कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अस्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यका लागि वाणिज्य दूत नियुक्त

सिड्नी — अस्ट्रेलियाका दुई ठूला राज्यमा नेपाल सरकारले वाणिज्य दूत नियुक्त गरेको छ । जनसंख्याका हिसाबले सबैभन्दा ठूलो राज्य न्यु साउथ वेल्समा सञ्जीव शर्मा र दोस्रो ठूलो राज्य भिक्टोरियामा निराजन गौलीलाई वाणिज्य दूत नियुक्त गरिएको हो । 

अस्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यका लागि वाणिज्य दूत नियुक्त

यसपहिले न्यु साउथ वेल्स राज्यमा दीपक खड्का र भिक्टोरियामा चन्द्र योञ्जनले महावाणिज्यदूतका रूपमा जिम्मेवारी पाएका थिए । आफ्नो ४ वर्षको कार्यकाल समाप्त हुनुअघि नै खड्काले न्यु साउथ वेल्सको महावाणिज्यदूतबाट राजीनामा दिएका थिए भने चन्द्र योञ्जनको कार्यकाल समाप्त भइसकेको थियो ।

करिब १ लाख नेपाली बसोबास गर्ने न्यु साउथ वेल्स राज्यमा वाणिज्य दूत नियुक्त गर्न ढिलाइ भएको भन्दै सरकारको आलोचना भइरहेको थियो भने भिक्टोरियामा कार्यकाल सकिएपछि योञ्जनले नै कार्यवाहक चलाइरहेका थिए । वाणिज्य दूत नियुक्तिका लागि पठाइएको नाममध्ये शर्मा र गौलीको नामलाई परराष्ट्र मन्त्रालयले स्वीकृत गरेपछि मन्त्रिपरिषद्ले दुवैलाई नियुक्त गरेको हो ।

न्यु साउथ वेल्स राज्यका लागि वाणिज्य दूत नियुक्त भएका शर्मा व्यावसायिक संस्था एक्सपर्ट ग्रुपका सञ्चालक हुन् । उनले अस्ट्रेलियामा मात्र नभएर नेपालमा समेत विभिन्न क्षेत्रमा लगानी गरेका छन् भने रारामा आधुनिक रिसोर्ट खोल्ने तयारीमा छन् । यसका साथै उनले सुरु गरेको एक्सपर्ट एजुकेसनले दर्जनौ देशबाट आफ्नो सेवा दिइरहेको छ । वाणिज्य दूत नियुक्त भएपछि शर्माले आफू सबै नेपालीको हकहितमा काम गर्ने र नेपाल र अस्ट्रेलियाको व्यावसायिक, कूटनीतिक र आर्थिक सम्बन्ध सुधारमा लागिपर्ने बताए । उनले आफ्नो वाणिज्य दूतको नियमित कामबाहेक नेपालमा लगानी प्रवर्द्धन, दोस्रो पुस्तालाई नेपालसँग प्रत्यक्ष रूपमा जोड्नेलगायतका विभिन्न योजना रहेको सुनाए । ‘मैले वाणिज्य दूतका रूपमा आफू जन्मेको देशलाई जति दिनसक्छु त्यति गर्नेछु,’ उनले कान्तिपुरसँग भने ।

भिक्टोरियाका लागि वाणिज्य दूत नियुक्त भएका गौली पेशाले इन्जिनियर र व्यवसायी हुन् । उनले यहाँको सरकारी निकायमा विभिन्न तहमा रहेर काम गरिसकेका छन् । त्यसका साथै उनले मानसिक स्वास्थ्य, सडक सुरक्षालगायतका विषयमा विभिन्न तालिम तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । गौलीले आफू यही समाजमा रहेको र नेपाली समुदायको छलफल र सरसल्लाहमा नेपाल तथा नेपालीको हकहतिमा काम गर्ने बताए । उनले नेपालीको जनसंख्याको हिसाबले दोस्रो ठूलो राज्य भएकाले समेत यहाँबाट नेपालमा हुनसक्ने आर्थिक लगानी, कूटनीतिक सम्बन्ध विस्तारलगायतका क्षेत्रमा आफुले काम गर्ने सुनाए । ‘वाणिज्य दूतका रूपमा सबैसँग मिलेर नेपाल र नेपालीको हितका लागि हरदम काम गर्नेछु,’ गौलीले भने ।

अस्ट्रेलियामा नेपाली दूतावास क्यानबेरामा रहेको छ । दूतावासको सहज पहुँच सबै नेपालीसमक्ष नरहेकाले वाणिज्य दूतावासको भूमिकालाई महत्त्वपूर्ण रूपमा लिइन्छ । झन्डै ७० हजार नेपाली विद्यार्थी रहेको अस्ट्रेलियामा उनीहरूलाई आउने समस्यालाई वाणिज्य दूतावासले सहयोग प्रदान गर्ने गरेको छ । वाणिज्य दूत नियुक्त दुवैले यहाँको विदेश विभागबाट सबै प्रक्रिया पूरा भइसकेपछि वाणिज्य दूतको आफ्नै कार्यलय र कर्मचारी राखेर प्रभावकारी रूपमा सेवा सुरु गर्ने बताएका छन् ।

प्रकाशित : असार ९, २०८१ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×