कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

२४ वर्षपछि प्योङयाङमा पुटिन

दुई वर्षदेखि युक्रेनसँग जुधिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पछिल्लो समय पश्चिमा देशको घेराबन्दीमा छन् । अमेरिका र जी–७ राष्ट्रले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाइसकेका छन् । यही सन्दर्भमा उत्तर कोरिया भ्रमणमा निस्किएका पुटिनले प्योङयाङबाट सैन्य सहयोगको निरन्तरताको अपेक्षा गरेका छन् ।

काठमाडौँ — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उमेर उत्तर कोरियाली नेता किम जोङ–उनको भन्दा झन्डै दोब्बर छ । पुटिन आगामी अक्टोबरमा ७२ वर्ष लाग्दै छन् । पुटिन उमेरले मात्र पाका छैनन्, शासनसत्ता सञ्चालनमा पनि निकै खारिएका छन् । पूर्वजासुसबाट प्रधानमन्त्री हुँदै २००० मा राष्ट्रपति बनेका पुटिनले त्यसयता निरन्तर रुसमा शासन गरिरहेका छन् । 

२४ वर्षपछि प्योङयाङमा पुटिन

किम भने भर्खर ४० वर्षका भए । उनी आफ्ना बुबाको मृत्युपछि २०११ को अन्त्यमा उत्तर कोरियाको सर्वोच्च नेता बनेका थिए । त्यसयता निरन्तर सत्तामा छन् किम । पुटिनको तुलनामा झन्डै आधा उमेरका किमको शासनसत्ता सञ्चालनमा आधा समयको अनुभव छ ।

‘हजुरबुबा–नाति’ यी दुई नेताबीचको सम्बन्ध भने एक दशकभन्दा लामो समयदेखि निकै सौहार्द छ । किम गत सेप्टेम्बरमा पुटिनलाई भेट्न रुस पुगेका थिए । दुई नेताबीच रुसको भोस्तोच्नी कोस्मोड्रोममा भेटवार्ता भएको थियो । त्यतिबेला किमले पुटिनलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका थिए ।

त्यही निम्तो स्विकार गरेका पुटिन उत्तर कोरियाको बहुप्रतीक्षित भ्रमणमा निस्किएका छन् । रुसी राष्ट्रपतिको कार्यालय क्रेमिलनले पनि पुटिन प्योङयाङ भ्रमणका लागि निस्किएको पुष्टि गरेको छ । रुसी राष्ट्रपति पुटिनले २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । यसअघि उनी २००० मा उत्तर कोरियाली राजधानी प्योङयाङ पुगेका थिए । त्यतिबेला भने उत्तर कोरियामा किम जङ इल (किम जोङ–उनका बाबु) को शासन थियो ।

७२ वर्षीय रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शासन सत्ता सञ्चालनमा निकै खारिएका नेता हुन् । भर्खर ४० वर्ष पुगेका किम जोङ–उन २०११ यता उत्तर कोरियाको सत्तामा छन् । ‘हजुरबुबा–नाति’ पुस्ताका यी दुई नेताबीचको भेटवार्ताको विषय भने अहिले विश्वकै लागि चासोको विषय बनेको छ ।

पुटिनको २४ वर्षपछिको भ्रमण भने केही फरक अवस्थामा हुन लागेको छ । रुस दुई वर्षभन्दा लामो समयदेखि युक्रेनसँग युद्धको अवस्थामा छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको मंगलबार ८ सय ४६ दिन पुगेको छ । २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता पुटिन पश्चिमा देशबाट घेराबन्दीमा छन् ।

रुसले केही दिनमै युक्रेनलाई पूर्ण रूपले कब्जामा लिने र आफूअनुकूल शासनसत्ता स्थापित गर्ने ठानिएको थियो । तर युक्रेन मामिला पुटिनले सोचेभन्दा बिल्कुल फरक रूपमा विकसित भएको देखिएको छ । आक्रमणका क्रममा रुसले युक्रेनका दोस्रो ठूलो सहर खर्किभसहित दोनेत्स्क खेर्सन, लुहान्स्क र माइकोलेइभ नियन्त्रणमा लिएको थियो । तर केही दिनयता युक्रेनी फौजले कतिपय सहरबाट रुसी सेनालाई पछि हट्न बाध्य बनाएको युक्रेनको दाबी छ ।

युक्रेनलाई सैन्यलगायतका सहायता रोकेको अमेरिकाले पुनः हतियार दिन थालेको छ । मे अन्त्यमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा निर्मित हतियारले रुसी भूमिमा आक्रमण गर्न अनुमति दिएसँगै युक्रेनले क्राइमियाको सैन्य संरचनामा पनि आक्रमण तीव्र पारेको जनाइएको छ । क्राइमियालाई रुसले २०१४ मा कब्जा गरेको थियो ।

प्योङयाङस्थित सुनाम अन्तर्राष्ट्रिय विमानस्थलमा रुसी राष्ट्रपति पुटिनलाई स्वागत गर्दै उत्तर कोरियाली नेता किम । तस्बिर : तास

त्यस्तै, यही जुन १३ देखि १५ सम्म इटालीमा आयोजित पश्चिमा राष्ट्रहरूको समूह ‘जी–७’ सम्मलेनमा युक्रेनलाई ५० अर्ब डलर सहायता दिन सहमति जुटेको छ । रुसको केन्द्रीय बैंकले राखेको तीन सय अर्ब डलरभन्दा बढी सम्पत्तिबाट युक्रेनलाई सहायता गर्न जी–७ राष्ट्रहरू सहमत भएका हुन् । सम्मेलनका दौरान अमेरिकी राष्ट्रपति बाइडेनल युक्रेनलाई हतियार, गोप्य सूचना र प्रविधि सहयोग गर्न सहमत भएका छन् ।

यही सन्दर्भमा हुन लागेको पुटिनको उत्तर कोरिया भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ । भ्रमणको पूर्वसन्ध्यामा रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियाली नेता किमको खुलेर प्रशंसा गरेका छन् । युक्रेन युद्धका सन्दर्भमा उत्तर कोरियाले गरेको सहयोग निकै महत्त्वपूर्ण भएको पुटिनको भनाइ छ ।

यसको अर्थ उनले उत्तर कोरियाबाट आगामी दिनमा पनि सैन्य सहयोगको निरन्तरताको अपेक्षा गरेको बेलायती समाचार संस्था गार्जियनले जनाएको छ । उत्तर कोरियाले रुसलाई सोभियत संघताका विकसित दसौं लाख तोप तथा हतियार सहयोग गरेको छ ।

गत महिना अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले उत्तर कोरियाली हतियार र इरानी ड्रोनले रुसी सेनालाई ‘आफ्नो खुट्टामा उभिन सहयोग गरेको’ बताएका थिए । त्यसका साथै, उत्तर कोरियाले रुसलाई बलिस्टिक क्षेप्यास्त्र र विद्युतीय उपकरणहरू उपलब्ध गराउँदै आएको छ ।

त्यसको बदलामा पुटिन र किमबीच उत्तर कोरियाको अत्याधुनिक हतियार आदानप्रदान र आणविक योजनाका विषयमा महत्त्वपूर्ण सम्झौता हुने ठानिएको छ । त्यस्तै, रुसले उत्तर कोरियाको स्याटेलाइट कार्यक्रमलाई सहयोग प्रदान गर्ने विश्वास लिइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन । तस्बिर : तास

अन्तरिक्ष प्रविधिमा अब्बल रहेको रुसको सहयोग उत्तर कोरियालाई सफलतापूर्वक भूउपग्रह प्रक्षेपण गर्ने कार्यका लागि निकै महत्त्वपूर्ण हुनेछ । उत्तर कोरियाले आफ्ना निगरानी उपग्रहहरूको क्षमता सुधार गर्न र आणविक पनडुब्बीको विकास गर्न रुसको सहायता खोज्ने अनुमान गरिएको छ । उनी आणविक अस्त्रको विषयमा कुनै पनि छलफल सार्वजनिक नहुने सम्भावना धेरै रहेको बताउँछन् ।

दुई नेताबीचको छलफल परम्परागत हतियारको कारोबारमा मात्रै सीमित नहुने अनुमान पनि गरिएको छ । किम र पुटिन दुई देशबीच सैन्य सहकार्यलाई लिएर केही सम्झौता हुने सम्भावना छ । त्यसमा संयुक्त रूपमा हतियार प्रणाली विकसित गर्नेदेखि रुसलाई हतियार उपलब्ध गराउँदा कोरियाले खाद्यान्न र इन्धनबाहेक अन्य आवश्यक सामग्री खोज्न सक्ने पनि देखिएको छ । त्यसकारण दुई नेताबीच आर्थिक, कृषि, पर्यटन र सांस्कृतिक क्षेत्रमा समेत केन्द्रित हुने ठानिएको छ ।

दक्षिण कोरियास्थित ‘युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिज’ का प्राध्यापक किम डङ–युपका अनुसार दुई नेताबीचको भेटवार्ताका क्रममा विस्तृत बहस हुने र परिणाम आउने भन्दा पनि सामान्य कार्यक्रम बीबीसीले उल्लेख गरेको छ । पछिल्लो समय रुस दक्षिण कोरियासँगको सम्बन्ध सुधार गर्ने पक्षमा देखिएकाले पनि उत्तर कोरियासँगको सम्बन्ध विस्तार नगर्ने अनुमान पनि कतिपयको छ ।

कोरिया युनिभर्सिटीको एकीकरण र कूटनीति विभागमा प्राध्यापन गर्ने नम सङ–वुक उत्तर कोरियामा निर्मित कति हतियार रुसमा पठाइन्छ भन्ने विषयमा दुई नेताबीच मुख्य रूपमा कुराकानी हुने बीबीसीसँग बताएका छन् । पछिल्लो समय रुसी राष्ट्रपति पुटिन युक्रेनमा भित्रिइरहेका पश्चिमा हतियार र तिनले रुसको मुख्य भूमिमा बढाएको त्रासलाई लिएर संवेदनशील देखिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । पुटिनले आणविक हतियार प्रयोग हुन सक्ने सम्भावनातर्फ पनि केही संकेत गरेका छन् ।

तर कोरियाली द्वीप र उत्तरपूर्वी एसियामा आणविक सहकार्य वा आणविक हतियारको वितरण भएमा यसले छिमेकी देशका साथै अमेरिकाबाट पनि विरोध हुने निश्चित छ । त्यसैले यी विषयबारे दुई नेताबीच छलफल हुने सम्भावना भने कमै छ । दुई मुलुकबीच आर्थिक सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल हुने सम्भावना छ । खासगरी उत्तर कोरियाले रुसमा कामदार पठाएर विदेशी मुद्रा आर्जन गर्न चाहेको कतिपयको विश्लेषण छ । रुसलाई पनि युद्धका कारण क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण गर्न जनशक्ति आवश्यक भएकाले पनि यस विषयमा दुई पक्षबीच सहमति हुने देखिन्छ ।

युक्रेनसँगको युद्धमा सैनिक परिचालन र युवाहरूको विदेश पलायनका कारण रुसमा कामदारको अभाव छ । त्यस्तै राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रतिबन्धका कारण उत्तर कोरियाले आफ्ना नागरिकलाई कामका लागि विदेशमा पठाउन रोकेको छ । त्यस्तै, कोभिड महामारीसँगै रुसले आफ्ना नागरिकलाई उत्तर कोरियाको सामूहिक भ्रमण गर्न लगाएको प्रतिबन्ध हालै खोलेको छ । जसका कारण पर्यटनसम्बन्धी मुद्दाले पनि प्राथमिकता पाउने बीबीसीले उल्लेख गरेको छ । विदेशी पर्यटकको भ्रमणले उत्तर कोरिया बन्द र जोखिमपूर्ण देश भन्ने अन्तर्राष्ट्रिय समुदायमा रहेको छवि परिवर्तन गर्न सहयोग पुर्‍याउने भएकाले पनि किम यसमा इच्छुक देखिन्छन् ।

दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार उत्तर कोरियाले पुटिनको स्वागतका लागि भव्य तयारी गरेको छ । दक्षिण कोरियाली अधिकारीहरूले स्याटेलाइटबाट लिइएको तस्बिरका आधारमा पुटिनको स्वागतका लागि प्योङयाङमा तयारी चलिरहेको पुष्टि गरेका हुन् । रुसी सञ्चारमाध्यमहरूका अनुसार उत्तर कोरियापछि पुटिनले भियतनामको समेत भ्रमण गर्ने जनाएका छन् ।

अमेरिकाले भने उत्तर कोरिया र रुसबीचको बढ्दो घनिष्ठ सम्बन्ध चिन्ताजनक रहेको बताएको छ । रुसी सञ्चारमाध्यमहरूले भने पुटिन ‘मैत्रीपूर्ण राजकीय भ्रमण’ मा उत्तर कोरिया जाने बताएका छन् । प्योङयाङ भ्रमणको पूर्वसन्ध्यामा रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग मिलेर विभिन्न देशहरूले लगाएको नाकाबन्दी प्रतिरोध गर्ने बताएका छन् ।

पुटिनको स्वागतका लागि नेता किम सुनाम अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेको रुसी समाचार संस्था तासले जनाएको छ । पुटिनलाई प्योङयाङस्थित कुमसुसान गेस्ट प्यालेसमा राख्ने तयारी छ जहाँ २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई समेत राखिएको थियो । वरिपरि ताल र जंगलले घेरेर बनाइएको उक्त दरबार विदेशी विशिष्ट पाहुनाहरूलाई राख्नका लागि बनाइएको बताइएको छ । उक्त दरबार सीको भ्रमणअघि नै तयार भएको एनके न्युजले दाबी गरेको छ ।

सीको भ्रमणका बेला उत्तर कोरियाली टेलिभिजनहरूबाट दरबार परिसर र भित्रका दृश्यहरू सार्वजनिकसमेत भएको थियो । यो दरबार बन्नुअघि भने उत्तर कोरियाले विदेशी पाहुनालाई बाएख्वावोन गेस्ट प्यालेसमा राख्ने गर्थ्यो । उक्त प्यालेसमा दक्षिण कोरियाका तत्कालीन राष्ट्रपतिहरू किम दाई जुङ, रोह मु ह्युन्, मुन र जापानका पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीलाई समेत राखिएको थियो । त्यस्तै अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन पनि सोही दरबारमा बसेका थिए ।

प्योङयाङमा पुटिन र उनको टिमको स्वागतमा सांस्कृतिक कार्यक्रम र सैन्य परेडसमेत हुने बताइएको छ । प्लानेट ल्याबका अनुसार किम इल सुङ स्क्वायेरमा सैन्य परेडका लागि भव्य तयारी गरिएको छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : असार ५, २०८१ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×