कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आन्तरिक आम्दानी खुम्चिँदा ६२ करोड घट्यो वीरगन्जको बजेट

आगामी आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाख बजेट विनियोजन
शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट ल्याएको छ । १५औं नगरसभामार्फत शनिबार महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो ।

आन्तरिक आम्दानी खुम्चिँदा ६२ करोड घट्यो वीरगन्जको बजेट

चालु आर्थिक वर्षमा महानगरको बजेट (संशोधितसहित) ३ अर्ब ५१ करोड रुपैयाँको छ । यसरी चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ६२ करोडले घटेर आएको हो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरका उपप्रमुख इम्तियाज आलमले चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको बताए । संघीय सरकारको राजस्व असुलीमा आएको संकुचनका कारण राजस्व बाँडफाँट घट्न गएको, घरजग्गा कारोबारमा आएको मन्दीका कारण घरजग्गा रजिस्ट्रेसन आयस्रोतसमेत घट्न जाँदा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनुपरेको उनको भनाइ छ ।

प्रदेश सरकारबाट ससर्त अनुदान र विशेष अनुदानका रूपमा थप अनुदान रकम प्राप्त हुन नसक्दा समग्रमा राजस्व परिचालन लक्ष्यअनुरूप हुन नसकेर पनि काम गर्न कठिन भएको उनले बताए । चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाउने गरी विशेष कार्यक्रम समेटिएको आलमले बताए । आगामी आर्थिक वर्षमा चालु खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख रुपैयाँ अर्थात् ७० दशमलव ७ प्रतिशत छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार रुपैयाँ अर्थात् २८ दशमलव १ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि महानगरले खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख रुपैयाँ, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख रुपैयाँ छ । त्यसैगरी प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड ३५ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट २ करोड २८ लाख रुपैयाँ र नगद मौज्दातबाट १० करोड रुपैयाँ खर्च बेहोर्ने गरी बजेट व्यवस्थापन गरिएको छ ।

प्रकाशित : असार ९, २०८१ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×