कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

प्रदेश १ पुन: नामांकन संघर्ष समितिले मंसिरदेखि आन्दोलन गर्ने

आनन्द गौतम

ताप्लेजुङ — प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले आगामी मंसिरदेखि निर्णायक आन्दोलन गर्ने जनाएको छ । किरात याक्थुङ, नेपाल आदिवासी, पहिचान सहितको प्रदेश नम्बर १, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचान पक्षधर राजनीतिक दलका केन्द्रीय नेताहरुको उपस्थितिमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा असार १ र २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

प्रदेश १ पुन: नामांकन संघर्ष समितिले मंसिरदेखि आन्दोलन गर्ने

प्रदेश सरकार र सभाले हालसम्मको आन्दोलनलाई आवश्यक ध्यान नदिएको कारण कोशी नाम खारेजी आन्दोलनलाई घनिभूत तयारीका साथ मंसिर २ गते विराटनगरमा विशाल जनप्रदर्शनसहित नयाँ चरणबाट सुरु गर्ने निर्णय गरेको छ । अहिले बर्खायाम भएको र नागरिकहरुले खेतीपाती गर्ने समय भएकाले चाडबाडसमेत सकिएपछि आन्दोलन गर्ने निर्णय भएको किरात याक्थुङका अध्यक्ष प्रेम येक्तेनले जानकारी दिए ।

आइतबार बेलुका ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा रणनीतिक योजनाअनुसार स्थानीय तहबाटै समानान्तर सत्ता अभ्यासको विकास गर्ने पनि जनाइएको छ । यसको आवश्यक अध्ययन र ठोस तयारी गर्ने येक्तेनले बताए ।

बैठकको ११ बुँदे निर्णय सार्वजनिक गर्दै किरात राई यायोक्खाका केन्द्रीय महासचिव अर्जुन जन्मेली राईले कोशी नाममा भोट दिने ४२ प्रदेश सांसद र आन्दोलनरत संस्था तथा नेतृत्वलाई साम्प्रदायिक गाली दिने एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले सचिव एवं सांसद योगेश भट्टराई र एमाले नेता महेश बस्नेतलाई दबाबदिन उनीहरुको परिवार तथा नातागोताहरुलाई अनुरोध गर्ने निर्णय गरिएको बताए । भावनाविपरीत भोट दिएका कारण जनता आक्रोशित भएकाले प्रदेशसभा सदस्यहरुलाई सार्वजनिक कार्यक्रमहरुमा निमन्त्रणा नगर्न/नगराउन सबै पक्षसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रदेश सरकारले कोशी नामका प्रस्तावक राम रानाकै नेतृत्वमा शान्ति टोली गठन गरेको भन्दै बैठकले यसलाई तथाकथितको संज्ञा दिएको छ । रानाको नेतृत्वमा गठित समितिप्रति खेद व्यक्त गरेको बैठकले निष्कर्षमा पुग्नेगरी वार्ता गर्ने भए बहुमत पुग्नेगरी अस्तित्वमा रहेका दलका नेतासहित मुख्यमन्त्रीको नेतृत्वमा मात्रै वार्ता गर्न सकिने बताएको छ ।

मंसिरदेखि हुने आन्दोलनलाई तेस्रो जनआन्दोलनको संज्ञा दिएको बैठकले यसलाई सशक्त बनाउन मुद्दा मिल्ने राजनीतिक दल र संस्थाहरुलाई मोर्चाबन्दी वा संगठित गर्ने निर्णय गरेको छ । यसका लागि रामभक्त कुरुम्बाङको संयोजकत्वमा कार्यदल गठन गरेको छ । इलाम २ को उपचुनावबाट एकल जातिवादी सत्तालाई चुनौती दिएको र पहिचानको मुद्दालाई प्रतिपक्षीय विचार स्थापित गरेको र मत परिणामलाई सकारात्मक समीक्षा गरिएको उल्लेख छ ।

पाथीभरामा बन्ने भनिएको केबलकार कुनै पनि हालतमा बन्न नदिने निर्णय बैठकले गरेको छ । यसका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बैठकमा सहभागीले जनाएका छन् ।

प्रकाशित : असार २, २०८१ २२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?