पहिरोमा पुरिएर कास्कीमा दुई बालबालिकाको मृत्यु, पृथ्वी राजमार्ग भासियो

असार १२, २०८१

दीपक परियार

Two children killed in landslide, Prithvi highway washed away in Kaski

पोखरा — रातभरको अविरल वर्षाका कारण आएको पहिरोले घर पुर्दा कास्कीमा बुधबार एक बालक र एक बालिकाको निधन भएको छ । एक महिला गम्भीर घाइते भएकी छन् । 

बिहान ०२:१५ बजे कास्कीको मादी गाँउपालिका-५ चितेपानी घुम्तीस्थित प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घर माटोको ढिस्को खसेर पुरिँदा १३ वर्षीया आयुष्मा रानाभाटको निधन भएको हो ।

घरमा ७० वर्षीया हजुरआमा लालमाया बञ्जारी र उनी मात्रै सुतेको अवस्थामा पहिरो खसेको थियो । पहिरोले घर पुरिएको सूचना प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय सिसुवाबाट प्रहरी टोली खटिएर उद्धार कार्यमा जुटेको थियो । लालमायाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले बताए  

बिहान ३ बजे पोखरा महानगरपालिका-२७ आरूपाटामा हरि सुनारको ढुंगा माटोले बनेको २ कोठाको कच्ची घर पहिरोले पुरिँदा उनको छोरा  ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको छ । हरिकी श्रीमती २७ वर्षीय रितु सुनार गम्भीर घाइते भएकी छन् । 'उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ, अवस्था सिरीयस रहेको छ,' प्रवक्ता शर्माले भने । हरि र उनकी छोरी ९ वर्षीया अञ्जली सुनारको सकुसल उद्धार गरिएको र घरमा पूर्ण रूपमा क्षति पुगेको उनले बताए ।

पृथ्वी राजमार्ग सडक खण्ड भासियो 

अविरल वर्षापछि बिहान ६:३० बजे  पोखरा महानगरपालिका वडा-१४ चाउथे आनन्द टोलस्थित घट्टेकुलोमा पानीको बहाव बढ्दा पृथ्वी राजमार्ग सडक खण्ड भासिएको हो । झन्डै ५ मिटर लम्बाइ र १.५ मिटर चौडाइ सडक घट्टेकुलोको पानीले काटेको छ । उक्त स्थानदेखि १० मिटर अगाडि सडक खण्डमा अर्कोतर्फको ७ मिटर लम्बाइ र १ मिटर चौडाइ भासिएर खसेको छ । हाल सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको र अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

पाँच घर डुबानमा

बिहान ६:३० बजे पोखरा-७ गैरीखेतमा दुई घर डुबानमा परेको छ । सथानीय कुमार सुनार र रेशम गुरूङको घरमा डुबानमा परेको हो । डुबानले जनजीवन प्रभावित पारेको छ । उक्त घरमा प्रहरीले मोटरद्वारा पानी तानेर उद्धार कार्य गरिहेको छ । 

बिहान ३ बजे पोखरा-३३ बागमारास्थित सिप्लिङतारा टोलमा अविरल बर्षा पछि तीन घर डुबानमा परेको छ । स्थानीय राम्जी बास्तोला, सुमन विक र बाबुराम बस्नेतको घर डुबानमा परेको हो । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

बाढीपहिरो

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully