सन् २००० मा आजकै दिन : दुई कोरियाबीच ऐतिहासिक वार्ता

काठमाडौँ — सन् २००० मा आजकै दिन (जुन १३) मा उत्तर र दक्षिण कोरियाबीच ऐतिहासिक वार्ता भएको थियो । दक्षिण कोरियाली राष्ट्रपति किम दाए–जंग र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–इलबीच प्योङयाङमा भेटवार्ता भएको थियो ।

सन् २००० मा आजकै दिन : दुई कोरियाबीच ऐतिहासिक वार्ता

राष्ट्रपति किमले दुई कोरियाबीचको पहिलो शिखर सम्मलेन सुरु गर्ने क्रममा उत्तर कोरियाली राजधानी प्योङयाङ पुगेका थिए । दुई देशबीचको शिखर वार्ता तीन दिनसम्म चलेको थियो । दक्षिण कोरियाली राष्ट्रपति किम दाए–जंगको पहलमा १९५०–१९५३ को कोरियाली युद्धपछि दुई कोरियाबीच पहिलो शिखर वार्ता सम्भव भएको हो ।

१९४५ अगस्ट १५ मा अमेरिकी नेतृत्वको फौजसँग जापान पराजित भएसँगै कोरिया स्वतन्त्र भएको थियो । उत्तरमा सोभियत संघ र दक्षिणमा अमेरिकाको प्रभाव थियो । १९४५ डिसेम्बरमा मस्कोमा भएको छलफलमा कोरियाको भविष्यबारे निर्णय लिन एक आयोग गठन गर्ने र कोरियामा एकल सरकार बनाउने सहमति भयो ।

तर पटकपटक भएका आयोगका बैठकले सरकार गठनबारे निर्णय लिन नसकेपछि अमेरिकाले दक्षिण कोरियामा चुनाव गरायो । त्यसपछि उत्तर कोरियामा कम्युनिष्ट सरकार बन्यो । उत्तर र दक्षिण कोरियालाई राष्ट्रसंघले स्वतन्त्र राष्ट्रका रूपमा मान्यता पनि दियो ।

तर दुई कोरियालाई एकीकरण गर्ने भन्दै उत्तर कोरियाली नेता किम इल–सुङले १९५० जुन २५ मा आक्रमण सुरु गरे । युद्धका क्रममा करिब २५ लाख मानिस मारिएपछि १९५३ जुलाई २७ मा दुवै कोरियाबीच युद्धविराम भएको हो ।

प्रकाशित : जेष्ठ ३१, २०८१ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x