कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

डा. हर्क गुरुङ प्रतिष्ठानलाई लमजुङ समाज युकेको १५ लाख सहयोग

आश गुरुङ

लमजुङ — डा. हर्क गुरुङ प्रतिष्ठान नेपाललाई लमजुङ समाज युकेले १५ लाख रुपैयाँ सहयोग गरेको छ । यो संस्था भूगोलविद् डा. हर्क गुरुङको नाममा स्थापना गरिएको हो ।

डा. हर्क गुरुङ प्रतिष्ठानलाई लमजुङ समाज युकेको १५ लाख सहयोग

मर्स्याङ्दी गाउँपालिका ७, ताङ्लीचोकस्थित डा. हर्कको समाधीस्थलमा शनिबार एक कार्यक्रम आयोजना गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ । लमजुङ समाज युकेका अध्यक्ष दलबहादुर गुरुङले प्रतिष्ठानका अध्यक्ष एवं डा. हर्क गुरुङका भतिज तिलबहादुर गुरुङलाई चेक हस्तान्तरण गरे ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रतिष्ठानले डा. हर्क गुरुङको स्मृतिमा विभिन्न संरचना निर्माणलगायत रचनात्मक कार्य गर्दै आएकाले सरकारी तथा गैरसकारी साथै देशविदेशबाट सहयोगको आवश्यक रहेको बताए ।

कार्यक्रममा तमू हृयुल छोज धीं (गुरुङ राष्ट्रिय परिषद्) केन्द्रीय सल्लाहकार गर्जबहादुर गुरुङ, उत्तरी भेग तमू समाजका अध्यक्ष मणिप्रसाद गुरुङ, भूगर्भविद् डा. हेमनाथ घिमिरे, बाघेता समाज युकेका उपाध्यक्ष प्रेमबहादुर गुरुङ, राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरे, जनप्रतिनिधि, गाउँस्थित मनास्लु तमू आमा समाजका पदाधिकारी–सदस्यलगायत थिए ।

ताङ्लीचोकमा भूगोलविद् डा. हर्क गुरुङको सालिकसहितका संरचनाहरु निर्माण गरिएका छन् । प्रतिष्ठानले हालसम्म प्राप्त ५ रोपनी १२ आना ३ पैसा २ दामको जग्गामा विभिन्न संरचनाहरु निर्माण गरेका छन् । कुल ६ करोड ३१ लाख ९९ हजार ७ सय ६९ रुपैयाँ २२ पैसाको ‘स्व. डा. हर्क गुरुङ स्मृति पार्क’ को विस्तृत योजना निर्माण गरेको र यसका लागि ३० रोपनी जग्गा व्यवस्थापन गर्नुपर्ने देखिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले हालसम्म करिब ६० लाख रुपैयाँ खर्च गरी पार्कको काम गरेको छ । प्राप्त रकम संरचना निर्माणलगायतमा खर्च गरिने प्रतिष्ठानका अध्यक्ष गुरुङले बताए ।

२०६३ असोज ७ गते (सेप्टेम्बर २३) मा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएका डा. हर्क गुरुङको शवलाई आफ्नै जन्मस्थलो ल्याएर अन्तिम संस्कार गरिएको थियो । अन्तिम संस्कार गरिएको ठाउँ समाधीस्थलमै प्रतिष्ठानले उनको अर्धकदको सालिकसहित संरचनाहरु निर्माण गरिरहेको छ ।

वि.सं. १९९५ पुस २१ गते बाबा पार्सै गुरुङ र आमा मैंस्यो गुरुङको कोखबाट पाँचौं सन्तानको रुपमा जन्मिएका डा. हर्क गुरुङ बहुमुखी प्रतिभाको धनी थिए । राष्ट्रवादी व्यक्तित्वको रुपमा आफूलाई चिनाएका डा. हर्कको स्मृतिमा प्रतिष्ठान निर्माण गरेर जन्मस्थलमा उनलाई सम्झाउने कामहरु भइरहेका प्रतिष्ठानका सचिव सोमबहादुर भण्डारीले बताए ।

प्रकाशित : असार ८, २०८१ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×