कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दुई नेपाली शल्य चिकित्सकलाई स्कटल्याण्डमा अवार्ड

लन्डन — विश्वको सबैभन्दा पुरानो शल्य चिकित्सा संस्थान एडिनवर्गस्थित रोयल कलेज अफ सर्जनबाट दुई नेपाली शल्य चिकित्सकले अवार्ड पाएका छन् ।

दुई नेपाली शल्य चिकित्सकलाई स्कटल्याण्डमा अवार्ड

डा. कमल अर्यालले फेलो अफ फ्याकल्टी अफ सर्जिकल ट्रेनर्स (एफएफएसटिइडी) अवार्ड र डा. भगवान कोइरालाले रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग (एफआरसीएसइडी) को फेलो अवार्ड प्राप्त गरेका हुन् ।

जुन २८ मा एडिनबर्गको रोयल कलेज अफ सर्जन अफ एडिनबर्गमा आयोजित एक समारोहबीच उनीहरुलाई अवार्ड दिइएको थियो । एडिनबर्गको रोयल कलेज अफ सर्जन्स सन् १५०५ मा स्थापना भएको विश्वकै सबैभन्दा पुरानो सर्जन प्रशिक्षण संस्थान हो । डा कोइरालाले नेपालमा बेलायतको सर्जिकल गतिविधिलाई पुनरुत्थान गर्ने दिशामा यो ठूलो कदम भएको बताए ।

उनले एफआरसीएस प्राप्त गर्ने प्रा. अञ्जनी शर्मा र प्रा. महेश खकुरेलकै दांजोमा आफूलाई पाउंदा निकै गौरवान्वित महसुस गरेको पनि बताए । डा अर्यालले एफआरसीएस परीक्षा नेपालमा हुँदा नेपालमा सर्जिकल तालिमको स्तर राम्रो भएको र दक्षिण एसियाका सबै परीक्षार्थी परीक्षा दिन नेपाल आउने गरेको स्मरण गरे ।

सबैभन्दा पुरानो शल्य चिकित्सा संस्थानको नेतृत्वमा थप शिक्षा र प्रशिक्षणले नेपालमा तालिम र बिरामीको हेरचाह स्तर बढाउन मद्दत गर्ने अर्यालको विश्वास छ । डा. कोइराला काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानका वर्तमान अध्यक्ष र नेपालमा ओपन हार्ट सर्जरी सुरु गर्ने प्रख्यात कार्डियाक सर्जन हुन्।

डा. अर्याल नेपाली चिकित्सक संघ (एनडीए) यूकेका पूर्व अध्यक्ष एवं ग्रेट यारमथ, यूकेस्थित जेम्स प्यागेट अस्पतालका कन्सल्टेन्ट सर्जन हुन् । नेपालमा सन् २००२ सम्म एफआरसीएसको परीक्षा लिइन्थ्यो । डा अर्यालले सन् १९९९ मा नेपालमा सर्जिकल तालिम लिँदा यी परीक्षा पास गरेका थिए । त्यसपछि उनी बेलायत आए र थप तालिमपछि सन् २०११ देखि कन्सल्टेन्टका रूपमा काम गर्दै आएका छन्।

उनले प्रत्येक वर्ष नेपाल गएर सानो प्वाल बनाएर पेटको अप्रेसन (कि होल सर्जरी) र सुरक्षित शल्यक्रियाको तालिम आयोजना गर्दै आएका छन्। उनले बेलायती टोलीको नेतृत्व गर्दै सन् २०१५ को महाभूकम्पपछि गोरखा र धादिङमा २ वटा विद्यालयको पुनर्निर्माण गरेका थिए ।

दुवै शल्यचिकित्सकले शल्य चिकित्सा प्रशिक्षण र सुरक्षित बिरामी हेरचाहको क्षेत्रमा नेपाल र बेलायतका संस्थानहरु, परोपकारी संस्था एवं सरोकारवालासंग सहकार्य गरेर काम गरिरहने बताएका छन् ।

प्रकाशित : असार १६, २०८१ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×