म्याग्दी — कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा झरेका ९ वटा ‘जोखिमयुक्त’ पहिरोमध्ये ४ वटालाई ‘अति जोखिमयुक्त’ घोषणा गरेको छ ।
आयोजनाका अनुसार बेनी–लेते ३८ किलोमिटर खण्डमा ३५ वटा सानाठूला पहिरा छन । तीमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा हुन । त्यसैगरी गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभीर जोखिमपूर्ण पहिरा हुन ।
‘बेनी–जोमसोम–कोरोला सडकको म्याग्दी खण्डमा पर्ने ३८ किमी सडक खण्डमा पर्ने पहिरामध्ये ९ वटा पहिरोमा मनसुन सिजनमा यात्रा जोखिमपूर्ण छ । अझ चार वटा त अति खतरापूर्ण पहिरा हुन’ मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजना इन्जिनियर विष्णु चापागाईंले भने, ‘यी स्थानमा पानी पर्नेबित्तिकै पहिरो खस्ने भएकोले मनसुन अवधिभरका लागि एक्स्काभेटर र लोडर स्ट्यान्डबाई राखेका छौं । यो सडकमा यात्रा गर्दा अलि सचेत हुनु पर्ने हुन्छ ।’
मनसुन सुरु भएपछि बेनी–लेते खण्डका यी पहिरोहरूले दिनमा कहीँ न कहीँ यातायात अवरुद्ध हुन्छन् । पहिरोग्रस्त भिरमाथिबाट पानी पर्दा निरन्तर लेदो र ढुङ्गा खस्ने भएकोले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन् ।
अन्नपूर्ण र धौलागिरी हिमालको बीचबाट बग्ने कालीगण्डकी नदी कटानले संसारकै गहिरो ‘अन्धगल्छी’ चट्टानी पहिरोको उच्च जोखिम क्षेत्र हो । र यही अन्धगल्छीबाट कालीगण्डकी नदी किनारै किनार राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक सडक विस्तार कार्यक्रम चालु छ । यो क्षेत्र कालीगण्डकी नदी तटीय बस्तीका लागि सँधैको त्रास पनि हो ।
‘बेनी–जोमसोम सडकमा पर्ने पहिरोहरूको ट्रिटमेन्ट नगर्ने हो भने, उत्तरदक्षिण यस राजमार्गको भविष्य संकटमा रहेकोले जियोलोष्टिहरुबाट पहिरोको अध्ययन भइरहेको छ,’ बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख ध्रुव झाले भने, ‘अति जोखिमयुक्त मानिएका बैसरी, सिरुवारी, गुइठे र खामभित्ता पहिरोमा जमिनभित्र मूल निक्लने र भित्रभित्र बग्ने समस्या रहेकोले अति कम्प्लेक्स देखिएकोले पहिरोभित्र पाइप छिराएर होरिजेन्टल ड्रेनमार्फत जमिनभित्रको पानी बाहिर निकाल्ने योजना छ ।’
आयोजनाले १० वटा पहिरोको रोकथाम गर्न औसत ६ करोडको दरले ६० करोड रुपैयाँभन्दा बढी लागत लाग्ने पूर्वानुमान गरेको छ । यद्यपि पहिरोहरुको भौगर्भिक अध्ययन चलिरहेकोले लागत इस्टिमेट तथा डीपीआर भने निर्माण भइसकेको छैन ।
