स्ववियु चुनाव

डोटीमा झडप, बाजुरामा कर्फ्यु

अर्जुन शाह, मोहन शाही, मनोज बडू

धनगढी, डोटी, दार्चुला — जिल्ला प्रशासन कार्यालय बाजुराले कोल्टीमा निषेधाज्ञा जारी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका क्रममा विद्यार्थी संगठनबीच झडप हुँदा कोल्टी बजार क्षेत्र तनावग्रस्त भएपछि सोमबार बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले स्थिति नियन्त्रणबाहिर जाने अवस्था भएपछि बूढीनन्दा नगरपालिकाको वडा नम्बर १ र २ मा निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको बताए ।

‘ढुंगामुढा प्रहारपछि मोटरसाइकलमा आगजनी भएपछि अवस्था असामान्य भएको हो,’ प्रजिअ खड्काले भने । अहिले कोल्टीमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन् । कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा चुनावी प्रतिस्पर्धामा रहेका विद्यार्थीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २७ राउन्ड हवाई फायरसहित अश्रुग्यास प्रहार गरेको थियो । एकातिर एमालेनिकट अनेरास्ववियुको प्यानल र अर्कोतिर कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको संयुक्त प्यालन प्रतिस्पर्धामा उत्रेका थिए । ४ सय १२ मतदाता रहेको उक्त क्याम्पसमा मतदानका क्रममा दुवै पक्षबीच विवाद भएर झडपको अवस्था भएपछि मतदान स्थगित भएको छ ।

डोटी बहुमुखी क्याम्पसमा आइतबार विद्यार्थी संगठनबीच विवाद भएपछि निर्वाचन स्थगित भएको छ । नेकपा विप्लवनिकट अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थीले क्याम्पसमा तोडफोड र मतपेटिकामा आक्रमण गरेपछि स्थगित भएको हो । निर्वाचन समितिले ७५ प्रतिशत मतदान सम्पन्न भइसकेपछि निर्वाचन स्थगित गर्नुपरेको जनाएको छ । क्याम्पसमा ८ सय ९ मतदाता छन् । स्ववियु निर्वाचनका लागि ३ प्यानलले उम्मेदवारी दिएका छन् । जसमा नेविसंघ एकल प्यानल थियो भने एमाले र माओवादी निकट विद्यार्थी संगठनको एउटा र नेकपा विप्लव र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठनको अर्को संयुक्त प्यानल थियो । निर्वाचन स्थगित गरेपछि नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको छ । संघले सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको अवस्थामा मतदान केन्द्र प्रवेश गरेर तोडफोड गर्नेलाई कारबाही गरी मतदान पुनः सुचारु गर्नुपर्ने माग राखेको छ ।

दार्चुलाको महाकाली नगरपालिकास्थित राष्ट्रिय क्याम्पस दत्तुको स्ववियु सभापतिमा नेविसंघका सरोज ग्वाइला विजयी भएका छन् । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानललाई पराजित गर्दै संघको प्यानलले जितेको हो । अनेरास्ववियुका संयुक्त उम्मेदवार मनीषा धामीलाई ८ मतले पछि पार्दै नेविसंघको ग्वाइला प्यानल चयन भएको हो । एमाले र माओवादी निकट विद्यार्थीका संयुक्त उम्मेदवार धामीले खसेका ७१ मध्ये ३० मत प्राप्त गरेको थियो नेविसंघका ग्वाइलाले ३८ मत प्राप्त गरेका थिए । ८१ मतदाता रहेको दत्तु क्याम्पसमा ३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी कृष्ण स्नातक क्याम्पस लालीमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका संयुक्त उम्मेदवार हेमन्ती जोशी स्ववियु सभापतिमा विजयी भएकी छन् । उनले नेविसंघका विनोद टमटालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएकी हुन् । स्ववियु निर्वाचन समितिका अनुसार कुल खसेको ६९ मतमध्ये ३६ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेविसंघका विनोद टमटाले ३२ मत प्राप्त गरेका थिए । लाली क्याम्पसको सचिवमा गठबन्धनका जानकी जोशी र कोषाध्यक्षमा ओमकार पाल विजयी भएका छन् । सदस्यमा विप्लव निकटका भुवन जोशी र नेविसंघका गीता चन्द निर्वाचित भएका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

साफ च्याम्पियनसिप बेंगलुरुमा हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण एसियाली फुटबलको सबभन्दा प्रतिष्ठित प्रतियोगिता ‘साफ च्याम्पियनसिप’ को १३ औं संस्करण बेंगलुरुमा आउने जुन २१ देखि जुलाई ३ सम्म सञ्चालन गर्ने आयोजक अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले आइतबार जनाएको छ ।

च्याम्पियनसिपमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का सातै देशका राष्ट्रिय टिम सहभागी हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा परेको श्रीलंकाले भने उक्त प्रतिबन्ध फुकुवा भएमा मात्रै साफमा सहभागी हुन पाउनेछ । सन् २०२१ मा माल्दिभ्समा भएको १२ औं संस्करणमा नेपाली टिम उपविजेता भएको थियो । त्यो नै साफमा नेपालको सबभन्दा ठूलो उपलब्धि हो । माल्दिभ्समा भएको फाइनलमा नेपाललाई ३–० ले हराएर भारत च्याम्पियन भएको थियो ।

प्रकाशित : चैत्र ६, २०७९ ०७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×