कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चितवनका दुई सामुदायिक विद्यालयका एक/एकले ल्याए चार जीपीए

चितवन — बिहीबार सार्वजनिक एसईईको नतिजामा चितवनका दुई सामुदायिक विद्यालयका एक/एक विद्यार्थीसहित १६ जनाले चार जीपीए ल्याएका छन् । 

चितवनका दुई सामुदायिक विद्यालयका एक/एकले ल्याए चार जीपीए

चितवनको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भूमिलाल सुवेदीका अनुसार यो वर्ष चितवनमा १० हजार ८३२ जनाले एसईई दिएका थिए । जसमध्ये ६ हजार ४१ जना उत्तीर्ण भएको सुवेदीले बताए । चार जीपीए ल्याउनेमा सामुदायिक विद्यालयबाट भरतपुरको चितवन माविका विद्यार्थी विशाल मगराती र नारायणगढको बालकुमारी कन्या माविका दिव्यप्रकाश झा छन् । बाँकी नौ संस्थागत विद्यालयबाट १४ जनाले चार जीपीए ल्याएको सुवेदीले बताए । गत वर्ष चितवनमा जम्मा ६ जनाले चार जीपीए ल्याएका थिए ।

त्यसैगरी यो वर्ष चितवनमा ए प्लस ल्याउने कुल विद्यार्थी संख्या एक हजार ६९२ जना रहेको सुवेदीले जानकारी दिए । गत वर्ष ७०१ जनाले ए प्लस ल्याएका थिए । ‘यो वर्ष २३३ विद्यालयका १० हजार ८३२ जनाले एसईई दिएकोमा ५६ प्रतिशत उर्त्तीण भएका छन् । समग्रमा गत वर्षको भन्दा सन्तोषजनक नतिजा रहेको छ,’ प्रमुख सुवेदीले भने । चितवन मावि वि.सं. २०११ मा स्थापना भएको जिल्लाको सबैभन्दा पुरानो विद्यालय हो । ‘विशाल मगराती पश्चिम चितवन शुक्रनगरबाट यहाँ कक्षा ८ मा पढ्न भर्ना भएका थिए । उनको पढाई राम्रो थियो । त्यही अनुसारको नतिजा पनि आयो’ विद्यालयका प्रधानअध्यापक चिरञ्जीवी शर्माले भने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीका अनुसार पहिला पहिला स्कुलले राम्रै नतिजा ल्याउने गर्थ्यो । ‘तर ०४८ यता आएको यो नै सबैभन्दा सफल नतिजा हो,’ अध्यक्ष अधिकारीको दाबी छ ।

बालकुमारी कन्या माविका दिव्यप्रकाश झा सुरुदेखि नै सोही विद्यालयमा पढेका हुन् । विद्यालयका निवर्तमान प्रधानाध्यापक हेरम्बकुमार असिम दिब्यप्रकाश सानैदेखि कक्षामा प्रथम हुँदै आएको बताउँछन् । वर्तमान प्रधानअध्यापक विष्णुप्रसाद वाग्लेले गणितमा सधैं सय नम्बर ल्याउने उनले नेपालीमा पनि ९७/९८ नम्बरसम्म ल्याएको बताए । स्कुल तहको सफल नतिजा उनले एसईईसम्मै कायम राख्न सफल भएका छन् । ‘मैले सोचेको थिइन । सुरुमा विश्वास पनि भएन । अरुमा राम्रै आउँछ तर नेपाली र सामाजिकमा ए प्लस आउला भन्ने मेरो आशा नै थिएन । तर आयो,’ दिव्यप्रकाशले भने । उनले कक्षा ११ विज्ञान विषय लिएर पढ्ने र १२ कक्षा उत्तीर्ण भएपछि अगाडी के पढ्ने भन्ने बारेमा निर्णय लिने बताए । ‘राम्रोसँग पढे रिजल्ट राम्रो आउने रहेछ । अब कक्षा ११ र १२ पनि राम्रोसँग पढ्छु । त्यसपछि के पढ्ने निर्णय पछि नै गरौंला,’ उनले भने ।

संस्कृत गुरुकुलममा २० मध्ये १९ जनाको ए प्लस

तनहुँ देवघाटधाममा रहेको महेश संस्कृत गुरुकुलमबाट यो वर्ष एसईई दिएका २० जनामध्ये १९ जना ए प्लस ल्याएर उत्तीर्ण भएका छन् । एक जनाको ए आएको छ । महेश सन्यास आश्रमले सञ्चालन गर्ने गुरुकुलममा कक्षा ६ देखि आचार्य (स्नातकोत्तर तह)पढाइ हुन्छ । गुरुकुलमका अध्यापक महेश्वर नेपालका अनुसार २०५० मा स्थापना भएको गुरुकुलममा एसईई दिने यो २७ औं समूह हो ।

प्रकाशित : असार १३, २०८१ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×