कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

काठमाडौं विमानस्थलमा उत्तरबाट जहाज अवतरण गर्न आइतबार रातिबाट खुला 

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एकमात्र धावनमार्गको उत्तरी विन्दु (रनवे–टूजीरो) बाट जहाजलाई अवतरणमा लगाइएको रोक आइतबार रातिबाट हटाइएको छ ।

काठमाडौं विमानस्थलमा उत्तरबाट जहाज अवतरण गर्न आइतबार रातिबाट खुला 

धावनमार्गको दुवै विन्दुलाई ट्याक्सी–वेमार्फत जोड्न ०८० चैत २० गतेदेखि उत्तरबाट जहाज अवतरणमा रोक लगाउदै ३ हजार ५० मिटर लामो धावनमार्गको लम्बाई २ सय २६ मिटर दक्षिणतर्फ (छोट्याइएको) सारिएको थियो ।

यसका कारण पर्वतीय उडान तथा बौद्धतर्फबाट अवतरण गर्न आन्तरिक उडानलाई रोक लगाइएको थियो भने लामो दूरीको उडान गर्ने केही अन्तर्राष्ट्रिय वायुसेवाहरुको उडानभार घटाउनु परेको थियो । ‘सोमबारदेखि काठमाडौं विमानस्थलको धावनमार्ग पुरानै दुरीमा कायम हुने छ’,विमानस्थलभित्र पूर्वाधारमा कार्यरत ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ का निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले कान्तिपुरसँग भने,‘आइतबार राति अन्तिम निर्माणको काम सकिँदै छ ।’

निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठका अनुसार, यो अवधिमा पहिलेको धावनमार्ग प्रवेश गर्ने अल्फा ट्याक्सीवेदेखि माथि अब दुइटा नयाँ ट्याक्सीवे थप भएका छन् । अबको केही समयपछि उत्तरतर्फ सारिने अन्तर्राष्ट्रिय एप्रोनमा पस्न र निस्कीन ठूला जेट विमानले नयाँ ट्याक्सीवे प्रयोग गर्ने छन् । उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका एसोसिएटेड कार्यको विस्तार गर्नुपरेकाले चैत १९ (अप्रेल १ तारिख)मा उत्तरी विन्दुबाट जहाज अवतरण गर्न रोक लगाइएको थियो ।

त्यसताका निमार्णमा संलग्न कम्पनीले यो नियम तीन महिना लागू हुने भनेका थिए । तर ७७ दिनमै दुवै ट्याक्सीवेको काम सम्पन्न भएको निर्देशक श्रेष्ठले बताए । उनका अनुसार, उत्तरतर्फको धावनमार्गमा समानान्तर ट्याक्सी–वे निर्माणले काठमाडौं विमानस्थलको धावनमार्गको क्षमता थप वृद्धि हुने छ । अब चालकदलले जहाजलाई उत्तरतर्फको अल्फा ट्याक्सी–वेबाट माथि थ्रेसहोल्डसम्मै लैजान पाउने छन् । अन्तर्राष्ट्रिय वायुसेवाले यात्रु र कार्गोको तौल घटाउनु पर्ने नियम पनि हटेको छ ।

काठमाडौं विमानस्थलले वार्षिक १ करोड यात्रुलाई सेवा दिलाउने उद्देश्यले सन् २०१६ को एसियाली विकास बैंकको गुरुयोजना अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १६ वटा न्यारोबडी पार्किङ गर्न एप्रोन, तीन किलोमिटर लामो धावनमार्गका दुवै विन्दुबाट जहाज पस्न–निस्कन इन्ड–टू–इन्ड प्यारलल ट्याक्सी–वे, जहाज मर्मत गर्न ह्यांगर लगायतका भौतिक पूर्वाधार तथा निर्माण कार्य भइरहेको छ ।

गुरुयोजना अनुसार विमानस्थलको स्तरोउन्नतिको काम गर्न १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक-फरक विदेशी निर्माण व्यवसायीहरु काम गर्दै आइरहेका छन् ।

प्रकाशित : असार २, २०८१ २३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?