कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

अस्ट्रेलियाद्वारा विद्यार्थी भिसामा थप कडा नियमको घोषणा

अध्ययन सकेपछि पाइने टेम्पोररी ग्राजुएट भिसा (टीआर) मा रहेका विदेशी नागरिकले पुन विद्यार्थी भिसाको आवेदन दिन नपाउने भएका छन् ।
यस पहिले नेपाल लगायतका देशबाट टुरिस्ट भिसामा अस्ट्रेलिया आउने र यहाँ आएपछि उक्त भिसालाई विद्यार्थी भिसामा परिवर्तन गरेर यतै बस्ने प्रचलन व्याप्त थियो ।
नारायण खड्का

अस्ट्रेलिया — कोभिडपछि अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडा नियम लगाउँदै आएको अस्ट्रेलियाले बुधबारबाट अझ कडाई गरिने जनाएको छ । अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी छिन् । 

अस्ट्रेलियाद्वारा विद्यार्थी भिसामा थप कडा नियमको घोषणा

अस्ट्रेलियामा पर्यटकका रुपमा टुरिस्ट भिसामा आउने विदेशी नागरिक र यहाँको अध्ययन सकेपछि पाइने टेम्पोररी ग्राजुएट भिसा (टीआर) मा रहेका विदेशी नागरिकले पुन विद्यार्थी भिसाको आवेदन दिन नपाउने भएका छन् ।

यसपहिले नेपाल लगायतका देशबाट टुरिस्ट भिसामा अस्ट्रेलिया आउने र यहाँ आएपछि उक्त भिसालाई विद्यार्थी भिसामा परिवर्तन गरेर यतै बस्ने प्रचलन व्याप्त थियो । यसैगरि निश्चित अध्ययन सकेपछि पाइने ग्राजुएट भिसाको अवधि सकेपछि पुन: विद्यार्थी भिसामा आवेदन दिएर यतै बस्नेको संख्या समेत व्यापक थियो ।

तर मन्त्री ओनिलले आज थप नियमको घोषणा गर्दै यी दुई भिसा क्याटागोरी (सबक्लास ६०० र ४८५) मा रहेकाले अस्ट्रेलियाबाट (अनसोर) विद्यार्थी भिसाको आवेदन दिन नपाउने बताएकी हुन् । उनीहरुले आफ्नै देश फर्किएर विद्यार्थी भिसा आवेदन दिन भने पाउनेछन् ।

यसपहिले पनि अस्ट्रेलियाले यहाँको विदेशी विद्यार्थी संख्या कम गर्नका लागि कोभिड पश्चात धेरै नियम परिवर्तन गरेको थियो ।

हेर्नुस् सम्बन्धित समाचार

अस्ट्रेलियामा कोरोना महामारी पश्चात उच्चशिक्षाका लागि आउने विद्यार्थी संख्या ह्वात्तै बढेको छ । यहाँको सरकारी तथ्यांकअनुसार अहिले ७ लाख ४० हजारबढी विदेशी विद्यार्थी भिसामा रहेका छन् । यहाँ अध्ययनरत विदेशी विद्यार्थीमा नेपालीको संख्या ५५ हजार ३ सय रहेको अस्ट्रेलियाली सरकारको आधिकारिक तथ्यांक छ । जुन समग्र अस्ट्रेलियामा रहेको अन्तर्राष्ट्रिय विद्यार्थी संख्याको ८ प्रतिशत हो । सरकारी तथ्यांकअनुसार अहिलेपनि नेपाली विद्यार्थीको संख्या चीन र भारतपछि तेस्रो रहेको छ । अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई दुर्गम क्षेत्रमा जानका लागि प्रेरित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम ल्याएको भएपनि अहिलेपनि अधिकांश विद्यार्थी सहरीक्षेत्रमा नै बसोबास गरिरहेका छन् । तथ्यांक अनुसार ३५ हजारभन्दा बढी नेपाली विद्यार्थी सिड्नीमा बसोबास गरिरहेका छन् ।

विद्यार्थीको संख्या बढेसँगै अस्ट्रेलियामा रोजगारसँगै आवासको समस्या गम्भीर रुपमा बढेको छ । अध्यागमनक्षेत्रका ज्ञाताले अस्ट्रेलियाली सरकारले ल्याइरहेको नयाँ नियम अहिले देखिइरहेका यी समस्यालाई सम्बोधन गर्नका लागि ल्याएको बिष्लेषण गरेका छन् ।

अहिले अस्ट्रेलियामा आएका नयाँ विद्यार्थीलाई कोठाभाडा र जागिर पाउन अत्यन्तै समस्या मात्र भइरहेको छैन कि साताको २४ घण्टामा मात्र काम गर्न पाउने अधिकारले कलेजको फि तिर्न र आफू बाँच्न समेत धौ धौ हुने गरेको छ ।

मन्त्री ओनिलले एक विज्ञप्ति मार्फत् गत १० महिनाको अवधिमा पर्यटक भिसाबाट विद्यार्थी भिसामा जानेको संख्या ३६ हजार रहेको जनाएकी छिन् । उनको विज्ञप्तिमा ग्राजुएट भिसा (टीआर) मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः विद्यार्थी भिसामा नै फर्केर आउने गरेको तथ्यांक समेत सार्वजनिक गरेकी छिन् ।

अस्ट्रेलियाले टुरिस्ट भिसामा आएर विद्यार्थीका रुपमा परिवर्तन गर्ने प्रचलन बढिरहेकाले उक्त कार्यलाई निरुत्साहित गर्नका लागि यसपहिले नै उक्त भिसामा ‘नो फर्दर स्टे’ लाई बढाएको थियो । तर उक्त नियम घोषणा भएको केही महिनामा नै मन्त्री ओनिलले विद्यार्थी भिसामा परिवर्तन गर्न नपाउने नियम घोषणा गरेकी हुन् । यो नयाँ नियमको घोषणाले हजारौं नेपाली विद्यार्थी समेत प्रत्यक्ष प्रभावित हुने यसक्षेत्रमा काम गरिरहेका व्यवसायीहरूको भनाई छ ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x