कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपल्ट विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौँ — अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका ट्वान्टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका पहिलो पटक विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको हो । दक्षिण अफ्रिका ट्वान्टी-२० विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो । दक्षिण अफ्रिका एकदिवसीय विश्वकपको पनि फाइनल पुग्न सकेको छैन ।

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपल्ट विश्वकप क्रिकेटको फाइनलमा

दक्षिण अफ्रिकाको विश्वकप यात्रा ७ पटक सेमिफाइनलबाटै टुंगिएको थियो । यस पटक भने भारत वा इंग्ल्यान्डमध्ये एकलाई हराएर उपाधि जित्ने नै अवसर दक्षिण अफ्रिकासामु रहेको छ । पछिल्लो पटक गत वर्ष कोलकातामा भएको एकदिवसीय विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिका अस्ट्रेलियासँग ३ विकेटले पराजित भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाले अहिलेसम्म एउटै उपाधि मात्र जितेको छ र यो सन् १९९८ को आईसीसी ट्रफी रहेको छ ।

बिहीबार ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट मैदान अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । दक्षिण अफ्रिकाका लागि रेजा हन्ड्रिक्सले २९ रन बनाए । त्यस्तै एडेन मार्क्रमले २३ रन बनाए । क्विन्ट डी कक भने ५ रनमै आउट भएका थिए । अफगानिस्तानका लागि फजलहक फारुकीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानको प्रदर्शन राम्रो हुन सकेन र पूरा टिम ५६ रन मात्र बनाएर अलआउट भएको थियो । पूरा टिम ११.५ ओभर मात्रै टिकेको थियो ।अफगानिस्तानले पावर–प्लेमै २३ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो र त्यसपछि पनि नियमित अन्तरमा विकेट गुमाइरह्यो । अफगानिस्तानका लागि अजमुतुल्लाह ओमरजाईको १० रन नै सर्वाधिक रह्यो । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ४ रनमा पहिलो विकेट गुमाएको अफगानिस्तानको ब्याटिङ २/१६, ३/२०, ४/२०, ५/२३, ६/२८, ७/५०, ८/५०, ९/५०, हुँदै १०/५६ को अवस्थामा पुगेको हो ।

दक्षिण अफ्रिका लागि सबै बलरले धारिलो बलिङ गरे । त्यसमध्ये मार्को ज्यान्सनले १६ रनमा तीन विकेट लिए । यस्तै तबरेज शाम्सीले पनि ६ रन मात्र दिएर तीन विकेट आफ्नो नाममा लेखाए । यस्तै कागिसो रबाडा र एनरिक नोर्ट्जे ले दुई/दुई विकेट हात पारे ।

बिहीबार नै प्रतियोगिताको दोस्रो सेमिफाइनल हुँदैछ र त्यसमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले भारतको सामना गर्नेछ ।

यस्तो रह्यो दक्षिण अफ्रिकाको फाइनल यात्रा

सेमिफाइनलमा अफगानिस्तानविरुद्ध सानदार जित हात पारे पनि दक्षिण अफ्रिकाले जारी विश्वकपको समूह चरणमा भने प्रंशसनीय प्रदर्शन गर्न सकेको थिएन । पहिलो खेलमा श्रीलंकालाई २२ बल बाँकी छँदा उसले ६ विकेटले हराएको थियो । श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा पूरा गरेको थियो ।

त्यस्तै समूह चरणको दोस्रो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको थियो । नेदरल्यान्ड्सले दिएको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८‍.५ ओभरमा पूरा गषरेको थियो । बंगलादेशविरुद्ध भने ४ रनले विजयी भएको थियो दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाले ११४ रनको लक्ष्य दिए पनि बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रन मात्र जोड्न सफल भएको थियो ।

समूह चरणमा नेपालसँग भने दक्षिण अफ्रिकाको खेल निकै नै रोचक र प्रतिस्पर्धात्मक भएको थियो । नेपाल झन्डै दक्षिण अफ्रिकालाई जितेर इतिहास रच्ने स्थितिसम्म पुगेको थियो । दक्षिण अफ्रिकालाई नेपालले २० ओभरमा ११५ रनमै समेट्न सफल भएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १ रनले चुकेको थियो । सुपर-८ मा भने दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ७ रन र वेस्ट इन्डिजलाई ३ विकेटले हराएको थियो ।

प्रकाशित : असार १३, २०८१ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×