कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दुई दशकमा मारिए २१ हात्ती

हात्ती मार्न कतै धराप त कतै भरुवा बन्दुकको प्रयोग 

विराटनगर — पञ्चायतकालमा झापाका तत्कालीन प्रधानपञ्च तथा हालै दिवंगत पूर्वमन्त्री केशवकुमार बुढाथोकीले हात्ती आतंक रोक्न बन्दुक नै पड्काएका थिए । ‘आफ्नो आफ्नो सगरमाथा’ नामक आत्मसंस्मरणमा बुढाथोकीले उल्लेख गरेका छन्, ‘केही उपाय नलागेपछि हात्ती आतंक रोक्न सुरक्षाकर्मीले बोकेको थ्रिनटथ्री राइफल पड्काइयो, पाँच हात्ती ढले ।’

दुई दशकमा मारिए २१ हात्ती

उनले पुस्तकमा उल्लेख गरे अनुसार मरेका हात्तीको दाँत, पुच्छर र नङ वन विभागले लग्यो । हात्तीको हड्डी र करङ पछि गाउँलेले लगे । जिउँदो भन्दा मरेको हात्तीको मूल्य धेरै हुने रहेछ ।

बहुदलपछि झापामा हात्ती आतंक झन् बढ्यो । पूर्वको बाहुनडाँगीबाट हुल बाँधिएर पस्ने हात्तीले कोशी टप्पुसम्म पुगेर बिझ्याइ गर्थे । २०५० को दशकमा बाहुनडाँगी गाविसका तत्कालीन अध्यक्ष नीलकण्ठ तिवारीले पनि हात्ती आतंक रोक्न बन्दुक नै किनेका थिए । तर, द्वन्द्वकालीन समय भएकाले सुरक्षाकर्मीले बन्दुक नियन्त्रणमा लिएका थिए ।

झापा र मोरङमा पछिल्लो समय हात्ती मारिएका घटनामा विगतमा झै बन्दुक प्रयोग भएको पाइएको छ । तर, विद्युतीय धरापमा पारेर हात्ती मर्ने क्रम पनि रोकिएको छैन । पछिल्ला शृंखलाबद्ध तीन घटनाले हात्ती मार्न बन्दुक प्रयोग भएको भेटिए पनि यहाँ धरापमै पारेर अधिकांश हात्ती मारिएका पाइन्छन् ।

कसले र किन हात्ती मारिरहेको छ ? यसबारे सम्बद्ध निकाय बेखबर देखिन्छ । तर, संरक्षणकर्मीहरू भने शृंखलाबद्ध रूपमा हात्ती मारिनुलाई गम्भीर विषय भएको भन्दै चिन्ता व्यक्त गर्छन् । ‘लगातार हात्ती मारिनु चानचुने कुरा हैन,’ संरक्षणकर्मी शंकर लुइँटेलले चिन्ता प्रकट गरे । उनले हात्ती मार्न तस्कर गिरोह नै संलग्न हुन सक्ने आशंका पनि व्यक्त गरे । ‘दारा, पुच्छर लगायतका वस्तु लगिएका कारण हात्ती मार्न ठूलै गिरोह सक्रिय हुन सक्छ,’ उनले भने । गत वैशाख ४ मा झापाको मेचीनगर–१३ कालिका सामुदायिक वन क्षेत्रको मध्यभागमा मृत हात्ती फेला पर्‍यो । करिब ४५ वर्षको उक्त भाले हात्तीको दुवै दारा काटिएको थियो । हात्तीलाई भरुवा बन्दुक प्रयोग गरी मारिएको पछि पुष्टि भएको थियो । हात्ती मारेर दारा, पुच्छर, नङलगायत अंग तस्कर गिरोहले लगेको थियो । ती अंगहरू बहुमूल्य मानिन्छन् । वन्यजन्तुको आखेटोपहार तस्करीमा अन्तरदेशीय गिरोह नै संलग्न रहेको अनुमान संरक्षणकर्मीको छ ।

बिहीबार बिहान झापाको मेचीनगर–३ स्थित वहुवन क्षेत्रमा एक जंगली हात्ती मृत फेला पर्‍यो । स्थानीय धरधरे खोला आसपासमा मृत भेटिएको हात्तीको घाँटीमा गहिरो चोट देखिन्थ्यो । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएको चिकित्सकको टोलीले पोस्टमार्टम गर्दा हात्तीलाई भरुवा बन्दुक प्रयोग गरी मारिएको पुष्टि भयो । अघिल्लो पटक मेचीनगर–१३ को घटनामा जसरी हात्ती मारिएको थियो, त्यही शैलीमा यसपटक पनि हात्ती मारिएको पाइएको छ ।

सामुदायिक वन उपभोक्ता समूह झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले पोस्टमार्टम गर्दा हात्तीको शरीरभित्र १५ वटा बन्दुकका छर्रा फेला परेको जनाए । उनले भने, ‘हात्तीको मृत्यु बन्दुक प्रहारबाटै भएको प्रस्ट देखिन्छ ।’ तस्कर समूहले यसपटक हात्तीको दारा र पुच्छर भने लैजान भ्याएनन् । करिब १० वर्षको भाले हात्तीको दारा सानै थियो । जस कारण तस्कर समूहलाई दारा काट्न असहज भएको हुन सक्ने अनुमान गरिएको छ ।

गत पुस १६ मा मोरङको सुन्दरहरैंचा–१० जनजागरण सामुदायिक वनमा पनि जंगली हात्तीलाई गोली प्रहार गरी मारिएको थियो । डिभिजन वन कार्यालय सलकपुरका अधिकृत लालबहादुर माझीले घटनास्थल मुचुल्का गर्दा हात्तीको देब्रे खुट्टामाथि र घाँटीमा दुई ठाउँ गोली प्रहार गरिएको जनाएका थिए ।

हात्तीलाई तस्कर गिरोहले नै मारेको आशंका गरिएको थियो । हात्ती मारेर पुच्छर लगिएको थियो । डिभिजन वन कार्यालय झापाका अनुसार यस वर्ष झापा र मोरङमा ६ वटा हात्ती मारिएका छन् । जसमा झापामा मात्रै चार वटा हात्ती मारिएका हुन् । मारिएका मध्ये तीन वटालाई गोली हानिएको छ । तीन चाहिँ विद्युतीय धरापमा परेर मरेका हुन् । ‘विगतमा विद्युतीय धरापमा परेर हात्ती मरेको पाइन्थ्यो,’ डिभिजन वन कार्यालयकी अधिकृत अन्जना पुरीले भनिन्, ‘पछिल्लो समय भरुवा बन्दुकको प्रयोगबाट हात्ती मारिएको पुष्टि भएको छ ।’

मारिए २१ हात्ती

दुई दशकभित्र झापामा मात्रै २१ वटा जंगली हात्ती मारिएका छन् । अधिकांश हात्ती विद्युतीय धरापमा पारेर मारिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मारिएका मध्ये एउटा हात्ती मात्रै ढोइ (पोथी) छ । अरु सबै मत्ता (भाले) हात्ती छन् ।

वन कार्यालयमा २०६२ पछि मारिएका हात्तीको तथ्यांक छ । २०६२ मा ३० वर्ष उमेरको भाले हात्ती मरेको थियो । त्यसको चार वर्षपछि २०६६ मा ३ वर्षको छावा मरेको थियो । २०६८ मा १४ वर्षको किशोर हात्ती मृत फेला परेको थियो । २०६९ देखि भने हात्ती मर्ने क्रम ह्वात्तै बढ्न थालेको देखिन्छ । त्यस वर्ष ३ वटा भाले हात्ती मरेका थिए । २०७२ मा पुनः मर्ने हात्तीको दर घटेर १ मा झरेको थियो । त्यस बेला ८ वर्षको भाले हात्ती मरेको थियो । २०७४ मा १० वर्षको भाले, २०७२ मा २० र २५ वर्षका दुई भाले, २०७६ मा पुनः ५ वर्षको छावा र ३५ वर्षको वयस्क हात्ती मारिएको थियो । २०७७ मा ५५ वर्षको वुद्ध हात्ती, २०७९ मा ८, १५ र २० वर्षका तीन भाले हात्ती मारिँदा २०८० जेठमा ३० वर्षको वयस्क पोथी हात्ती विद्युतीय धरापमा परेर मरेको थियो ।

अधिकांश हात्ती विद्युतीय धरापमै परेर मरेको पाइन्छ । किसानले घरवाली जोगाउन विद्युतीय धराप थाप्दै आएका छन् । धेरै जसो हात्ती त्यही धरापमा परेर मारिने गरेका हुन् । हात्तीका लागि थापेका धरापमा केही मान्छे पनि परेका घटना छन् । वन ऐनमा कुनै पनि वन्यजन्तु मारेमा प्रचलित कानुन अनुसार कारबाही हुने उल्लेछ । तर, हात्ती मरेपछि वन कार्यालय या सम्बन्धित निकायले खासै चासो दिंदैनन् । जसका कारण हात्ती मार्ने गिरोहको मनोवल अझ उच्च हुने गरेको एक संरक्षणकर्मीले जनाए । उनले थपे, ‘राज्यले अलि बढी चासो लिने हो भने हात्ती मारिने क्रम कम हुने थियो ।’

प्रकाशित : असार १३, २०८१ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×