विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायती जेलबाट रिहा

असार ११, २०८१

कान्तिपुर संवाददाता

WikiLeaks founder Julian Assange released from British prison

काठमाडौँ — विकिलिक्सका संस्थापक जुलियन असान्ज ५ वर्षपछि बेलायतको जेलबाट रिहा भएका छन् । अमेरिकी अधिकारीहरूसँग एउटा सम्झौता गरेपछि असान्ज बेलायती जेलबाट रिहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । जेलबाट रिहा भएलगत्तै असान्ज बेलायतबाट अस्ट्रेलियातर्फ हिँडिसकेको बीबीसीले जनाएको छ ।

अमेरिकासँग भएको सम्झौताअनुरूप अस्ट्रेलियाली नागरिक असान्जले अमेरिकी अदालतमा उपस्थित भएर आफूमाथि लागेको अपराध स्वीकार्नुपर्ने छ । यही बुधबार प्रशान्त महासागरमा अवस्थित नर्दन मारियाना आइल्यान्ड्सको एक अदालतमा उपस्थित भएर असान्जले अपराध स्वीकार्ने सहमति भएको बीबीसीको समाचारमा उल्लेख छ । असान्जलाई अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी अति गोप्य सूचना अनधिकृत रूपमा प्राप्त गरेको र ती सूचनाहरू चुहाएको अभियोग लगाइएको छ । 

— WikiLeaks (@wikileaks) June 25, 2024

सन् २०१९ मा अमेरिकी सरकारले विकिलिक्सका संस्थापक असान्जमाथि विभिन्न १८ वटा आरोप लगाएको थियो । इराक र अफगानिस्तान युद्धसम्बन्धी अति गोपनीय सूचनाहरू सार्वजनिक गर्दा कैयौँ मानिसको जीवन नै खतरामा समेत परेको अमेरिकी सरकारको दाबी थियो । असान्जले भने आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको बताउँदै आएका थिए । आफूले गरेका काम पत्रकारिता नै रहेको उनको दाबी छ । विकिलिक्सले समेत सामाजिक सञ्जाल एक्समा असान्ज रिहा भएको जानकारी पोस्ट गरेको छ । लन्डनस्थित उच्च अदालतले असान्जलाई रिहा गरेको विकिलिक्सले जनाएको छ । असान्ज करिब ५ वर्ष बेलायती जेलमा रहे । विश्वव्यापी दबाबका कारण असान्ज रिहा भएको समेत विकिलिक्सको दाबी छ ।

सन् २००६ मा स्थापना गरेको ‘विकिलिक्स’ मार्फत नै असान्जले वेब दुनियाँमा तहल्का मच्चाएका थिए ।  उनले सन् २००८ देखि आफूले स्थापना गरेको ‘विकिलिक्स’ मार्फत लाखौं अति गोप्य सूचनाहरूलाई सार्वजनिक गरिदिँदै आएका थिए । उनले पटकपटक गरेर विश्वका ठूला तथा साना शक्ति राष्ट्रहरूको अत्यन्तै गोप्य सूचनालाई सर्वसाधारणसामु सार्वजनिक गरेर तरंग ल्याएका थिए ।

असान्ज पत्रकार हुन् वा होइनन् भन्ने विवादसमेत चल्दै आएको छ । केहीले उनलाई सर्वसाधारणको चासोको सूचना तथा जानकारी सार्वजनिक रूपमा अघि ल्याएको भन्दै पत्रकारको रूपमा चित्रित गर्छन् भने कोही असान्जले ‘विकिलिक्स’ मार्फत दिने गरेको कार्यहरू पत्रकारिताको क्षेत्रभित्र नपर्नेसमेत व्याख्या गर्छन् ।

तर पनि असान्जले आफू जन्मिएको देश मात्र नभएर सन् २००९ मा यूकेको प्रतिष्ठित एम्नेस्टी इन्टरनेसनल मिडिया अर्वाडसमेत जितेका छन् । उनले सिड्नी पिस फाउन्डेसनबाट ‘गोल्ड मेडल फर पिस’ जितेका छन् भने अस्ट्रेलियन जर्नालिस्ट युनियनको मानार्थ सदस्य हुन् । त्यति मात्र नभएर उनले सन् २००८ देखि नै विश्वभरिबाट विभिन्न अवार्ड तथा सम्मान पाइसकेका छन् ।

कान्तिपुर

Link copied successfully