सिन्धुली — अविरल वर्षापछि झरेको पहिरोको कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत तीन ठाउँमा बुधबार अवरुद्ध सडक पहिरो पन्छाएपछि एकतर्फी संचालनमा आएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ को कुँडुले, वडा नं ६ को अक्करे भीर र फिक्कलको सुम्नामवेँसीमा पहिरोका कारण अवरुद्ध भएको सडकलाइ गोलन्जोर गाउँपालिका र यान्त्रिक कार्यालयको मेशिन प्रयोग गरि प्रहरीले एकतर्फी यातायात संचालनमा ल्याएको हो ।
यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्लाहरु ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटामै अलपत्र परेका थिए । यान्त्रिक कार्यालय मुलकोट र गोलन्जोर गाउँपालिकाको सहयोगमा जेसीबी मगाएर बुधबार बिहानदेखि नै पहिरो पन्छाउने काम गरेर साँझपख एकतर्फी संचालनमा ल्याएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
सडकमा झरेको पहिरो अस्थायी तबरले पन्छाएर यातायात संचालनमा ल्याएपनि जुनसुकै बेला खसेर अवरुद्ध हुने संभावना रहेको प्रहरीले जनाएको छ ।
