहित मैत्रीपूर्ण सम्बन्ध रहेका मुलुकसँग नेपालको आर्थिक विकासका लागि तथा सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि बहुपक्षीय र द्विपक्षीय सहयोग लिइरहनुभएको छ । भारत भ्रमणमा पनि राजनीतिक भेटवार्ता र संवादहरूका क्रममा मूलतः आर्थिक र अर्थ राजनीतिमा आधारित हाम्रो राष्ट्रिय दृष्टिकोण प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको थियो,’ सापकोटाले भने ।
यस्तै, उपराष्ट्रपति यादवले शुक्रबार उपाध्यक्ष बाटरसँगको भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्त्वपूर्ण योगदान पुर्याउनेमा आफूहरू पूर्ण विश्वस्त रहेको उल्लेख गरे । चीनको ‘सिचुआन विमान’ ले छेन्दु र पोखराबीच चार्टर्ड उडान गरेको तथा छिन्दु र काठमाडौंबीच उडान सुचारु भएकामा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा पोखरा र चीनका विभिन्न सहरबीच व्यावसायिक उडान सुरु हुनेमा विश्वाससमेत व्यक्त गरे ।
यादवले चीन सरकारले २०२४ को मे १ देखि लागू हुने गरी चीन भ्रमण गर्ने नेपालीका लागि भिसा शुल्क मिनाहा गरेको जानकारी पाएर खुसी लागेको उल्लेख गरे । जवाफमा उपाध्यक्ष बाटरले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल र सुदृढ बनाउने पक्षमा चीन रहेको बताएका थिए । बाटरले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शनिबार भेटवार्ता गरेका थिए । भेटमा दुई देशबीचको सम्बन्धलाई थप बढावा दिने, आर्थिक र विकास क्षेत्रमा सहकार्य गर्ने तथा जनस्तर सम्बन्धबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
पूर्वराजदूत दिनेश भट्टराई चीनका राजनीतिक दलका नेताबाट नेपालमा भइरहेका भ्रमणले अर्थ राख्ने मान्छन् । ‘चीनमा पार्टी (चिनियाँ कम्युनिस्ट पार्टी) बलियो हुन्छ । त्यहाँ सबै पार्टीले नै निर्णय लिन्छ । नेपालमा पार्टीका पदाधिकारी आएर भेटवार्ता गर्नुलाई नजिकबाट हेर्न आवश्यक हुन्छ,’ उनले भने, ‘चीनबाट अहिले संलग्नता बढ्दो छ । अहिलेको भ्रमण त्यसैको निरन्तरता नै हो ।’ उनले चिनियाँहरूको नेपालमा चासो बढ्दो रहेको प्रस्ट पारे । ‘चीनको नेपालमा सुरक्षा–राजनीतिक केन्द्रित चासो छ । तर नेपालको चाहना चीनले विकासबाट गरिबी निवारण गरेको तथा पूर्वाधार निर्माण, कनेक्टिभिटी बढाउने जस्तो विषयमा हो,’ उनले भने ।
अर्का पूर्वराजदूत विजयकान्त कर्णले नेपालका कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचमा पछिल्लो समय बढी सहकार्य भइरहेको टिप्पणी गरे । उनले दुई मुलुकको सम्बन्धमा भन्दा पनि दलगत सम्बन्धलाई बढी चासो दिइएको बताए । ‘नेपालले चीनबाट पूर्वाधार निर्माण होस् । नेपालमा आर्थिक समृद्धि होस् भन्ने चाहेको छ । तर पछिल्लो १५ वर्षदेखि रिङरोडको पहिलो चरण पूरा हुनेबाहेक अन्य क्षेत्रमा चाहेअनुसार काम भएको छैन,’ उनले भने । चीनले नेपालमा बढी रणनीतिक चासोमा ध्यान दिएको उनले प्रस्ट पारे । ‘चीन र नेपालबाट पछिल्लो समय भइरहेका भ्रमणहरूले नेपाली जनतालाई के फाइदा हुन्छ भन्नेबारेमा कसैलाई पनि थाहा छैन । यसबारेमा हामीले ध्यान दिन आवश्यक छ,’ उनले भने ।
