कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मिर्चैया हेल्थ नर्सिङ क्याम्पसको असुली प्रकरण : सीटीईभीटीले सोध्यो स्पष्टीकरण 

विनय आजाद

सिरहा — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सिरहास्थित मिर्चैयाको मिर्चैया हेल्थ नर्सिङ क्याम्पसलाई स्पष्टीकरण सोधेको छ ।

मिर्चैया हेल्थ नर्सिङ क्याम्पसको असुली प्रकरण : सीटीईभीटीले सोध्यो स्पष्टीकरण 

सीटीईभीटीको मधेश प्रदेश कार्यालय, जनकपुरधामले क्याम्पसलाई बिहीबार अपरान्ह स्पष्टीकरण सोधेको हो । क्याम्पसले विद्यार्थीसँग अवैध रूपमा लाखौं असुली गरेको घटना बाहिर आएपछि सीटीईभीटीले क्याम्पसलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र काटेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्य सचिवलाई बोधार्थ राख्दै क्याम्पसलाई ११ बुँदे स्पष्टीकरण सोधिएको सीटीईभीटीका मधेश प्रदेश प्रमुख नागेन्द्र साहले जानकारी दिए ।

'कान्तिपुर टिभीमा बुधबार साँझ र कान्तिपुरमा बिहीबार बिहान आएका समाचारप्रति हाम्रो ध्यानाकर्षण भयो,' उनले भने, 'त्यसमा सार्वजनिक भएका विषयहरूमा हामीले कलेजको जवाफ मागेका छौं ।' सीटीईभीटीले क्याम्पसको स्पष्टीकरणपछि त्यसको आधारमा आगामी कानुनी कदम चाल्ने उनले बताए ।

क्याम्पसले तीन वर्षे नर्सिङ अध्ययनरत विद्यार्थीसँग तीन वर्षमा तीन किस्तामा जम्मा ४ लाख ७५ हजार शुल्क लिनुपर्नेमा वर्षमा झण्डै ४ लाखसम्म अवैध ढंगले उठाएको छ । यस्तै, विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि अस्पतालमा पोष्टिङ गर्न जनही २० हजारका दरले उठाएको छ ।

यसैगरी, छात्रावास विद्यार्थीको स्वेच्छाको विषय भएपनि क्याम्पसले आफ्नै छात्रावास अनिवार्य गरी २ हजारमा कोठा पाइने मिर्चैयामा जनही १३ हजार लिएर एउटै कोठामा ६ जनासम्मलाई राख्दै आएको छ ।

यस विषयमा बिहीबार संसद्मा पनि उठेको छ । जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले गर्नुपर्ने काम मिडियाले गरिदिएको भन्दै अब पनि क्याम्पसलाई कारवाही गर्ने कि नगर्ने भनेर सरकारलाई प्रश्न गरेका छन् ।

प्रकाशित : असार १३, २०८१ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×