कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

डडेलधुराका विद्यार्थीलाई अल्लोका झोला वितरण 

वसन्तप्रताप सिंह

बझाङ — बझाङको थलारा गाउँपालिकामा तयार गरिएका अल्लोका झोला डडेल्धुराका विद्यार्थीलाई वितरण गरिएको छ । डडेलधुराको भागेश्वर गाउँपालिका ४ मा रहेको गंगापुर प्राथमिक विद्यालयमा बालबालिकाहरूलाई नि:शुल्क अल्लोको झोला वितरण गरिएको हो ।

डडेलधुराका विद्यार्थीलाई अल्लोका झोला वितरण 

काठमाडौं घर भई हाल बेलायतमा अध्ययनरत सपना गिरी र सामाजिक संस्थामा कार्यरत भागेश्वरकै स्थानीय टेक सिंह भाटले व्यक्तिगत लगानीमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् । २५ जना विद्यार्थीलाई अल्लोको झोला वितरण गरिएको र यसले बालबालिकाहरूलाई विद्यालय सामग्री बोक्न सहज हुने विद्यालयले जनाएको छ ।

स्थानीयस्तरमा सञ्चालित उद्यमीहरूलाई हौसला दिन साथै बालबालिकालाई विद्यालय जाने प्रेरणा मिलोस् भन्ने उद्देश्यले आफूहरुले व्यक्तिगत लगानीमा झोला वितरण गरेको टेकसिंह भाटले बताए । ‘स्थानीय उत्पादनको प्रचार प्रसार प्रवर्द्धन पनि होस् । विद्यालय जाने बालबालिकाहरुलाई पनि सहयोग होस् भन्ने उद्देश्यले झोला विरतण गरेका हौं,' उनले भने, ‘अल्लोको गुणस्तरीय झोला पाएपछि विद्यार्थीहरु पनि खुशी भएका छन् ।'

झोला बझाङको थलाराको मालिका भवानी अल्लो प्रशोधन समूहमा आबद्ध महिलाहरूले उत्पादन गरेका हुन् । जंगलमा खेर गैरहेको अल्लो प्रशोधन गरेर यहाँका महिलाहरुले झोला र कपडा उत्पादन गर्दै आइरहेका छन् । रोजगारीको लागि भारतको भर पर्ने पर्ने बगाडा गाउँका महिलाले तयार गरेको झोला अहिले जिल्लाभित्र र बाहिर खपत हुन थालेको छ ।

स्थानीयस्तरमा तयार गरेको झोला बलियो र गुणस्तरीय हुनुको साथै महिलाहरुको आयआर्जन बढाउने माध्यमसमेत बनेको छ ।


प्रकाशित : फाल्गुन १५, २०८० १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×