२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दक्षिण अफ्रिकासँग नेपाल १ रनले निराश

सेन्ट भिन्सेन्ट (वेस्ट इन्डिज) — नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा इतिहास रच्ने मौका गुमाएको छ । उत्कृष्ट स्पिन बलिङपछि आसिफ शेखको संयमीत ब्याटिङका बावजुद नेपाल शुक्रबार साँझ सेन्ट भिन्सेन्ट स्थित आर्नोस भेल मैदानमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो ।

दक्षिण अफ्रिकासँग नेपाल १ रनले निराश

१ सय १६ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १४ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा विजयका लागि २ रन चाहिने अवस्थामा ओटनेइल बार्टमानको बलका विट भएका गुलशन झा रन आउट भए ।

आसिफले ४९ बलमा ४२ रन बनाएका थिए । कागिसो रबाडाको बलमा शून्य रनमा कट एन्ड बोल्ड क्याच हुनबाट जोगिएका आसिफले ४ चौका र १ छक्का प्रहार गरे । गुलशनले ६ बलमा ६ रनमात्र बनाउन सके । सोमपाल कामी ४ बलमा ८ रन बनाइ अविजित रहे ।

दक्षिण अफ्रिकाको यो लगातार चौथो विजय हो । पहिलो ३ खेल जितेर सुपर ‘एट’ मा पुगिसकेको दक्षिण अफ्रिकाले नेपालविरुद्ध पूर्ण टोली उतारेको थियो । नेपाल यस हारपछि समूहचरणबाटै बाहिरिएको छ । नेपालले बंगलादेशसँग आइतबार समूहचरणको अन्तिम खेल खेल्ने छ ।


ओपनर कुशल भुर्तेल २१ बलमा १३ रन बनाइ आउट भए । नेपालले ७ ओभरमा बिना क्षति ३४ रन बनाएपछि आठौं ओभरमा कुशल अनावश्यक रिभर्स स्वीप हान्न खोज्दा बल प्याडमा लागेर ताब्राइज साम्सीको बलमा बोल्ड भए । भुर्तेलले समान १ चौका र छक्का प्रहार गरेका थिए ।

नियमित स्पिनर केशव महाराजको स्थानमा खेलिरहेका साम्सीले अर्को बलमा कप्तान रोहित पौडेललाई पनि बोल्ड गरे । पहिलो बलमै ड्राइभ गरेका साम्सीको टर्न बलमा बिट भएर बोल्ड भए ।

आसिफ र अनिल शाहले तेस्रो विकेटमा ६ ओभरमा ५० रनको साझेदारी गरि नेपाललाई खेलमा फर्काएका थिए । अनिलले २४ बल खेली ३ चौका र १ छक्का प्रहार गरी २७ रन बनाए । साम्सीको बलमा एक्स्ट्रा कभर माथि छक्का प्रहार गरेका उनी पहिलो परिवर्तनको रुपमा कप्तान एडेन माक्रामको बलमा आकाशे क्याच दिन पुगेका थिए ।


साम्सीले आफ्नो चौथो ओभरमा दीपेन्द्रसिंह ऐरी र आसिफलाई आउट गरी दक्षिण अफ्रिकालाई खेलमा फर्काए । साम्सीले लेग साइडमा गएको बलमा दीपेन्द्रलाई विकेटको पछाडि क्याच गराए । त्यही ओभरमा उनले आसिफलाई बोल्ड गरे । शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए ।

यसअघि नेपालले सेन्ट भिन्सेन्ट स्थित आर्नोस भेल मैदानमा टस जितेपछि ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ११५–७ को स्कोरमात्र बनाउन सकेको थियो । भुर्तेल र दीपेन्द्रसिंह ऐरीको चम्किलो प्रदर्शन गरेपछि नेपालले उत्कृष्ट बलिङ गरेको थियो ।

पावर प्लेको पहिलो ६ ओभरमा दक्षिण अफ्रिकालाई ३८–१ को अवस्थामा रोकेको नेपालले त्यसपछि झनै किफायती बलिङ गरेको थियो । २–३ क्याचको मौका र २–३ मिस फिल्ड भए पनि स्पिनर आक्रामण लगाएपछि दक्षिण अफ्रिकी ब्याटर खुलेर खेल्न सकेका थिएनन् । दक्षिण अफ्रिकाले १० ओभरमा १ विकेट गुमाइ ५७ रनमात्र बनाउन सकेको थियो ।

रिजा हेन्ड्रिक्सले दक्षिण अफ्रिकाबाट सर्वाधिक ४३ रन बनाए । ४९ बल खेली ५ चौका र १ छक्का प्रहार गरेका उनलाई १६ औं ओभरमा भुर्तेलले कट एन्ड बोल्ड गरे । हेन्ड्रिक्स ३२ बलमा ३० रन बनाएको समयमा अविनाश बोहराको बलमा भुर्तेलले लङ अफमा सजिलो क्याच छाडेका थिए । त्यसको अर्को ओभरबाटै भुर्तेलले विकेट लिन सुरु गरेका थिए ।


नेपालले चौथो ओभरमा पहिलो सफलता पाएको थियो । आउट फर्म रहेका क्विन्टन डी ककलाई दीपेन्द्रसिंह ऐरीले कट एन्ड बोल्ड गरेका थिए । डी ककले ११ बल खेली १ चौका प्रहार गरि १० रनमात्र बनाउन सके । कप्तान एडेन माक्रमले पनि २२ बलमा २ चौका प्रहार गरी १५ रनमात्र बनाउन सके । उनलाई कुशल भुर्तेलले बोल्ड गरे ।

हेनरिक क्लासेनलाई आउट गरी भुर्तेलले अर्को ठूलो विकेट लिए । क्लासेनले गरेको प्रहार डिपमा करण केसीले तेस्रो प्रयासमा क्याच लिएका थिए । डेबिड मिलर १ रनमा मात्र भएको समयमा भुर्तेलले गरेको बलमा डेविड मिलर बिट भएका थिए । बलले उनको प्याडमा लागेपछि नेपालले रिभ्यु लिएको थियो । तर लाइनमै पिच भएपनि बल अफ स्टम्प माथि गएको कारण उनी आउट हुनबाट जोगिएका थिए ।

तर मिलर धेरै बेर टिक्न सकेनन् । उनलाई दीपेन्द्रले ७ रनमा आउट गरे । ट्रिस्टन स्टब्स १८ बलमा २ चौका र १ छक्का प्रहार गरि २७ रनमा अविजित रहे । दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभर पनि बलिङ गरेका भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । ट्वान्टी-२० मा भुर्तेलको यो उत्कृष्ट बलिङ पनि हो । उनले आफ्नो पहिलो ३ ओभरमा १० रनमात्र दिएका थिए ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग डालासमा ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्ध फ्लोरिडामा भएको खेल वर्षाले रद्द पारेको थियो । दक्षिण अफ्रिका पहिलो ३ खेल जितेर सुपर ‘एट’ मा पुगिसकेको छ । त्यसका बावजुद दक्षिण अफ्रिकाले नेपालविरुद्ध पूर्ण टोली उतारेको थियो ।


प्रकाशित : असार १, २०८१ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x