कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दृष्टीविहीनलाई कम्प्युटर तालिम

शंकर आचार्य

पर्सा — पर्सा जगरनाथपुर गाउँपालिका घरभएकी दृष्टिविहीन मनिषा साहलाई कम्प्युटर चलाउने निकै रहर थियो । वीरगन्जको त्रिजुद्ध माबिमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया उनले कम्प्युटर बारे चाख मानेर सुन्थिन् । दृष्टिविहीन भएकै कारण उनको कम्प्यूटर चलाउने रहर पूरा हुन सककिरहेको थिएन ।

दृष्टीविहीनलाई कम्प्युटर तालिम

लघु घरेलु तथा साना उद्योग प्रबर्द्धन त्रिपुरेश्वर काठमाडौं र सम्बृद्ध समाजका लागि युवा सशक्तिकरण संस्था वीरगन्जको संयुक्त आयोजनामा दृष्टि सम्बन्धि अपाङ्गता भएका व्यक्तिका लागि डेढ महिने बेसिक कोर्स कम्प्यूटर तालिम लिएपछि उनको आत्मविश्वास बढेको छ । ‘अहिले कम्प्युटर चलाउन सक्ने भएकी छु,’ उनले भनिन्, ‘कम्प्युटरमा वर्ड र एक्सेल चलाउन सक्छु, अंग्रेजी र नेपालीमा टाइप गर्न, यूट्युब चलाउन सक्छु, भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने योजना छ ।’

ठाकुरराम क्याम्पस वीरगन्जमा बिएड प्रथम वर्षमा अध्ययनरत सर्लाहीका २१ वर्षीय दृष्टिविहीन युवक श्रीराम यादवले पनि डेढ महिने तालिममा वर्ड, एक्सल, पावर प्वाइन्ट, एप इन्स्टलदेखि सेटिङसम्म चलाउन जानेको बताए ।

‘बिस्तारै कार्यालयहरु पेपरलेस हुँदैछन्,’ उनले भने, ‘यस्तो अवस्थामा हामी जस्ता दृष्टीविहीनहरुले भविष्यमा कार्यालयहरुमा पनि कामकाज गर्न सक्छौं, तालिम लिएपछि भविष्यमा हामी जस्ता दृष्टीविहीनहरुलाई यस्तै तालिम दिन पनि सक्छौं ।’ उनले भविष्यमा शिक्षण पेशा अपनाउने आफ्नो योजना रहेको सुनाए ।

प्रशिक्षक मनिष श्रेष्ठले सबै दृष्टीविहीन प्रशिक्षार्थीहरुले अन्यन्त रुचीका साथ प्रशिक्षण लिएको बताए । दृष्टीविहीन प्रशिक्षार्थीहरुका लागि कम्प्युटरमा एनबिडिए न्यारेटर सफ्टवेयरबाट प्रशिक्षणको व्यवस्था मिलाइएको उनले बताए ।

तालिम आयोजक संस्था सम्वृद्ध समाजका लागि युवा सशक्तिकरण वीरगन्जका उपाध्यक्ष महेश साह तालिममा १६ जिल्लाबाट ३० जना दृष्टि सम्बन्धी अपांगता भएकाहरुलाई सहभागी गराइएको बताए ।

‘बिगतमा कम्प्युटर छुँदै नछोएका, सिक्न नपाएका, पछाडी पारिएकाहरुलाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘४५ दिने आवासीय तालिमले प्रशिक्षार्थीहरुको आत्मविश्वास बढाएको छ, उनीहरु भविष्यमा कम्प्युटरको ज्ञानबाट धेरै लाभान्वित हुने छन् ।’

प्रशिक्षार्थीहरुलाई शनिबार तालिम समापन समारोहमा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले प्रमाणपत्र वितरण गरेका थिए । मेयर सिंहले तालिमले दृष्टीविहीन युवालाई भविष्यमा रोजगारी प्राप्त हुने आशा व्यक्त गरे ।

प्रकाशित : असार १५, २०८१ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×