कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पैसा धेरै भएपछि राष्ट्र बैंकले बजारबाट तान्यो २८ खर्ब

ब्याजदरको अस्वाभाविक उतारचढाव कम गरी वित्तीय स्थायित्व कायम गर्न राष्ट्र बैंकले बजारबाट पैसा तान्दै आएको छ

काठमाडौँ — चालु आर्थिक वर्षका सबै महिनामा बैंक तथा वित्तीय संस्थामा पैसाको अभाव रहेन । निक्षेप बढिरहेको अवस्थामा कर्जा प्रवाह सुस्त हुँदा यो वर्षभर नै वित्तीय प्रणालीमा पर्याप्त पैसा रहिरहने अवस्था बनेको हो । बरु तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकलाई हम्मेहम्मे परिरह्यो । वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले हरेक दिनजसो बजारबाट पैसा झिकिरहेको छ । 

पैसा धेरै भएपछि राष्ट्र बैंकले बजारबाट तान्यो २८ खर्ब

यही क्रममा गत मंसिरदेखि शुक्रबारसम्म तरलता व्यवस्थापन (बजारको मागअनुसार नै वित्तीय प्रणालीमा पैसा राख्न) का लागि राष्ट्र बैंकले २८ खर्ब ४५ अर्ब ८५ करोड रुपैयाँ झिकिसकेको छ । उक्त अवधिमा राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ११ खर्ब ५० अर्ब ३० करोड र स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत १६ खर्ब ९५ अर्ब ५५ करोड रुपैयाँ गरी कुल साढे २८ खर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ ।

उल्लिखित रकममध्ये धेरै परिपक्व भएर बजारमा फर्किसकेको छ भने हाल १ खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँ लगानीमा (आउटस्ट्यान्डिङ) छ । बैंकहरूलाई आवश्यक परेका बेला प्रयोग गर्न सकून् भन्ने प्रयोजनका लागि राष्ट्र बैंकले निकै कम अवधिका लागि पैसा झिक्ने र पठाउने गर्छ । यसकारण यसरी पैसा झिक्ने र पठाउने प्रक्रियालाई अल्पकालीन तरलता व्यवस्थापन भनिन्छ । ब्याजदरमा अस्वाभाविक उतारचढाव हुन नदिई वाञ्छित सीमामा राख्नकै लागि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत आवश्यकताअनुसार बजारबाट पैसा तानिरहेको नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभाग प्रमुख पीताम्बर भण्डारीले बताए ।

‘दीर्घकालीन ब्याजदरलाई स्थायित्व दिन ब्याजदर करिडोरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नकै लागि निक्षेप संकलन र स्थानीय निक्षेप सुविधामार्फत राष्ट्र बैंकले तरलता व्यवस्थापन गरिरहेको छ,’ भण्डारीले भने, ‘रेमिट्यान्स बढिरहेको, आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढ्नेलगायत कारण आउँदा महिनामा तरलता झनै बढ्ने देखिन्छ ।’ ब्याजदरमा स्थिरता कायम गर्न भन्दै नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर लागु गरेको छ ।

दीर्घकालीन ब्याजदरमा स्थायित्व ल्याउन अल्पकालीन ब्याजदर अर्थात् अन्तरबैंक ब्याजदरलाई निश्चित सीमाभित्र राख्न अपनाइएको विधि ब्याजदर करिडोर हो । यसले मौद्रिक नीतिको कार्यदिशालाई समेत इंगित गर्दछ । स्थायी तरलता सुविधा उपलब्ध हुने दरले माथिल्लो सीमा र निक्षेप संकलन दरले तल्लो सीमाका रूपमा काम गर्छ । यी दर मौद्रिक नीतिले आवश्यकता हेरी समयसमयमा परिवर्तन गर्दछ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले बैंकदर (ब्याजदर करिडोरको माथिल्लो सीमा) ७, नीतिगत दर ५.५ र निक्षेप संकलन ३ प्रतिशत तय गरेको छ । यसको अर्थ अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ (तान्नु) भने ७ प्रतिशतभन्दा बढी हुँदा बजारमा पैसा पठाउनुपर्छ ।

उल्लिखित नीतिका आधारमा राष्ट्र बैंकले बजारमा पैसा धेरै भएको अवस्थामा विभिन्न मौद्रिक औजारहरूमार्फत झिक्ने र कम भएको अवस्थामा बजारमा पठाउने काम गर्छ । राष्ट्र बैंकले बजारमा पैसा धेरै भएको अवस्थामा निक्षेप संकलन, स्थायी निक्षेप सुविधा, रिभर्स रिपो, आउटराइट सेल सेक्युरिटिजलगायत औजारमार्फत बजारबाट पैसा झिक्दै आएको छ । पछिल्लो आठ महिनायता भने राष्ट्र बैकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधालाई प्रयोगमा ल्याइरहेको छ । यसअनुसार निक्षेप संकलनमार्फत ७ देखि १४ दिनसम्मका लागि बजारबाट पैसा झिक्दै आएको छ भने स्थायी निक्षेप सुविधाको अवधि चार दिनको मात्र हुन्छ । अहिले राष्ट्र बैंकले आइतबार र बुधबार स्थायी निक्षेप सुविधा संकलन गर्छ भने बिहीबार र आइतबार भुक्तानी गर्छ ।

बजारमा पैसा कम भएका बेला राष्ट्र बैंकले स्थायी तरलता सुविधा (एसएलएफ), रिपो, आउटराइट पर्चेज, ओभरनाइट रिपोलगायत हुन् । यस वर्ष सबै महिनामा बैंकमा पर्याप्त तरलता रहेकाले राष्ट्र बैंकले बजारमा पैसा पठाउनुपरेको छैन । पछिल्ला दिनमा अन्तरबैंक दर ३ प्रतिशतभन्दा कम रहेकाले राष्ट्र बैंकले धमाधम पैसा तानिरहेको हो । शुक्रबारसम्म अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ । ‘अन्तरबैंक दर ३ प्रतिशतभन्दा तल जान नदिन बजारबाट पैसा तानिएको हो,’ भण्डारीले भने, ‘अहिले ब्याजदर घट्दो क्रममा छ, यस्तो अवस्थामा धेरै तल नझरोस् र स्थायित्व होस् भन्नकै लागि ब्याजदर करिडोरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न लागिएको हो ।’ बजारबाट कति तानियो भन्नुभन्दा पनि तानेकोमध्ये अहिले राष्ट्र बैंकसँग कति रकम छ भन्ने महत्त्वपूर्ण भएको भण्डारीको भनाइ छ ।

असारमा पनि निक्षेपको ब्याजदर घटेको छ । जेठको तुलनामा असारमा बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.१२२ प्रतिशत बिन्दुले घटेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ वटाले असारमा एक वर्ष व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । तीन वटाले सीमान्त दरमा बढाएका छन् भने ६ वटाले स्थिर राखेका छन् ।

०८१ वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.३५, विकास बैंकहरूको ७.३१ र वित्त कम्पनीहरूको ८.५५ प्रतिशत छ । ०८० वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.०८ प्रतिशत थियो । कर्जाको भारित औसत ब्याजदर ०८१ वैशाखमा वाणिज्य बैंकहरूको १०.३४, विकास बैंकहरूको ११.८९ र वित्त कम्पनीहरूको १३.११ प्रतिशत छ । ०८० वैशाखमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत थियो ।

गत वर्षको साउनदेखि वैशाखसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोडले बढेको छ । यो ७.८ प्रतिशतको वृद्धि हो । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ सय ७० अर्ब ७८ करोड (७.३ प्रतिशत) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा ०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १२.८ प्रतिशतले बढेको छ ।गत वैशाखसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब २५ अर्ब २४ करोड (४.७ प्रतिशत) ले बढेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ५३ अर्ब १७ करोड (३.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रकाशित : असार ९, २०८१ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×