कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती विस्तार हुँदै

कानुनबमोजिम स्विकृति लिएर चन्दनको व्यावसायिक खेती र बेचबिखन गर्न पाउने

धनगढी — कञ्चनपुरमा बहुमूल्य वनस्पतिका रुपमा रहेको रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती विस्तार हुन थालेको छ । नेपालमै पहिलोपटक ८ वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भासीमा ७ कट्ठा जग्गामा रक्तचन्दन र श्रीखण्डका बिरुवा रोपेर सुरु गरिएको व्यावसायिक खेती २ वर्षअघि थप १ बिघामा विस्तार गरिएको हो ।

रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती विस्तार हुँदै

पहिलो चरणमा भारत बैंगलौरबाट चन्दनका बीउ ल्याएर नर्सरीमा बेर्ना तयार गरि २०७३ सालमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती सुरु भएको हो । ८ वर्षअघि रोपिएका ३ सय बिरुवामध्ये १ सय बढी बिरुवा मात्र हुर्केर बिक्रीयोग्य अवस्थामा पुगेको बहुमुल्य बनस्पतिको खेतीमा संलग्न नेपाल चन्दन प्रालिका संस्थापक सञ्चालक बिजयराज पन्तले बताए ।

वन प्रशासनले हालै पहिलो चरणमा रोपिएका ३ सयमध्ये डेढदेखि २ फिटसम्म गोलाइ भएको १ सय बढी रुखहरु कटान गर्न अनुमतिसमेत दिएको पन्तले जानकारी दिए । ‘रक्त चन्दनको बिक्रियोग्य वयस्क रुख तयार हुन १८ वर्ष लाग्छ, तर पहिलो चरणमा रोपिएका रुखहरु बर्षायामभरी जलमग्न हुने जग्गामा रहेकाले सुक्न थालेपछि कटानी गर्ने अनुमति लिएका हौ’ पन्तले भने, ‘हुर्केका रुखहरु कटानी गर्न छपान भइसकेको छ, ग्राहक खोज्दै छौं ।’ पन्तका अनुसार रक्तचन्दन ४ तहको ए, बी, सी, र डी हुने गरेको छ ।’

१८ वर्ष अवधी पार गरेको पूर्ण वयस्क रुखबाट उच्च गुणस्तरको चन्दनको काठ निस्कन्छ भने, कम उमेरको रुखबाट तेस्रो चौथो तहको कम गुणस्तरको काठ उत्पादन हुने उनी बताउँछन् । ‘तर राम्रो मूल्यमा बिक्रीका लागि रुख पूर्णरुपले वयस्क हुन १८ वर्ष कुर्नै पर्छ’ उनले भने ।

२०७१ म दर्ता भएको नेपाल चन्दन प्रालि ले २०७३ मा साइटिस सम्बन्धी कानुन बनेपछि २०७४ मा रक्तचन्दन, श्रीखण्ड र अगर उड (श्रीखण्ड जस्तै) बनस्पति को व्यवसायीक खेती गर्ने अनुमति लिएको व्यवस्थापक पन्त बताउँछन् । उनले स्थानीय नरेन्द्र बोहराको जग्गा लिजमा लिएर साझदारीमा चन्दन खेतीको व्यवसाय सुरु गरेको बताए ।


दोस्रो चरणमा भने थप १ बिघानै लिजमा लिएर ठूलो व्यवसाय बिस्तार गरेको जानकारी दिए । पहिलो चरणमा हालसम्म ४ लाख जति लगानी भएको र ग्राहक फेला परे कटान गर्न लागिएको १०३ रुखहरुबाट १५ देखि २० क्विण्टल चन्दनको काठ निस्कने अपेक्षा गरेको पन्तले बताए । १८ बर्ष हुर्काएका वयस्क एउटै रुखबाट ४/५ क्विण्टलसम्म चन्दन निस्कने उनले जानकारी दिए ।

नेपालमा हालसम्म कानुनी अनुमति लिएर चन्दनको व्यावसायिक खेती नै नभएको अवस्थाका कारण रक्तचन्दन, श्रीखण्ड र अगरउडको मुल्य नै कायम हुन सकेको छैन । भारतबाट चोरी पैठारी भइ नेपाल भित्रिने र नेपालबाट अधिकांस चन्दन चीनमा तस्करी हुने गरेको जानकारहरु बताउँछन् । तस्करीमा संलग्न भएको आरोपमा हाल कारागारमा रहेकाले दिएको जानकारीका अनुसार भारतबाट चोरी पैठारी भएको रक्त चन्दन चीनतर्फ तस्करी हुँदा १२ हजारसम्म प्रति किलो बिक्री हुने गरेको छ ।

नेपालका बिभिन्न भागमा रक्तचन्दन र श्रीखण्डका रुखहरु रहेका छन् । पन्तका अनुसार कतिपयलाई यी बहुमुल्य बनस्पतिबारे जानकारी नै छैन । श्रीखण्ड सबैभन्दा बढी प्युठानमा उत्पादन हुने गरेको छ । बझाङको जुजु सामुदायिक वनमा पनि श्रीखण्ड पाइन्छ । गतवर्ष नेपालमै उत्पादन भएको २१ हृजार किलो श्रीखण्ड बिक्री भएको वन कार्यालयको रेकर्डमा उल्लेख छ ।

दुइवर्षअघि नेपाल चन्दन प्रालिले सुरु गरेको चन्दनको खेती विस्तारको क्रममा लिएको १ बिघा जग्गामा चन्दन, श्रीखण्ड र अगर उडका १ हजार बिरुवा रोपिएका छन् । बीउ भारत बैंगलौरबाट ल्यएर नर्सरीमा बेर्ना तयार गरिएको हो । नर्सरीमा करिब ३५ हजार बिरुवा उत्पादन गरिएको छ ।

‘तर के गर्नु बिकिै छैन, सरकारी गैरसरकारी र स्थानीय तहहरुमा धाएको धायै छु, खरिद गर्न कोही तयार हुँदैनन्’ पन्तले भने । उनकाअनुसार बर्षेनी सरकारी निकाय र स्थानीय तहले ठूलो परिमाणमा अन्य जातका बिरुवा खरिद गर्दै आएको छ , उनीहरु सस्ता र मिसनको चक्करमा हुन्छन । स्थानीय नर्सरीमा उत्पादित चन्दनका बिरुवामो मुल्य प्रति गोटा २५० जति पर्छ ।

क्ञ्चनपुरको भासीमा हुर्केका रक्तचन्दन ककटानी गरे बिकिै गर्न ग्राहक फेला नपरेको पन्त् बताउछन । पछिल्लो चरणमा सिंहदरवारस्थित बैद्यखानासँग बिक्रीका लागि कुरा अगाडी बढेको उनले बताए । केही आयुर्वेदिक औषधिमा रक्तचन्दन प्रयोग हुने भएकाले माग भएको पन्तले बताए ।

चन्दनको व्यावसायीक खेती कानुनी रुपमा बैध हो र यसबाट राम्रो आयआर्जन हुनसक्छ भन्ने म्यासेज देशभरी फैलाउने कार्यमा आफु निरन्तर लागिरहेको नेपाल चन्दन प्रालिका सञ्चालक पन्त बताउँछन् । उनले देशभित्रै यसको व्यवसायिक खेती हुन सकेका भारतबाट हुने चोरी पैठारी नियनत्रण हनुका साथै किसानहरुले मनग्गे आम्दानी गर्न सक्ने बताए

प्रकाशित : असार १३, २०८१ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×