कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

आगोमा निस्सासिएकी दिदीबहिनीको उपचारका क्रममा मृत्यु 

डीबी बुढा

जुम्ला — जुम्लाको पातारासी गाउँपालिकामा धुवाँले निस्सासिएकी दिदीबहिनीको उपचारका क्रममा मृत्यु भएको छ । ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया रोकायाको मृत्यु भएको हो । उनीहरू चन्दन्दननाथ नगरपालिकाको कालेखोलीमा बस्दै आएका थिए ।

सुत्केरी भएको ११ दिन पुगेकी मायालक्ष्मीको अस्पतालमा उपचारको क्रममा सोमबार नै मृत्यु भएको थियो । उनकी बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

धुवाँले निस्सासिएर बिरामी परेका दिदीबहिनीको उपचारका क्रममा मृत्यु भएको छ । सुत्केरी सेक्न बालेको आगोको कोइलाको धुवाँमा उनीहरू निस्सासिएका हुन् । निस्सासिएर ११ दिनको बच्चा समेत बिरामी छन् । बच्चाको उपचार अस्पतालको आइसीयुमा भइरहेको डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।

तीनै जनालाई सोमबार बिहान सवा सात बजे उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको थियो । 'उनीहरू दुई तले घरमा बस्दा रहेछन् । सुत्केरी भएकाले तेलमा मेथी तताउन आगो बालेको पाइएको छ,’ उनले भने,‘त्यही आगोमा सुत्केरी, उनकी बहिनी र बच्चा निस्सासिएका हुन् । ’

प्रहरी घटनास्थल पुग्दा सुत्केरीलाई तताउन आगो बालेको र घटनास्थलमा धुवाँको प्रभाव बाँकी नै रहेको पाइएको डीएसपी कामतीको भनाइ छ । सोमबार बिहान अबेरसम्म नउठेपछि आफन्तले ढोका फोडेका थिए । उनीहरू निस्सासिएको अवस्थामा भेटिएका थिए ।

प्रकाशित : श्रावण ८, २०८१ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×