लमजुङ — बेंसीसहर नगरपालिका १, उदिपुरको दलाल क्षेत्र नेपाली सेनाको ब्यारेक जाने गेटनजिकै लेदोसहितको पहिरो खसेपछि बेंसीसहर–डुम्रे सडक अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान ६ बजेतिर खसेको पहिरोले सडक अवरुद्ध भएको हो । मनाङसहित लमजुङबाट संघीय राजधानी काठमाडौं, प्रदेश राजधानी पोखरा साथै चितवन आउजाउ गर्ने एकमात्र सडक अवरुद्ध भएपछि सवारी आवागमन रोकिएको छ ।
काठमाडौं–पोखरा–चितवन जाने भन्दै गएका सवारी साधनहरू बीचबाटोमै रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख वरिष्ठ सई प्रदीप अधिकारीले लेदोसहितको पहिरोले दलाल क्षेत्रमा सडक अवरुद्ध बनाएको बताए । उनका अनुसार उदिपुरअगाडि अँधेरीखोला र बेंसीसहरतर्फ गैरीको खेलामा पनि बाढीले बगाएर ल्याएको गेग्रानले सडक असहज बनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले रातीदेखि पानी परिरहेको र यसले बेंसीसहर–डुम्रे सडकको लमजुङ खण्डको दलालसहितका ठाउँमा पहिरो गएको बताए । उनले पानी परिरहेको र पानी पर्न रोकिनासाथ सडक खुलाइने बताए । पहिरो झरेको ठाउँतर्फ सडक खुलाउन मेशिनरी सामग्री भने पठाइसकिएको प्रहरीले बताएको छ ।
