कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भूकम्प प्रभावित बालबालिकामा जन्डिस

सल्यान — अत्यधिक गर्मी र दूषित पानीले भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकाका बालबालिकामा दुई सातादेखि जन्डिस फैलिएको छ । प्रभावित बालबालिकामा ज्वरो आउने, बान्ता गर्ने, खाना नखाने समस्या देखिरहेको स्थानीय बताउँछन् ।

जन्डिसका कारण पछिल्लो समयमा बालबालिका मात्र नभई बयस्क, बूढापाका, महिला सबै प्रभावित भइरहेका छन् । अहिले एकै घरमा दुई/तीन जनासम्म जन्डिसका बिरामी देखिएका छन् । दार्माका सबैजसो बस्तीमा विद्यालय उमेरका बालबालिका जन्डिसबाट बढी प्रभावित भएका छन् ।

जन्डिसका बिरामी बढ्न थालेपछि पालिकाको ६ वडाका ८ स्वास्थ्य संस्थामा बिरामीको घुइँचो लाग्न थालेको छ । ती स्वास्थ्य संस्थामा जन्डिस परीक्षणको सुविधा नहुँदा बिरामीले जिल्ला अस्पताल सल्यान तथा रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पताल धाउनुपरेको छ ।

दार्मा–२ का पूर्णबहादुर केसीले साताअघि घरमा चार वर्षीय छोरालाई जन्डिस देखिएकोमा अहिले अर्को छोरालाई पनि देखिएको बताए । पालिकाको स्वास्थ्य संस्थामा सामान्य सुविधा मात्रै भएकाले थप उपचारका लागि जिल्ला अस्पताल तथा निजी क्लिनिकहरूमा धाउनुपरेको उनको गुनासो छ । दार्मा गाउँपालिकाको फारुलाचौरमा रहेको जनज्योति माविमा प्रत्येक कक्षाका चार/पाँच जना जन्डिसले बिरामी भएको प्रधानाध्यापक मीनबहादुर ओलीले बताए । चर्को गर्मी र बालबालिका बिरामी भएपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको उनले जानकारी दिए ।

पालिकाले बारम्बार सरसफाइमा ध्यान दिन, पानी उमालेर खान, प्रशस्त मात्रामा झोलिलो पदार्थ सेवन गर्न सल्लाह दिँदै आए पनि लापरबाहीका कारण जन्डिस रोगले महामारीको रूप लिन थालेको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । साताअघि एक सय जना बालबालिका प्रभावित भएकामा अहिले ३ सयभन्दा बढी पुगेका उनले बताए ।

जन्डिस देखिएका बालबालिकामा ज्वरो आउने, पखाला लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, दुब्लाउँदै जाने लक्षण देखिएको र पालिकाका स्वास्थ्य संस्थामा उपचार सम्भव नभएकाले ज्वरो र पखालाको औषधि दिएर सरसफाइ र खानपिनमा ध्यान दिन सल्लाह दिँदै पठाउने गरेको उनले बताए ।

सामुदायिक स्वास्थ्य इकाइ केन्द्र ढाँकाडाममा दैनिक उपचारका लागि आउने १५/२० जना मध्ये ६/७ जनामा जन्डिसको लक्षण देखिएको स्वास्थ्यकर्मी यज्ञबहादुर खड्काले बताए । इकाइ केन्द्रमा आएका बालबालिकालाई जाँच गरेर रगत परीक्षणका लागि प्रयोगशाला सेवा सञ्चालित अस्पतालमा जान सल्लाह दिँदै आएको उनले जानकारी दिए ।

गत कात्तिक १७ को भूकम्पपछि बसोबास र खानपानको उचित ब्यवस्थापन हुन नसक्दा बालबालिकामा ज्वरो, निमोनिया, झाडापखालाजस्ता रोग देखिँदै आए पनि अहिलेसम्म मानवीय क्षति हुन नपाएको उनको भनाइ छ ।

प्रकाशित : असार ९, २०८१ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×