प्राथमिक पुँजी कम भएका बैंकलाई अग्राधिकार सेयर
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — प्राथमिक पुँजी कोष कम भएकाले दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर(प्रपेन्चुअल नन क्युमलेटिभ प्रिफरेन्स सेयर) जारी गर्न बाटो खुलेको छ । अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि केही बैंकहरुको प्राथमिक पुँजी कोष निकै कम छ । यसकारण ती बैंकहरुले थप कर्जा प्रवाह गर्न सकेका छैनन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![प्राथमिक पुँजी कम भएका बैंकलाई अग्राधिकार सेयर](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/money-finance/nrb-4-1562023012644-watermarked-1632024085718-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
यस्ता बैंकहरुलाई लक्ष्यित गरी राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयरको नयाँ अवधारणा ल्याएको हो ।
केन्द्रीय बैंकले प्राथमिक पुँजीको सकसमा रहेका बैंकहरुलाई डिबेञ्चर र नाफा भएको वर्षमात्रै लाभांश दिनु पर्ने प्रकृतिको अग्राधिकार सेयर जारी गर्न दिने भएको हो । राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशनमा पुँजी कोषमा दबाब रहेका बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सक्ने उल्लेख छ ।
राष्ट्र बैंकको निर्देशनमा अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने सम्बन्धमा विभिन्न १२ वाटा मापदण्ड तोकिएको छ । साधारणतया यस्तो अग्राधिकार सेयर सेयरमा परिणत हुँदैनन् । तर बैंक चल्नै नसक्ने अवस्थामा यसलाई सामान्य सेयरमै रूपान्तरण गर्न सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ ।
कुनै बैंकको जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष अनुपात ५.१२५ प्रतिशतमा आएमा यस्तो अग्राधिकार सेयरलाई सेयरकै रूपमा परिवर्तन गर्न पाइने भएको हो । यस्तो अनुपात ५.१२५ प्रतिशतमा पुग्दा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ ।
विमोच्य असञ्चिति अग्राधिकार सेयरलाई अंग्रेजीमा पर्पेचुअल नन् क्युमुलेटिभ प्रिफेन्सियल सेयर भनिन्छ । पर्पेचुअलको अर्थ परिपक्व अवधि नतोकिएको भन्ने हो । नन् क्युमुलेटिभको अर्थ कुनै वर्ष लाभांश वितरण गरिएको छैन भने पनि सो वर्षको लाभांश भनेर अन्य वर्षहरूमा दिनैपर्छ भन्ने बाध्यता नहुनु भन्ने हुन्छ ।
यस्तो अग्राधिकार सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न सक्ने, लाभांश वितरण गर्दा नाफा नोक्सान बाँडफाँट हिसाबमार्फत चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्ने र यसका लागि सञ्चित मुनाफा खाता एवं कुनै पनि कोष खर्च गर्न नपाइने व्यवस्था गरिएको छ ।
प्रकाशित : असार १३, २०८१ १७:३१