कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नयाँ योजनासाथ ०८४ को चुनाव लड्छौं : विश्वकर्मा

तुलाराम पाण्डे

कालिकोट — नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माले आफ्नो पार्टीले नयाँ विचार, कार्यक्रम र योजनासाथ ०८४ को चुनाव लड्ने बताएका छन् । पार्टीले देशव्यापी रूपमा सञ्चालन गरेको उत्पादन अभियानअन्तर्गत बाँके, सुर्खेत, दैलेख हुँदै शुक्रबार कालीकोट पुगेका उनले नेपाली जनतामा रहेको राजनीतिप्रतिको निराशा र केही हुँदैन भन्ने मानसिकता बदल्न आफ्नो पार्टीले नयाँ योजनासहित आगामी चुनाव उपयोग गर्ने बताएका हुन् ।

नयाँ योजनासाथ ०८४ को चुनाव लड्छौं : विश्वकर्मा

०७९ को चुनावमा केही स्थानीय तहमा स्वतन्त्रको हैसियतमा उम्मेदवारी दिए पनि पार्टीभित्रकै विवादका कारण सफलता हासिल गर्न नसकेको स्वीकार्दै आगामी चुनाव देशभक्त, राष्ट्रवादी, युवाको प्रतिनिधित्व गर्दै आफ्नो दलले देशव्यापी चुनाव लड्ने उनले बताए । विश्वकर्मा कालिकोटका लोकप्रिय नेता हुन् । उनी ०६४ को संविधानसभा निर्वाचनमा ५१ प्रतिशत मत पाएर निर्वाचित भएका थिए ।

पार्टीद्वारा मान्ममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विश्वकर्माले नेपालमा कम्युनिस्ट जनमत ६६ प्रतिशत हाराहारी भए पनि सबैलाई समेट्न नसक्ने र आत्मकेन्द्रित हुने नेताहरूका कारण जनताले परिवर्तनको महसुस गर्न नसकेको दाबी गरे । ‘फुट र विभाजन कम्युनिस्टहरूको रोग नै छ,’ समाजवादी मोर्चाबारेको सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अब पनि मिल्न नसक्ने हो भने कसैको खैरियत छैन ।’ उनले एमालेसहित कम्युनिस्टहरूको समाजवादी मोर्चा बनाउनुपर्नेमा जोड दिंदै कांग्रेसभित्रका इमान्दार देशभक्तलाई पनि समाजवादी मोर्चामा सहकार्य गर्ने गरी योजना बनाउने सुनाए ।

कांग्रेस र एमालेले सत्ता साझेदारीका लागि गरेको ७ बुँदे समझदारी स्वाभाविक भएको पनि उनले बताए । ‘संविधानमा नमिलेका कुरा मिलाउने भए ठिक छ, अन्यथा जनताका अधिकार कटौती गर्ने प्रयास भए आफ्नो दलले खबरदारी गर्नेछ,’ उनले भने । हाल अवलम्बन भइरहेको समानुपातिक प्रणाली नेताहरूले दुरुपयोग गरेको पनि उनले बताए ।

विप्लव समूहले समाजमा चन्दा आतंक मच्चाएको सञ्चारकर्मीको गुनासोमा ‘जनतामा आश्रित पार्टी भएकाले सहयोग लिए पनि जबरजस्ती कसैलाई नगरेको’ उनको दाबी थियो । जनताबाट केही नलिन देशभरि बाँझो रहेको जमिनमा सामूहिक खेती गरेर उत्पादनमा जोड दिएको पनि उनले बताए । ‘यस वर्ष मात्रै देशभरि ३ सय बिघा जमिनमा धान र मकै खेती गरेका छौं,’ उनले भने, ‘उत्पादनसँग जनता र पार्टीलाई जोड्ने नयाँ विचारसहित अहिले देशव्यापी अभियानमा सरिक भइरहेका छौं ।’ गत वर्ष पार्टीले उत्पादन गरेको १ सय बोरा चामल जाजरकोटका भूकम्पपीडितलाई सहयोग गरेको पनि उनले बताए ।

प्रकाशित : श्रावण ११, २०८१ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×