कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

उद्योग मन्‍त्रालयद्वारा ३ स्टार्टअप पुरस्कृत

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन वटा स्टार्टअप कम्पनीलाई पुरस्कृत गरेको छ । मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा उद्योगमन्त्री दामोदर भण्डारीले ३ वटा नवप्रवर्तनकारी उद्यमलाई नगद दुई लाख रुपैयाँसहित पुरस्कृत गरेको हो । 

उद्योग मन्‍त्रालयद्वारा ३ स्टार्टअप पुरस्कृत

उत्कृष्ट भएका हाइ हिमालय अर्गानिक (झापा), माउन्टेन बी कन्सर्न (ललितपुर) र आवास फर्निचर इन्डस्ट्रिज (रुपन्देही)लाई पुरस्कार दिइएको हो । मन्त्रालयले नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धी मापदण्ड, २०८० अनुसार नवप्रवर्तनकारी कार्यमा संलग्न उद्यमीलाई ३० दिनको समयसीमा दिई सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरेको थियो । उक्त अवधिमा ६ वटा प्रस्ताव परेको थियो ।

मन्त्रालयले प्रस्ताव मूल्यांकनका लागि मापदण्डबमोजिम औद्योगिक पूर्वाधार महाशाखा प्रमुखको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको थियो । प्राप्त कागजातका आधारमा पूर्वमूल्यांकन गरेको थियो ।

नेपालभित्रै मूल्य सिर्जना वा नविनता हासिल अनुसन्धान तथा खोजमूलक कार्यमा गरेको लगानीको अवस्था, उद्योगमा प्राविधिक र विषय विज्ञको संलग्नता, उद्योगका भावी कार्ययोजना, उद्योग संचालन, व्यवस्थापन र बजारीकरणको नविनतम रणनीति, उद्योग स्थापना गरेको क्षेत्र, रोजगारी प्रदान गरेको संख्या, पेटेन्ट, डिजायन र ट्रेडमार्क दर्ताको अवस्था, उद्योगले गरेको कारोबार रकम र कर चुक्ताजस्ता विषयलाई मूल्यांकनको आधार बनाइएको थियो ।

प्रस्तावहरुको पूर्वमूल्यांकनपश्चात् ६ वटै प्रस्तावकहरुको उद्योगमा स्थलगत अनुगमन तथा निरीक्षण गरिएको थियो । स्थलगत अनुगमनको मूल्यांकन र पूर्वमूल्यांकनबाट प्राप्त अंकलाई औसतमा निकाली अन्तिम अंकभार निकालिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : असार १३, २०८१ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×