कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

अब शुक्लाफाँटामै हात्ती प्रजनन्

भवानी भट्ट

कञ्चनपुर — १० वटा हात्तीको दरबन्दी रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अहिले २ छावासहित ८ वटा मात्रै छन् । लामो समयदेखि दबरन्दी अनुसार हात्ती उपलब्ध हुन सकेको छैन । निकुञ्ज कार्यालयले यो अभावलाई कम गर्न यहाँ भएका प्रजनन् उमेरका हात्तीलाई जंगली हात्तीबाट प्रजनन् गराउने प्रयास अघि बढाएको छ ।

अब शुक्लाफाँटामै हात्ती प्रजनन्

शुक्लाफाँटामा यो अभ्यास पहिलो पटक गरिन लागेको हो । अहिले निकुञ्जको लालपानी क्षेत्रमा हात्ती राख्ने घरदेखि पोष्ट निर्माण भइरहेको छ । यसका साथै घर पालुवा पोथी हात्तीलाई जंगली भाले हात्तीले भेट्न सक्ने गरी सुरक्षित खालको मेस वायरसहितको घर पनि निर्माण भइरहेको छ । भौतिक संरचना निर्माण भएपछि उक्त स्थानमा पोथी हात्तीलाई राखेर प्रजनन् गराउने काम सुरु हुने निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराइले बताए ।

अहिले निकुञ्जमा ४ भाले र ४ पोथी हात्ती छन् । पोथीमा एक छावा छ भने दुई बृद्ध छन् । हालै चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको नारायणकली मात्रै यहाँ प्रजनन् उमेरको हो । चितवनबाट थप दुई हात्ती माग गरिएको छ । दुई वटै पोथी आएमा लालपानीमै राखिनेछ । ‘नियमित रुपमा यहीँ प्रजनन् गराउन सके दरबन्दी आपुर्तिका लागि चितवनबाटै ल्याउनु पर्ने बाध्यता हट्छ,’ वरिष्ठ संरक्षण अधिकृत भट्टराईले भने, ‘शुक्लाफाँटामा पहिलो पटक जंगली हात्ती प्रयोग गरेर प्रजनन् गराउने प्रयास भइरहेको हो ।’ उनले वैसाख/जेठसम्म संरचना निर्माणको काम सकेर पोथी हात्ती राखेर प्रजनन्को प्रयास सुरु गरिने बताए ।

उसो त निकुञ्जको पिपरियास्थित हात्तीसारमा जंगली भाले हात्तीकै गर्भधारण गरेर रुपकलीले १५ वर्षअघि नारायणप्रसाद (भाले) लाई जन्माएको थियो । त्यसअघि पनि तीन पटक रुपकलीले छावा जन्माएको हो । तर ती छावा बाचेनन् । त्यतिबेला हात्तीसारमा पोथी हात्ती मात्रै थिए । त्यही भएर छुट्टै सेड (घर) बनाउनु परेन । पोथीलाई छुट्टै राख्नु पनि परेन । भाले हात्ती आफै आउने र जाने गर्थ्यो ।

‘सात/आठ वर्षअघिसम्म पनि एउटा कान चिरेको भाले हात्ती आउथ्यो,’ हात्तीसारका दरौगा शिवदत्त चौधरीले भने, ‘तर हात्तीसारभित्रै भएकाले पोथीको गन्ध थाहा पाउन सकेन कि जस्तो लाग्छ ।’ कान चिरिएको भएका कारण उक्त हात्तीको नाम नै कन चिरवा राखिएको चौधरी बताउँछन् । उनका अनुसार त्यतिबेला हात्तीसार नजिकै सेड बनाएर पोथी राख्न सकेको भए प्रजनन् गराउन सकिन्थ्यो ।

अब रुपकलीको प्रजनन् उमेर ढल्किसकेको छ । हात्तीसारमै रहेको अर्को सुर्तीकतीमा बाँझोपनको समस्या छ । यसकारण अहिले निकुञ्जमा प्रजनन् क्षमताको नारायणकली मात्रै हो । निकुञ्जले लालपानी क्षेत्रमा पोष्ट नै स्थापना गरिरहेको छ । उक्त क्षेत्रमा यसअघि पनि पोष्ट थियो । तर जंगली हात्तीले भत्काएपछि विस्थापित भएको थियो । अहिले भत्केका संरचना मर्मतसँगै हात्ती राख्न आवश्यक घरदेखि मेसवायर निर्माणको काम भइरहेको छ ।

हात्तीको प्रजनन् उमेर १२ देखि १८ वर्षमा सुरु भई ५० देखि ६० वर्षसम्म हुन्छ । हात्तीले भाले खोज्न लाग्ने समय १३ देखि १७ हप्तासम्म हुन्छ । यसलाई ऋतुचक्र पनि भनिन्छ । समयमा ४/५ दिनको अवधिसम्म भाले खोज्छ । यो समयलाई ऋतुकाल भनिन्छ । हात्तीको गर्भभारण अवधि २० देखि २२ महिनाको हुन्छ । शुक्लाफाँटामा भाले हात्ती पनि छन् । तर भाले हात्तीबाट प्रजनन् गराउने अभ्यास गरिएको छ ।

चितवनको खोरसोरस्थित हात्ती प्रजनन् केन्द्रमा पनि जंगली भालेकै प्रयोग भइरहेको हात्तीसारका पशु चिकित्सक डा. आभाष श्रेष्ठले बताए ।

प्रकाशित : फाल्गुन १४, २०८० १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×