कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आइफोन उत्पादक फक्सकनले भारतमा विवाहित महिलालाई रोजगारी नदिने

एजेन्सी

काठमाडौँ — एप्पलका आइफोन लगायत डिभाइस निर्माण र वितरण गर्दै आएको ताइवानी बहुराष्ट्रिय कम्पनी फक्सकनले भारतस्थित आफ्नो प्लान्टमा विवाहित महिलालाई रोजगारी नदिने जानकारी बाहिरिएसँगै भारतमा यसले ठूलो तरंग सिर्जना गरेको छ । रोयर्टसले मंगलबार सार्वजनिक गरेको खोज समाचारमा चेन्नइस्थित फक्सकनले पारिवारिक दायित्व सम्हाल्नुपर्ने भएकाले विवाहित महिलालाई जागिर नदिने गरेको विषय उल्लेख थियो ।

आइफोन उत्पादक फक्सकनले भारतमा विवाहित महिलालाई रोजगारी नदिने

कम्पनीले भारतका हजारौं महिलालाई रोजगारी दिएको भए पनि वैवाहिक स्थितिका आधार विभेदपूर्ण व्यवहार गर्दै आएको रोयटर्सले जनाएको छ । ‘जनवरी २०२३ देखि मे २०२४ सम्म रोयर्टसले स्रीपेरुम्बुदुरको २० पटकभन्दा बढी यात्रा गरेर दर्जनौं महिला र जागिर खोज्नेहरूसँग फक्सकनको नियुक्ती प्रक्रियाबारे कुराकानी गरेको थियो,’ रोयटर्सले लेखेको छ, ‘आवेदन दिनेहरूका विवरण, रोजगारीसम्बन्धी कम्पनीका विज्ञापन र व्हाट्सएप छलफलहरूको समीक्षा गर्दा फक्सकनका तेस्रो-पक्ष रिक्रुटरमध्ये चारले केबल अविवाहित महिलाहरू एसेम्बली कारखानाको कामका लागि योग्य हुने बताएको पाइएको छ ।’ विज्ञापनमा पुरुष उम्मेदवारको हायरिङ प्रक्रियाबारे उल्लेख नभएको पनि रोयटर्सले खुलाएको छ ।

यो समाचारलाई लिएर भारत सरकारले पनि चासो व्यक्त गरेको छ । सरकारले तमिल नाडु राज्यलाई आइफोन एसेम्ब्ली प्लान्टमा विवाहित महिलालाई जागिर नदिने विषयमा विस्तृत विवरण माग गरेको इन्डिया टुडेले जनाएको छ । संघीय श्रम तथा रोजगार मन्त्रालयका अनुसार महिला र पुरुष कामदार भर्ती गर्दा कुनै पनि किसिमको विभेद गरिने छैन भनी कानुनमा स्पष्ट रूपमै उल्लेख भएको छ । तमिल नाडुको श्रम विभागबाट फक्सकनका विषयमा विस्तृत रिपोर्ट माग गरिएको मन्त्रालयले भारतीय सञ्चार माध्यमलाई जानकारी गराएको छ ।

कम्पनीले उच्चतम आपूर्ति श्रृंखलाको मापदण्डलाई समर्थन गर्ने र फक्सकनले भारतमा केही विवाहित महिलाहरूलाई रोजगारी दिएको एप्पलले उल्लेख गरेको छ। ‘फक्सकनसहित भारतमा हाम्रा सबै आपूर्तिकर्ताहरूले विवाहित महिलाहरूलाई काममा राख्छन्,’ एप्पललाई उद्रित गर्दै इन्डिया टुडेले लेखेको छ । फक्सकनले चाहिँ वक्तव्य जारी गर्दै वैवाहिक स्थिति, लिंग, धर्म वा अन्य कुनै रूपको आधारमा रोजगारीमा भेदभाव गरेको आरोपलाई कडाइका साथ खण्डन गरेको छ ।

एप्पल आइफोनको सबैभन्दा ठूलो वितरक रहेको फक्सनले सन् २०१७ मा तमिल नाडुमा पहिलो फ्याक्ट्री खोलेको थियो । त्यसयता आक्रामक रूपमा कारखाना विस्तार गर्दै आएको फक्सकनले सन् २०२३ मा आइफोन १५ एसेम्ब्लिङ गर्न थालेको थियो । यस वर्षको सुरुदेखि भने कम्पनीले गुगलसँगको साझेदारीमा तमिल नाडुमा पिक्सेल स्मार्टफोनहरू पनि एसेम्बल गर्दै आएको छ ।

प्रकाशित : असार १३, २०८१ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×