कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

५२ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन अयोग्य : फेल भएका विद्यार्थी हुन् कि सरकार ?

अयोग्य २ लाख ४२ हजारमध्ये १ लाख २६ हजारले अर्को वर्ष मात्रै परीक्षा दिन पाउने, २०७५ अघिदेखि नै सामुदायिक विद्यालयमा ५६ हजार शिक्षक दरबन्दी अपुग 
विद्यार्थीले कठिन मान्ने अंग्रेजी, गणित र विज्ञानका शिक्षक झन् ठूलो अभाव, पटक–पटक परीक्षा प्रणाली परिवर्तन गर्न सरकार अग्रसर, कक्षाकोठाको पढाइ सुधार्न उदासीन
सुदीप कैनी

काठमाडौँ — एसईई दिएका ४ लाख ६४ हजार ७ सय ८५ जनामध्ये ५२.१३ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीे कक्षा ११ मा भर्ना हुन ‘अस्वीकृत’ भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार २ लाख २२ हजार ४ सय ७२ जना (४७.८७ प्रतिशत) मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

५२ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन अयोग्य : फेल भएका विद्यार्थी हुन् कि सरकार ?

ननग्रेडिङ (एनजी) अर्थात् अस्वीकृत भएकामध्ये १ लाख १५ हजार ८ सय ३४ जना (२४.९२ प्रतिशत) ले साउन १८ र १९ गते सञ्चालन हुने ग्रेडवृद्धि (मौका) परीक्षा दिन पाउनेछन् । उनीहरूले आगामी वर्ष चैत ७ गते नियमित परीक्षामा मात्र सहभागी हुन पाउनेछन् ।

दुई विषयसम्म एनजी ल्याएका विद्यार्थीले तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका २०७८ ले गरेको छ । ६७ हजार ७ सय ९३ जनाले एक र ४८ हजार ३८ जना विद्यार्थीले दुई विषयमा एनजी ल्याएको बोर्डले जनाएको छ । १ लाख २६ हजार ४ सय ७९ (२७.२१ प्रतिशत) जना भने कक्षा १० मै रोकिएका छन् ।

मौका दिन पाउने विद्यार्थीको परीक्षा र नतिजापछि यसै वर्ष माथिल्लो कक्षामा भर्ना पाउने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । यस आधारमा कक्षा ११ मा भर्ना हुन योग्य विद्यार्थीको प्रतिशत बढ्ने बोर्डको दाबी छ । तर, शिक्षाविद्हरूले भने एसईईको परीक्षाफल खस्कँदो रहेको बताउँदै आएका छन् । परीक्षा प्रणाली र कक्षाकोठाको शिक्षण परिपाटीका कारण सधैं यस्तै प्रकृतिको नतिजा आउने गरेको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुइँटेलले टिप्पणी गरे । ‘च्याट जीपीटीले जस्तो कण्ठ गरेको कुरा जस्ताको तस्तै उतार्ने खालको हाम्रो परीक्षा प्रणाली छ ।, परीक्षा त्यस्तै भएपछि पढाइ पनि रचनात्मकभन्दा कण्ठ गर्ने खालको हुने नै भयो,’ उनले भने, ‘विद्यालय शिक्षाको समग्र प्रक्रिया, विधि, प्रणाली नबदलेसम्म ग्रेडिङमा पर्नेभन्दा नपर्ने विद्यार्थी संख्या बढी हुने नतिजा आइराख्छ ।’

परीक्षा केन्द्रित विद्यार्थी बनाउने कि ज्ञान र सीप केन्द्रित, सोच्ने बेला आएको उनले औंल्याए । ‘परीक्षा प्रणाली रचनात्मक ढंगको हुन सकेन्, कक्षाकोठाको पढाइ पनि रचनात्मक हुन नसकेको प्रतिफल एसईईको नतिजामा देखिएको छ,’ लुइँटेलले थपे, ‘पुरानो सोच परिवर्तन गरेर सिकाइ केन्द्रित पठनपाठन र परीक्षा प्रणाली विकास गर्नुपर्छ ।’ यद्यपि सिक्ने, सिकाउने परिपाटी भएका विद्यालयको नतिजा भने सुधारोन्मुख रहेको उनले औंल्याए । ‘राज्यले शिक्षाको जिम्मा पनि लिएको छैन । लगानी पुगेको छैन । लगानी गरे जतिको प्रतिफल पनि आउन सकेको छैन,’ उनले भने, ‘सरकारले शिक्षक दरबन्दी त दिन सकेको छैन ।, नतिजा कसरी राम्रो आउँछ ?,’ उनले प्रश्न गरे ।

नतिजाअनुसार देशभरबाट १ सय ८६ जना विद्यार्थीले ४ मा ४ जीपीए ल्याएका छन् । २८ जिल्लाका विद्यार्थीले उक्त जीपीए प्राप्त गरेको बोर्ड स्रोतले जनायो । काठमाडौंका ९४, कास्कीका २१, चितवनका १६, मोरङका ८, ललितपुरका ७, भक्तपुरका ६ र कैलालीका ४ र लम्जुङका ४ सहित अन्य जिल्लाबाट १ देखि २ जनासम्मले ४ मा ४ जीपीए ल्याएका छन् ।

३.६ देखि ४ जीपीए प्राप्त गर्नेको संख्या ३१ हजार २ सय ९ जना रहेको छ । ३.२ देखि ३.६ जीपीए ६८ हजार २ सय ५६ जनाले प्राप्त गरे । २.८ देखि ३.२ जीपीए ७८ हजार ८ सय ७४ जनाले ल्याए । यो जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा बढी हो । २.४ देखि २.८ ल्याउने ४१ हजार १ सय ७७ जना छात्रछात्रा छन् । २ देखि २.४ ल्याउने २ हजार ९ सय ५० र जीपीए १.६ देखि २ ल्याउने ६ जना रहेको बोर्डले जनाएको छ । निर्देशिकाले हरेक विषयको सैद्धान्तिक (लिखित) तर्फ कम्तीमा ३५ प्रतिशत र आन्तरिकमा ४० प्रतिशत अंक ल्याए मात्र विद्यार्थीले ग्रेड प्राप्त गर्दै परीक्षामा योग्य ठहरिने व्यवस्था गरेको छ । उत्तरपुस्तिका परीक्षणबाट प्राप्त अंकलाई ग्रेडमा बदलेर बोर्डले नतिजा सार्वजनिक गर्दै आएको छ । बोर्डका अध्यक्ष शर्माले गतवर्षभन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी संख्या बढेको बताउँदै एसईईको नतिजामा प्रगति भएको दाबी गरे ।

त्यस्तै, नतिजाअनुसार एसईईमा ननग्रेडिङ (एनजी) ल्याउनेमा छात्रभन्दा छात्राको संख्या बढी रहेको छ । २ लाख ४२ हजारको एनजी आउँदा १ लाख २८ हजार छात्रा छन् भने छात्रको सख्यां १ लाख १४ हजार मात्र छ । परीक्षामा भने छात्राभन्दा छात्रको संख्या बढी थियो । २ लाख ३३ हजार छात्र र २ लाख ३१ हजार छात्राले एसईई दिएका थिए । माथिल्लो स्तरको जीपीए ल्याउनेमा पनि छात्रहरूकै संख्या बढी छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छात्रा परीक्षार्थीको संख्या बढी थियो भने बाँकीमा छात्रको संख्या धेरै थियो ।

वाग्मती अगाडि सुदूरपश्चिम पछाडि

बोर्डले सार्वजनिक गरेको २०८० को एसईई नतिजामा प्रदेशहरूबीच खाडल देखिएको छ । वाग्मती प्रदेश अगाडि देखिएको छ भने सुदूरपश्चिम प्रदेशको नतिजा सबैभन्दा कमजोर पाइएको छ ।

देशभर एनजी ल्याउनेको औसत ५२.१३ प्रतिशत रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेश औसतभन्दा पनि पछाडि छन् । वाग्मती, कोशी र गण्डकी प्रदेशको नतिजा भने राष्ट्रिय औसतभन्दा माथि देखिन्छ । बोर्डका अनुसार वाग्मतीबाट ९९ हजार ८ सय ७२ ले एसईई दिएका थिए । तीमध्ये ६६ हजार २९ (६६.११ प्रतिशत) ग्रेड प्राप्त गर्न सफल र ३३ हजार ८ सय ४३ (३३.८८ प्रतिशत) ग्रेडिङ प्राप्त गर्न असफल भए । सुदूरपश्चिबाट एसईई दिएका ५३ हजार ४ सय ४६ जनामध्ये १७ हजार ३६ जना (३१.८७ प्रतिशत) मात्रै ग्रेडिङमा परेका छन् । त्यहाँका ३६ हजार ४ सय १० (६८.१२ प्रतिशत) विद्यार्थीको नतिजा एनजी आएको छ ।

बोर्डको तथ्यांकअनुसार लुम्बिनी प्रदेशबाट ८० हजार ३ सय २७ विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये ३१ हजार १ सय ३ जना (३८.७२) जनाले ग्रेड प्राप्त गरे भने ४९ हजार २ सय २४ विद्यार्थी (६१.२७ प्रतिशत) ननग्रेडिङमा सूचीकृत भएका छन् । कर्णाली प्रदेशबाट ३५ हजार ३४ विद्यार्थीले एसईई दिएका थिए । १४ हजार ६ सय ५४ (४१.८२ प्रतिशत) ले ग्रेड प्राप्त गरे भने २० हजार ३ सय ८० (५८.१७ प्रतिशत) ले ग्रेड प्राप्त गर्न सकेनन् । मधेस प्रदेशका ७९ हजार ५ सय ९२ परीक्षार्थी मध्ये ३७ हजार ३ सय ६ (४६.८७ प्रतिशत) ग्रेडिङमा परे । ४२ हजार २ सय ८६ (५३.१२ प्रतिशत) ग्रेडिङ हुन असफल रहे ।

कोशीबाट ७५ हजार ९ सय ८८ विद्यार्थी परीक्षामा सम्मिलित थिए । जसमा ग्रेड प्राप्त गर्नेको संख्या ३६ हजार ९३ (४७.४९ प्रतिशत) र ननग्रेडिङ ३९ हजार ८ सय ९५ (५२.५० प्रतिशत रहेको छ । गण्डकी प्रदेशका कुल परीक्षार्थी ४० हजार ५ सय २६ थिए । त्यसमा २० हजार २ सय ५१ (४९.९७ प्रतिशत) कक्षा ११ मा भर्ना हुने योग्य भए भने २० हजार २ सय ७५ जना (५०.०२ प्रतिशत) अयोग्य सावित भए । शिक्षा सचिव दीपक काफ्ले नतिजालाई समीक्षा गरेर विद्यालय शिक्षा सुधारको एजेन्डा बनाउने बताए । ‘शिक्षा मन्त्रालय र मातहतका निकायले शैक्षिक व्यवस्थापन र विद्यालयले शिक्षण पद्धतिमा सुधार गर्नुपर्ने नतिजाले औंल्याएको छ,’ उनले भने, ‘परीक्षा प्रणाली, पठनपाठन शैली, मुल्यांकन पद्धतिमा पुर्नसंरचना गर्नुपर्ने संकेत गरेको छ ।’

गणितमा विद्यार्थी सधैं कमजोर

एसईईको नतिजाअनुसार गणित, विज्ञान र अंग्रेजी विषयमा सबैभन्दा धेरै छात्रछात्रा ‘ननग्रेडिङ’ मा परेका छन् । परीक्षा दिएकामध्ये गणितमा १ लाख ७७ अर्थात् ३८ प्रशित विद्यार्थी ‘ननग्रेडिङ’ मा परेका हुन् । विज्ञानमा १ लाख २६ हजार (२७ प्रतिशत) विद्यार्थी ननग्रेड भए भने अंग्रेजीमा १ लाख (२१ प्रतिशत) विद्यार्थीको एनजी आएको छ । सामाजिक र नेपाली विषयमा क्रमशः ७३ हजार र ६९ हजार विद्यार्थी एनजीमा परेका छन् । ‘ननग्रेड’ मा परेका विद्यार्थीको नतिजा सुधार गर्न शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्रलगायत सरकारका कुनै पनि निकायसँग स्पष्ट नीति, योजना र कार्यक्रम देखिँदैन ।

गतवर्ष पनि एसईईमा सहभागी विद्यार्थीमध्ये २ लाख २ सय ६८ विद्यार्थी अर्थात् करिब ४१ प्रतिशतले गणितमा कमजोर ग्रेड ‘डी र ई’ ल्याएका छन्, सबैभन्दा तल्लो ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या मात्रै १ लाख ५५ हजार रहेको थियो । २० भन्दा पनि कम अंक भए ‘ई’ ग्रेड दिइन्छ । विगतमा पनि गणितपछि विज्ञान र अंग्रेजीमा कमजोर ग्रेड प्राप्त गर्ने छात्रछात्राको संख्या बढी हुन्थ्यो ।

२०७५ सालमा सरकारले नै गरेको सर्वेक्षणमा ७१ वटा माध्यमिक विद्यालयमा मात्रै गणित, विज्ञान र अंग्रेजी विषयका विषयगत शिक्षकको दरबन्दी रहेको पाइएको थियो । थप ५६ हजार शिक्षक दरबन्दी आवश्यक पर्ने सर्वेक्षणले औंल्याएको थियो । तर ६ वर्षसम्म सरकारले एउटै शिक्षक दरबन्दी थप गर्न सकेको छैन । कक्षा ११–१२ त शून्य दरबन्दीको अवस्था छ ।

प्रकाशित : असार १४, २०८१ ०६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×