कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

लहानको आँपमा किसान उत्साहित पनि, दुःखी पनि

लहान आँप चर्चामा आएपछि जिल्लाभरमा आँपको बिक्री बढ्यो 
विनय आजाद

सिरहा — लहान नगरपालिका–२ मटिअर्वाकी ५३ वर्षीया श्रीवती सदा गएको बुधबार लहान बजारमा दंग मुद्रामा भेटिइन् । किनकि टोकरीमा बेच्नलाई उनले राखेको आँप धमाधम बिक्री भइरहेको थियो । उनको १० कट्ठा क्षेत्रफलमा आँपको बगैंचा छ । उनलाई गत वर्षअघिसम्म व्यापारीलाई निकै सस्तोमा आँप बेच्नुपर्थ्यो । तर, अहिले स्थानीय बजारमै प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा उनी आँप बिक्री गर्दै छिन् । 

लहानको आँपमा किसान उत्साहित पनि, दुःखी पनि

‘स्थानीय मान्छेको सबैको आफ्नै आँप छ, त्यसैले उनीहरूले किन्ने कुरै भएन,’ उनले कान्तिपुरलाई सुनाइन्, ‘त्यसैले राम्रो भाउ पाउन बाहिर गएर बेच्नुपर्थ्यो, म अनपढ मान्छे कहाँ बाहिर जानु ? त्यसैले सस्तोमै भए पनि व्यापारीलाई नै दिन्थें ।’ यहाँको आँप स्वादिलो अनि अर्गानिक हुने भएकाले बाहिर बाहिरका मान्छेहरू पनि आफ्नै घरका लागि यहाँ आँप किन्न आइरहेका छन् ।

श्रीवतीको छेवैमा हर्षित मुद्रामा आँप बेच्दै थिए, लहान नगरपालिका–२४ मल्हन्वाका ३८ वर्षीय रामकुमार यादव । उनको तीन बिघामा आँपको बगैंचा छ । उनले साढे २ बिघाको आँप व्यापारीलाई बेचिसकेका छन् । १० कट्ठा भने आफैंले राखेका छन् । आँपको बगान नै व्यापारीलाई बेच्दा पनि विगतका वर्षभन्दा यसपालि राम्रै मूल्य पाएका उनले बजारमा राम्रो मूल्य चलिरहेको देखेपछि आफैंले राखेका आँप पनि अहिले बजारमा ल्याएर बेचिरहेका छन् ।

विगतका वर्षमा आँप खेतीमा उनले भोगेका अनुभव भने पीडादायी छ । ‘एक/दुई वर्षअघिसम्म हामीसँग दुई वटा विकल्प मात्र हुन्थ्यो, एउटा निकै सस्तोमा व्यापारीलाई बेच्ने, अर्को खेतमै आँप कुहिन दिने,’ उनले कान्तिपुरलाई सुनाए, ‘पाँच/दस रुपैयाँ पनि किलोको पाउन गाह्रो हुन्थ्यो कुनैकुनै बेला, मिहिनेत पनि निस्कन मुस्किलै हुने, तर अहिले राम्रो दाम पाइरहेको छु, खुसी लागेको छ ।’

उनी दुई जना मात्र होइन, लहानको बजारदेखि लहान क्षेत्रका आँपका बगैंचासम्म आँप किसान यतिखेर यस्तै उत्साहित अवस्थामा भेटिन्छन् । लहानको आँप एकाएक यति मूल्यवान् बन्न जानुको कारण हो, नगरपालिकाले यहाँको आँपको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले गत वर्षदेखि थालेको ब्रान्डिङ । नगरपालिकाले गत वर्ष लहानकै सरस्वती कृषि फर्मसँग सम्झौता गरी आँपको ग्रेडिङ, ब्रान्डिङ र प्याकेजिङ गरी बजार पठाउन सुरु गर्‍यो । त्यसपछि लहानको आँपको चर्चा देशभर चुलिएको हो ।

सबै किसानले नगरपालिकालाई नै आँप बेचेका त छैनन् । तर नगरपालिकाको यो प्रयासले यहाँको आँप आम उपभोक्ताको रोजाइ बन्न पुगेको छ, बिक्री र मूल्य बढेको छ । विराटनगरबाट आफ्नै घरका लागि आँप किन्न लहान आइपुगेका विलास लुइँटेलले कान्तिपुरसँग भने, ‘यसअघि त त्यति थाहा थिएन, पछिल्लो समय लहानको आँप भनेर सुनेपछि, मिडियामा हेरेपछि चाहिँ थाहा पाएँ । यहाँको आँप स्वादिलो छ, अर्गानिक छ । त्यसैले ताजा आँप किन्न यहीं नै आइहालें ।’

लहान नगरपालिकाले सम्झौता गरेको फर्मले काठमाडौंको शान्तिनगरमा पनि आफ्नो शाखा राखेको छ । नगरपालिकाले देशभर लहानको आँप होम डेलिभरीका लागि ओयो पसल अनलाइन एपसँग पनि सम्झौता गरेको छ । ‘यसले लहानलाई आँपले परिचित गराएको छ, यहाँको आँप ब्रान्ड बनेको छ,’ लहान नगरपालिका–१२ का वडाध्यक्षसमेत रहेका नगरपालिकाका कृषि संयोजक बद्रीनारायण चौधरीले भने, ‘यति मात्र होइन, आम उपभोक्ताले पनि शुद्ध आँप खान पाएका छन् ।’ गत वर्ष ३० टन आँप बिक्री भएको यसपालि ५० टन पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ ।

लहान आँप चर्चामा आएपछि लहान क्षेत्रमा मात्र होइन, जिल्लाभरमा आँपको बिक्री बढेको छ । यसले किसान आँप उत्पादनतर्फ हौसिएका छन् । लहान क्षेत्रका नर्सरीहरूमा आँपका बोटको बिक्री बढेको छ । ‘पहिले आँप किसान व्यापारीकै भर पर्नुपर्दा र बजार पनि नपाउँदा आँप उत्पादन गरे पनि व्यावसायिक ढंगले नै आँप खेती हुन्नथ्यो,’ लहानमा नर्सरी सञ्चालन गरिरहेका शिवजी महतो भन्छन्, ‘तर, पछिल्लो समय किसानहरू व्यावसायिक ढंगले नै आँप खेतीतिर लागेका देखिन्छन्, नर्सरीहरूमा आँपको बिरुवा अप्रत्याशित रूपमा बिक्री भइरहेको छ ।’

तर यहाँ ३५ देखि ५० रुपैयाँसम्ममा पाउने आँप काठमाडौंमा १०० रुपैयाँसम्ममा बिक्री भइरहेको देखेर किसान सन्तुष्ट छैनन् । आफ्नो आँप सिधै आफूले काठमाडौंसम्म लगेर बेच्ने वातावरण सरकारले बनाइदिए हुन्थ्यो भन्ने उनीहरूलाई लागेको छ । ‘अहिले पहिलाभन्दा मूल्य जरुर बढी छ, तर यहाँ ४० ४५ रुपैयाँ प्रतिकिलो बिक्री हुने आँप काठमाडौंमा १०० सम्ममा बिक्री भइरहेको सुन्छु, हामी यत्रो मिहिनेत गर्छौं, तर आधाभन्दा बढी फाइदा त यहाँबाट आँप किन्ने व्यापारीहरूलाई भइरहेको देखियो,’ लहानमा आँप बेच्न आइपुगेका लहान नगरपालिका–२ का अजयकुमार महतोले कान्तिपुरलाई सुनाए, ‘सरकारले हाम्रो आँप हामी आफैं काठमाडौं लगेर बेच्ने बन्दोबस्ती मिलाइदिए हुन्थ्यो ।’

फलको राजा मानिने आँपको प्रवर्द्धन र बजारीकरणका लागि राज्यले नीतिगत तवरबाटै प्रयास गर्न आवश्यक रहेको यहाँका अगुवाहरू बताउँछन् । ‘लहान नगरपालिकाको प्रयासपछि यहाँको आँप ब्रान्ड बनेको छ, जिल्लैभर आँपको बिक्री बढेको छ, यस्तो प्रयास पहिल्यै हुनुपर्थ्यो,’ मिर्चैयाका बुद्धिजीवी अशोककुमार साहले भने, ‘आँप मधेशको खास परिकार हो, यसको प्रवर्द्धन र बजारीकरणका लागि नीतिगत तवरबाटै नै प्रयास हुनुपर्छ, यसका लागि तीनै तहका सरकार गम्भीर बन्न आवश्यक छ, आँपलाई नेपालले मात्र होइन, विश्व बजारले पर्खिराखेको छ ।’

सिरहा जिल्लाभरमा आँप उत्पादन हुने ९ हजार ५ हेक्टर क्षेत्रफलमा गत वर्ष ८ हजार ८ सय ९५ टन आँप उत्पादन भएको थियो । यसपाला चाहिँ केही घट्ने कृषि ज्ञान केन्द्र, सिरहाको अनुमान छ । ‘केही आँपका बोटले एक वर्ष फल दिने र एक वर्ष आराम लिने गर्छ,’ कृषि ज्ञान केन्द्र, सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठले कान्तिपुरलाई भने, ‘तर उत्पादनमा धेरै कमी चाहिँ आउँदैन ।’

प्रकाशित : असार ९, २०८१ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×